देउवा र ओलीबीच भनाभन

काठमाडौं । नयाँ बानेश्वरमा भएको एमालेसहित सत्तारूढ दलका शीर्ष नेताको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच चर्काचर्की भएको छ । संविधान संशोधन र स्थानीय तहको संख्या थप्ने विषयमा प्रधानमन्त्रीसहित बसेको बैठकमा देउवा र विपक्षी दलका नेता केपी शर्मा ओलीबीच भनाभन भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । सरकारले तराईका ११ जिल्लामा एक सय स्थानीय तह थप्ने तयारीप्रति एमालेले आपत्ति जनाउँदै संसद्मा अवरोध गरिरहेको छ । अवरोध खुलाउन सत्तारूढ गठबन्धन र एमालेका शीर्ष नेताको संसद् भवनमै भएको छलफलमा दुई नेताबीच चर्काचर्की भएको उनले बताए । बैठकमा ओलीले तराई–मधेसका केही जिल्ला छानीछानी स्थानीय तह बढाउने कुरा कुनै हालतमा स्वीकार्य नहुने अडान राखेका थिए ।
उनले यो सरकारको चुनाव नगराउने प्रपञ्च भएको भन्दै संविधान संशोधन विधेयक राष्ट्रको पक्षमा नभएकाले कुनै हालतमा पारित हुन नदिने अडान राखेका थिए । जवाफमा माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले एमालेविना दुईतिहाइ बहुमत पु¥याएर संविधान संशोधन गर्ने भन्दै ओलीलाई चेतावनी दिएका थिए ।
‘यस्तो हो भने हेर्दै जानुस्, तपाईंले सहयोग नगरे पनि दुईतिहाइले यो प्रस्ताव पारित गरेर देखाउँछु’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै ती नेताले भने । यसैबीच देउवाले ओलीलाई तपाईं निर्वाचन गर्न दिने कि नदिने भनेका थिए जवाफमा ओलीले तपाईं निर्वाचन गर्ने कि नगर्ने भनेका थिए । देउवाले ओलीलाई यो प्रस्तावमा समर्थन गर्नुस् भनेका थिए भने जवाफमा ओलीले तपाईं यो प्रस्ताव फिर्ता लिनुस् भनेका थिए ।

प्रतिक्रिया