पर्यटक आगमनमा सुधार देखिएन

 
काठमाडौं । भूकम्पपछि खस्किएको पर्यटन आवागमनमा अझै पनि ठोस सुधार हुन नसकेको देखिएको छ । पछिल्लो समयको होटल अकुपेन्सीबाट व्यवसायीहरू निराश छन् । अहिले पर्यटक भित्रिने सिजन हो, तर होटल अकुपेन्सी ६० प्रतिशत पनि छैन । जबकि भूकम्पअगाडि यस सिजनमा ९० प्रतिशतसम्म अकुपेन्सी हुने गथ्र्यो । होटल एसोसियसन अफ नेपाल (हान) का अध्यक्ष अमरमान शाक्यले पर्यटकको आगमन गत वर्षको तुलनामा यो वर्ष खासै नबढेको बताए ।

शाक्य भन्छन्, ‘अब पर्यटक फर्कने बेला हुन लागिसक्यो, तर ५० प्रतिशत मात्रै अकुपेन्सी छ, यो सिजनमा पनि राम्रो हुन सकेन ।’ यही स्थितिले होटलहरू नाफामा जान नसक्ने उनको भनाइ छ । अहिले नयाँ होटलहरू खुल्ने क्रम भने जारी छ । कैयन होटलहरू निर्माणको चरणमा रहेका छन् । सन् २०१९ सम्ममा होटलका ४ हजार कोठा थपिँदैछन् । तर होटल व्यवसाय भने उकालो लाग्न सकेको छैन ।

आएका केही पर्यटकहरू पनि अहिले होमस्टे र विभिन्न अनलाइन कम्पनीमार्फत उपलब्ध हुने कोठाहरूमा बस्न थालेको शाक्य बताउँछन् । होमस्टेको अवधारणा राम्रो भएपनि होटल सञ्चालन भएकै एरियामा भने सञ्चालन गर्न नहुन उनको धारणा छ ।

शाक्य भन्छन्, ‘जनताको पैसा बैंकमा छ, बैंकको पैसा होटलमा छ, होटल नाफामा नगए जनताको पैसा डुब्ने स्थिति पैदा हुन सक्छ ।’
होटलहरू क्षमताअनुसार चल्न देशमा वार्षिक २० लाख पर्यटक आउनु पर्छ । तर सन् २०१६ मा ७ लाख मात्रै पर्यटक भित्रिएका थिए । यो वर्ष पनि खासै सुधार हुने लक्षण देखिएको छैन ।

नेपाल पर्यटन बोर्डले पर्यटकीय गन्तव्यबारे प्रचारप्रसार गर्न नसक्नु तथा नेपाल एअरलाइन्सले विमान संख्या बढाउन नसक्नुले पनि पर्यटन प्रर्वधनमा असर गरेको शाक्य बताउँछन् । अन्तर्राष्ट्रिय विमानस्थलको पनि क्षमतामा बृद्धि गर्न नसकिएको उनको गुनासो छ ।
शाक्य भन्छन्, ‘नेपाल पर्यटन बोर्ड निदाएको छ, सडक निर्माणको अवस्था यस्तो छ, अनि कहाँ सुधार हुन्छ पर्यटन क्षेत्र ?’ पर्यटन क्षेत्र सुधारका लागि तत्कालै राष्ट्रिय ध्वजावाहक विमानदेखि विमानस्थलसमेत थप्नु पर्ने उनको भनाइ छ ।नेपाल पर्यटन बोर्डका सिइओ दीपक जोशी होटलको संख्या बढेअनुसार पर्यटक नबढेका कारण होटल अकुपेन्सी बढ्न नसकेको बताउँछन् । उनकाअनुसार गत वर्षको तुलनामा काठमाडौं र पोखरामा मात्रै पनि २ हजार कोठा थप भएका छन् ।
‘होटल संख्या बढ्नुका साथै अन्य होमस्टे तथा इन्टरनेटमार्फत बुक गर्न सकिने निजी घरहरूको समेत संख्या बढेकाले होटलको अकुपेन्सी कम भएको हो’, उनले भने । तर पर्यटकको संख्या भने गत वर्षको तुलनामा केही बृद्धि भएको उनको दाबी छ । जोशी भन्छन्, ‘गत वर्षको तुलनामा ट्रेकिङमा जानेको संख्या बढेको पाएका छौं, कतिपय रुटमा त भूकम्पअघिको अवस्थामा भन्दा राम्रो देखिएको छ । तर होटलको संख्या बढेअनुसार पर्यटक नआएको भने पक्कै हो ।

प्रतिक्रिया