तीन वर्षको विश्रामपछि फेरि पलेँटी श्रृंखला

paleti
काठमाडौं । आधुनिक नेपाली संगीतको विकासक्रम सम्झाउने र यसको स्वर्णिमकालको उपासना गर्ने मञ्च ‘पलेँटी शृंखला’ फेरि सुरु हुने भएको छ । तत्कालीन सर्जकहरुको सम्मानमा उनीहरुकै उपस्थितिसहित प्रस्तुत हुने यो सांगीतिक कार्यक्रमले झन्डै तीन वर्ष विश्राम लिएको थियो । अंग्रेजी क्यालेन्डरअनुसार हरेक महिनाको अन्तिम शुक्रबार आयोजना हुने परम्परालाई नै निरन्तरता दिँदै यसपालि पनि आगामी अप्रिल २८ तारिख (वैशाख १५ गते) यसको पुनः थालनी कालिकास्थानस्थित पुरानै कक्ष आरशालामा हुँदै छ ।
यसपालि पलेँटीमा कवि तथा गीतकार दिनेश अधिकारी उपस्थित भएर उनका सिर्जनाहरु प्रस्तुत गर्नेछन् । गीतकार अधिकारीका शब्दहरुलाई नारायणगोपाल र तारादेवीदेखि नयाँ पुस्तासम्मले गाएका छन् । कवि, गायक एवं संगीतकार आभासको सक्रिय सहभागितामा सन् २००५ देखि सुरु भएको पलेँटीमा एकवर्षसम्म उनको मात्र प्रस्तुति समेटिएको थियो । २००६ देखि यसले आधुनिक नेपाली संगीतजगत्का अग्रज कलाकारहरुलाई समेटेर अघि बढ्ने लक्ष्यसहित ‘पलेँटी शृंखला’को रुप लियो ।
बदलिँदो समयले कमै चर्चा गर्न थाले पनि स्रोताहरुको मन मस्तिष्कमा जरा गाडेर बसेका सर्जकहरु एकपछि अर्को गर्दै पलेँटीका प्रस्तोता बन्न पुगे । त्यसैगरी यसले नेपाल मात्र नभएर नेपाली पहिचानको खोजी गर्दै प्रवासमा रहेर आधुनिक नेपाली संगीतको अभ्यासमा तल्लीन शृस्टाहरुलाई दार्जिलिङ, पूर्वोत्तर भारत र भूटानदेखि निम्त्याउँदै काठमाडौंको मञ्च प्रदान गरेको थियो ।त्यस क्रममा ४१ जना कलाकारहरु नेपालयको आरशालामा आएर प्रस्तुत भएका थिए । पुराना गायक एवं संगीतकार प्रकाश गुरुङ र उनकी गायिका छोरी रिमा गुरुङ होडाको संयुक्त प्रस्तुतिपछि सन् २०१४ को जुलाइ महिनादेखि पलेँटी शृंखला थामिन पुगेको थियो ।
यसपालि लोकप्रिय सांगीतिक समूह नेपथ्यले आफ्नो स्थापनाको २५औँ वर्ष मनाउने क्रममा पलेँटी श्रृंखलाको व्ययभार ब्यान्डले ब्यहोर्ने घोषणा गरेपछि यसलाई फेरि सुचारु गर्न सम्भव भएको हो ।फेरि सुचारु हुनपुगेको पलेँटी श्रृंखलामा गीतकारहरुका सिर्जनालाई गायक आभास, गायिका मीना र योगेन्द्रले सुनाउने छन् । नयाँ वाद्यवादन टोलीको समेत पुनर्संयोजन गरिएको पलेँटी शृंखलाका निम्ति नेपालयकै आरशालामा अभ्यास थालनी भइसकेको छ ।

प्रतिक्रिया