अर्थबजार

निर्वाचनको उत्साह सेयर बजारमा

सौर्य अनलाइन २०७४ वैशाख २० गते १३:२८ मा प्रकाशित

काठमाडौं । स्थानीय तहको निर्वाचनलाई धितोपत्र बजारले ‘हरियो झन्डा’ देखाएर स्वागत गरेको छ । निर्वाचन आयोगले उम्मेदवारी मनोनयनका लागि तोकेको दिन मंगलबार धितोपत्र बजारमा करिब ९३ करोडको कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार कुल एक सय ४३ कंका १५ लाख ४८ हजार कित्ता सेयर ९२ करोड ९० लाखमा खरिद बिक्री भएका छन् । पहिलो चरणको स्थानीय तहको निर्वाचनको मनोनयन दर्ता सुरु भएसँगै बजार उकालो लागेको हो । स्टकको सेयर कारोबार मापक सूचक ७.५५ अङ्कले बढेर १६५८.३३ अङ्कमा पुगेको छ । नेप्से परिसूचक सूचक बढेसँगै कारोबार रकम पनि आइतबारको तुलनामा बढेको छ ।
कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्सको चार करोड २९ लाखबराबरको सेयर किनबेच भएको छ । यस्तै नेपाल एसबिआइ बैंक लिको कारोबार रकमका आधारमा दोस्रो भएको छ । सो बैंकको तीन करोड ४६
लाखबराबरको सेयर खरिद बिक्री भएको छ । समग्र समूहमध्ये चार समूहको सेयर कारोबार वृद्धि भएको तथा चार समूहको सेयर मूल्य घटेको स्टकले जनाएको छ । त्यसमा बैंकिङ ६.८८, विकास बैंक १६.४३, जलविद्युत् ३.१६ र बिमा ७९.०२ अङ्कले बढेको छ । त्यस्तै होटल २८.८८, फाइनान्स २.१७, उत्पादन समूह ५.४६ र अन्य २.३२ अङ्कले घटेको छ ।

प्रतिक्रिया