धनगढीको मेयरमा हमालको उम्मेदवारी घोषणा

gopal hamal

धनगढी । दलहरूबीच स्थानीय तहकालागि उमेदवार छनोट गर्न रस्साकस्सी भइरहेका बेला, सुन्दर सुदूरपश्चिम अभियानका अभियन्ता तथा दिनेश एफएमका प्रबन्ध निर्देशक गोपाल हमालले शुक्रबार तामझामकासाथ धनगढी उपमहानगरपालिकाको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । निकै तामझामकासाथ उम्मेदवारी घोषणा गरेका हमालले धनगढीलाई ‘सुनको टुक्रा’ जस्तो बनाउने भन्दै विभिन्न कार्यक्रमसमेत सार्वजनिक गरेका छन् ।
धनगढीमा आयोजना गरिएको एक कार्यक्रममा उनले, आफू मेयरमा स्वतन्त्र लड्ने घोषणा गरेका हुन् । ‘रोकौं सहरको विनाशलाई, ६ भोट दललाई एक भोट विकासलाई’ भन्ने नारासहित हमालले उम्मेदवारी घोषणा गरेका छन् ।
धनगढीलाई, समुन्नत, आकर्षक, सुन्दर र नमुना सहरका रूपमा विकास गर्ने घोषणापत्र पनि हमालले सार्वजनिक गरेका छन् । उनले स्थानीय निकायहरू भएका बेला चरम भ्रष्टाचार मौलाएको भन्दै आफूले जितेमा भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने पनि घोषणा गरेका छन् । उनले मेयर पदमा जितेमा, उपमहानगरपालिकाका मेयरले पाउने सेवासुविधा, गाडी र इन्धनसमेत नलिने बताएका छन् ।
हचुवाका भरमा गरिएको एकीकृत सम्पत्ति करलाई वर्गीकरण गरी जनतालाई सहुलियत दिने, धनगढीको डुवान, खोलानाला अतिक्रमण हटाएर खोलानालामा शुद्ध पानी बग्ने वातावरण बनाउने, धनगढीलाई हरियालीयुक्त सहर बनाउने पनि उनको घोषणापत्रमा उल्लेख छ । सहरका ग्रामीण क्षेत्रसम्म स्तरीय सडक बनाउने, बेहडाबाबा, जाखोर ताल जस्ता सम्पदाको संरक्षणका लागि प्रभावकारी योजना बनाउने र धनगढीलाई कृषि उब्जनीको थलो बनाउने पनि उनले घोषणा गरे ।

प्रतिक्रिया