राजनीतिक घटनाक्रम यस्तै भयो ः प्रधानमन्त्री

prachanda-copy
काठमाडौं । संविधान संशोधन प्रस्तावको कार्यसूची दर्ता नहुँदै आइतबार व्यवस्थापिका संसद् बैठक २१ वैशाख सम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद् बैठक स्थगित हुनुलाई राजनीतिक घटनाक्रमको संज्ञा दिएका छन् । संसद् बैठकबाट बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले भने, ‘अहिलेको राजनीतिक घटनाक्रम जसरी विकास भएको छ, त्यसलाई मध्यनजर गर्दा पहिलो चरणको निर्वाचन सम्पन्न गर्नुपर्ने कुरालाई प्राथमिकता दिनुपर्ने परिस्थिति बनेको छ ।’
निर्वाचनको तयारीकै लागि संसद् बैठक २१ गतेसम्म स्थगित गर्नुपरेको प्रधानमन्त्रीले प्रष्ट पारेका छन् । ‘अहिले पर्सी (वैशाख १९) नोमिनेसनको दिन छ, त्यो हामी सबैलाई थाहा छ’, प्रधानमन्त्री दाहालले भने, ‘१९ गते नोमिनेसन सकेर त्यसलाई एउटा उत्सवको रूपमा अगाडि बढाउँदै ३१ गतेको निर्वाचनको तयारी गर्नेछौँ, मनोनयन प्रक्रिया सकेर चुनावको तयारी पूरा भएपछि २१ गते संविधान संशोधन प्रस्तावको विषयमा छलफल हुनेछ ।’संसद् बैठकमा सबै माननीय सदस्य उपस्थित हुने वातावरण सहज बनोस् भन्ने उद्देश्यका साथ २१ गतेसम्म संसद् बैठक स्थगित गर्नुपरेको समेत प्रधानमन्त्रीले प्रष्ट पारे ।
प्रधानमन्त्री दाहालले ३१ वैशाखमा निर्वाचन हुने विषयमा कन्फ्युजन नरहनसमेत आग्रह गरेका छन् । ‘३१ वैशाखमा निर्वाचन हुन्छ । त्यसमा कुनै खालको कन्फ्युजन छैन ।’प्रधानमन्त्री दाहालले ३१ वैशाखमा हुने पहिलो चरणको निर्वाचनमा मधेसी मोर्चा सहभागी हुने दाबी गरेका छन् । ‘मधेसी मोर्चासमेत निर्वाचनमा सहभागी हुने स्थिति बनेको छ’, प्रधानमन्त्री दाहालले भने ।

प्रतिक्रिया