निर्वाचनमा तीन घेराको सुरक्षा

काठमाडौं । प्रदेश नम्बर ३, ४ र ६ मा हुने पहिलो चरणको निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको गृह मन्त्रालयले जनाएको छ । ३४ जिल्लामा हुने पहिलो निर्वाचनका लागि तीन घेरामा गरेको सुरक्षा तयारीका लागि ८० हजारको हाराहारीमा सुरक्षाकर्मीहरू निर्वाचन क्षेत्रमा खटाइएको गृह मन्त्रालयको भनाइ छ ।
पहिलो चरणमा हुने निर्वाचनमा करिब ५० लाख मतदाताले मतदान गर्दैछन् । यसरी हेर्दा एकजना सुरक्षाकर्मीले ६२ जना मतदाताको सुरक्षा गर्नुपर्ने देखिएको छ । खटाइएका अधिकांश सुरक्षाकर्मी तोकिएका स्थानमा पुगिसकेका छन् भने केही जाने क्रममा छन् ।
२५ वैशाखभित्र खटाइएका सवै सुरक्षाकर्मी आ–आफ्नो कार्यक्षेत्रमा पुगिसक्नेछन् । निर्वाचन हुने क्षेत्रलाई सरकारले तीन भागमा वर्गीकरण गरी त्यसैअनुसार सुरक्षाको प्रबन्ध मिलाएको दाबी गरेको छ ।
ं अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरिएको छ । गृहमन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीका अनुसार अति संवेदनशील मतदान केन्द्रहरुमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा प्रदान गर्नेछन् । संवेदनशील स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा प्रदान गर्नेछन् भने सामान्यमा म्यादी र नेपाल प्रहरीले सुरक्षा दिनेछन् ।
तीन सुरक्षा निकायमध्ये नेपाल प्रहरी मतदान केन्द्रभित्र रहने र उसले मतपत्र तथा मतपेटिकाको सुरक्षा गर्नेछ । त्यसको अलवा मतदान केन्द्रमा प्रवेश गरेका मतदाताको सुरक्षा पनि नेपाल प्रहरीकै जिम्मामा हुनेछ । नेपाल प्रहरीभन्दा बाहिर अर्थात् मतदान केन्द्रको सुरक्षा सशस्त्र प्रहरीले गर्नेछ । त्यस्तै मतदान केन्द्र रहने इलाकाको भने नेपाली सेनाले सुरक्षा दिनेछ । स्थानीय तह चुनावका लागि उम्मेदवार मनोनयन सकिएसँगै चुनाव हुने सवै जिल्लाको सुरक्षा व्यवस्था थप कडा पार्नुका साथै उम्मेदवारलाई समेत सुरक्षा प्रदान गर्न थालिएको छ ।
गृहमन्त्रालयले उपत्यकाका तीन जिल्लामा मात्रै ६ हजार नौ सय ८० प्रहरी र चार हजार दुई सय ६८ म्यादी प्रहरी खटाएको जनाएको छ । पहिलो चराणमा हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली सेना भने कति खटाइएको छ भन्ने सरकारका कुनै पनि निकायले खुलाएका छैनन् ।
निर्वाचन चहलपहल बढेसँगै उपत्यकामा सुरक्षाजाँच बढाइने भएको छ । नियमित जाँच अलावा आकस्मिक जाँच र उपत्यका भित्रिने नाकामा थप कडाइ गरिएको डिआइजी भण्डारीले बताए । परिसरले उपत्यकाको चुनावी सुरक्षाका निम्ति तीन चरणका कार्ययोजना तयार पारेको थियो । पहिलो चरणमा चुनावअघिको सुरक्षा, दोस्रो तहमा मतदानको दिनको सुरक्षा व्यवस्था र तेस्रो चरणमा मतगणनाको सुरक्षाव्यवस्था तय गरिएको छ । चुनावी सुरक्षाका लागि सादा पोसाकका प्रहरीको संख्या उल्लेख्य बढाइएको छ । डिआइजी भण्डारीले होटल तथा लजहरूमा पनि निगरानी र आकस्मिक जाँच बढाइएको बताए ।
सुरक्षाका लागि नेपाल प्रहरी–२२ हजार ६ सय ९९, सशस्त्र प्रहरी–३० हजार र म्यादी प्रहरी–२२ हजार ६ सय ९९ अहोरात्र खटिनेछन् । यसका अतिरिक्त नेपाल प्रहरीले चार हजार आठ सय ८७ रिर्जभ सुरक्षाकर्मी राखेको बताइएको छ । सशस्त्र प्रहरी प्रवक्ता दिवाकर केसीका अनुसार पहिलो चरणको चुनाव हुने ३४ जिल्लामा ३० हजार सशस्त्र प्रहरी खटाइसकिएको छ । यसका अलवा राष्ट्रिय अनुसन्धान र नेपाली सेना पनि निर्वाचनको सुरक्षामा खटिनेछन् ।

प्रतिक्रिया