दुर्गमका मतदान केन्द्रमा टेलिफोन समस्या

जाजरकोट । जिल्लाका यहाँका अधिकांश मतदान केन्द्रमा टेलिफोनको पहुँच नहुँदा समस्या भएको छ । जिल्लाका तीन नगरपालिका र चार गाउँपालिकामा प्रभावकारी सञ्चार सेवा नहुँदा समस्या भएको हो । मतदान केन्द्र अति दुर्गममा भएकाले सजिलै सञ्चार सेवा उपलब्ध हुन नसकेको हो । ७७ मतदानस्थलमध्ये ४० भन्दा बढी स्थलमा प्रभावकारी सञ्चार सेवा नभएको गुनासो स्थानीयवासीले गरेका छन् । नेपाल टेलिकमका टावरले अग्लो ठाउँमा मात्र काम गर्ने तर गहिरो, खोँच, कोल्टे परेको ठाउँमा काम नगर्दा समस्या भएको निर्वाचनमा खटिएका कर्मचारीले बताएका छन् । सुरक्षा तथा छिटोछरितो खबर आदानप्रदान गर्नका लागि टेलिफोन सेवा अनिवार्य भएपनि यहाँका दूरदराजका मतदानस्थल तथा गाउँपालिकामा फोन नहुँदा समस्या भएको माओवादी केन्द्र वारेकोट गाउँपालिका प्रमुखका उम्मेदवार तिलक रावलले बताए ।
फोन नहुँदा कार्यकर्ता, जनतासम्म प्रभावकारीरूपमा कुरा हुन नपाएको उनले बताए । यता नेपाल टेलिकमले प्रविधिकलाई टावरको क्षमता वृद्धिका लागि गाउँगाउँमा खटाउने तयारी भएको बताएको छ ।
अधिकांश ठाउँमा नयाँ टावर निर्माण गर्नुपर्ने भएकाले अलि समय लाग्ने टेलिकमको भनाइ छ । जिल्ला सदरमुकामभित्र नै टेलिफोनको राम्रो पहुँच नभएको स्थानीवासीयको गुनासो छ । गाउँगाउँमा विद्युत् नभएका कारण सोलारको माध्यमबाट टावर सञ्चालन गर्दा समस्या भएको टेलिकमको भनाइ छ । गाउँगाउँमा खटिएका कर्मचारीले टेलिफोन सम्पर्क गर्न समस्या भएको भन्दै गुनासो गर्ने गरेका छन् ।

प्रतिक्रिया