फेसबुकमा सोचेको टाइप गर्न सकिने

काठमाडौं । फेसबुकले एक यस्तो प्रविधि बनाइरहेको बताएको छ, जसले प्रयोग गरी तपाईं आफ्नो कम्प्युटरलाई दिमागले नियन्त्रण गर्न सकिने र औंलाले होइन दिमागले नै टाइप गर्न सक्नेछ । यो प्रविधि बन्यो भने ‘साइलेन्ट स्पिच’ को सहयोगमा प्रतिमिनेट सय शब्द टाइप गर्न सकिने फेसबुकले जनाएको छ । यस्तो खालको प्रविधि ल्याउन पहिला विनाअप्रेसन दिमागको कुरा कम्प्युटरसम्म ल्याउन सक्ने सफ्टवेयर चाहिनेछ । जसले दिमागका तरंगलाई कम्प्युटरसँग जोड्न सकोस् । दिमागमा आउने कुरालाई डिकोडिङ गरी किबोर्डमा ती कुरा टाइप गर्ने बनाउन सकिने फेसबुकले जनाएको छ ।

फेसबुकका संस्थापक मार्क जुकरवर्गले लेखेका छन्, ‘हामी एक यस्तो प्रविधि बनाउन लागेका छौँ । जसको प्रयोगबाट तपाईं सोझै दिमागले टाइप गर्न सक्नुहुनेछ । यसले मोबाइलमा टाइप गर्ने अहिलेको तपाईंको रफ्तार पनि पाँच गुणा बढ्नेछ ।’ जुकरवर्गले फेसबुकले यस्तो प्रविधि भएको एउटा यन्त्र बोक्न मिल्ने गरी बनाउन लागेको बताएका छन् । फेसबुककी रेगिना डगनले आफूहरू मानिसको दिमागमा भएका सबै विचारलाई डिकोडिङ गर्न लागेका नभई आफूले सार्वजनिक गर्न चाहेको कुरा मात्र टाइप हुन सक्ने गरी काम गरिरहेको बताएकी छन् । ‘तपाईंको दिमागमा भएका धेरै विचारबाट केही विचार अरूलाई बाँड्न छान्न सक्नुहुन्छ’, उनले भनिन् ।
फेसबुकले डगनको नेतृत्वमा यही प्रविधि बनाउनका लागि ‘विल्डिङ ८’ नाम दिइएको एउटा टिम पनि बनाएको छ । सो टिममा ६० जना विशेषज्ञले काम गरिरहेको फेसबुकले जनाएको छ ।

प्रतिक्रिया