‘नीति कार्यक्रम, बजेट आचारसंहिता विपरीत’

nirbachan
काठमाडौं । निर्वाचन आयोगले दुई चरणमा हुने स्थानीय तह निर्वाचनको बीचमा सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट प्रस्तुत गर्ने कार्य निर्वाचन आचारसंहिताविपरीत हुने ठहर गरेको छ ।सरकारले निर्वाचनकै बीचमा बजेट ल्याउने तयारी गरिरहेको बेला निर्वाचन आयोगले यस्तो ठहर गरेको हो । यसअघि प्रमुख प्रतिपक्षी दल एमालेलगायत दलले निर्वाचनको बीचमा बजेट ल्याइने चुनावमा प्रभाव पर्न सक्ने भन्दै विरोध गर्दै आएको थियो ।
सरकारले ३१ वैशाख र जेठ ३१ मा दुई चरणमा चुनाव गर्ने घोषणा गरेको सन्दर्भमा पहिलो मितिको चुनाव सकिएलगत्तै बजेट ल्याउने गरी तयारी गर्दै आएको थियो भने संविधानअनुसार पनि जेठ १५ भित्र बजेट आइसक्नु पर्दथ्यो । आयोगले आचारसंहिता लाग्ने ठहर गरेसँगै अब सरकार बजेट ल्याउने तयारीबाट पछि हट्नुपर्ने भएको छ ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा शनिबार बसेको बैठकले सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेटको विषयमा यस्तो निर्णय गरेको हो ।आयोगको निर्णयमा भनिएको छ, ‘एक महिनाको अन्तरालमा हुने दुई चरणको निर्वाचनका बीच सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट प्रस्तुत गर्ने कार्य निर्वाचन आचारसंहिताअनुकूल नहुने भएकाले सरकारले प्रस्तुत गर्ने वार्षिक नीति तथा कार्यक्रम र बजेटले दोस्रो चरणको निर्वाचनलाई प्रभाव पार्न सक्ने देखिएको हुँदा सोसम्बन्धमा नेपाल सरकारको ध्यानाकर्षण गर्ने ।’
आयोगले दुई चरणको निर्वाचनका मिति घोषणा भइसकेपछि निर्वाचनका कार्यक्रमहरूसमेत सार्वजनिक गरिसकेको छ । आयोगका प्रवक्ता सहसचिव सूर्यप्रसाद शर्माले गत १८ फागुनदेखि नै निर्वाचन आचारसंहिता लागू भएको र सो आचारसंहिता दोस्रो चरणको निर्वाचनसम्म लागू हुने भएकाले दुबै निर्वाचनको बीचमा सरकारको नीति तथा कार्यक्रम र बजेट आउँदा निर्वाचन आचारसंहिताप्रतिकूल हुने आयोगले ठहर गरेको बताए ।

प्रतिक्रिया