द्वैध चरित्र नदेखाउ

निर्वाचन आयोगले पार्टीको विधानबाट ‘राजसंस्था’ र ‘हिन्दू राष्ट्र’ शब्द हटाइदिएपछि सत्तारूढ राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोगविरुद्ध विरोध प्रदर्शन ग¥यो । देशका विभिन्न स्थानमा विरोध प्रदर्शन गर्ने क्रममा आयोगको निर्णय जलाउनेजस्ता अत्यन्त अशोभनीय र आपत्तिजनक कार्य पनि राप्रपाका नेता कार्यकर्ताले गरे । राप्रपाका अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाले त एउटा कार्यक्रममा यही कारणले सरकार छाडेर आन्दोलन गर्ने र निर्वाचन पनि बहिष्कार गर्ने धम्की दिए । सामान्यतः राजनीतिक विषयमा टीकाटिप्पणी नगर्ने परम्परा भएको निर्वाचन आयोगले राप्रपाका त्यस्ता क्रियाकलापप्रति असन्तुष्टि व्यक्त गर्दै ‘आयोगविरूद्ध अनर्गल प्रचार’ नगर्न चेतावनीसमेत दियो । यद्यपि, अहिले आयोग र राप्रपा दुवै पछि हटेका छन् । आयोगले निर्णय थाती राख्ने निर्णय गरेको छ भने राप्रपाले आन्दोलनका कार्यक्रम फिर्ता लिएको जनाइएको छ । आश्चर्य, यिनै उपप्रधानमन्त्री थापाले मधेसी दलहरूलाई भने निर्वाचनमा भाग लिन र आन्दोलन नगर्न आह्वान गरेका छन् ।
राप्रपा गणतन्त्र र धर्मनिरपेक्षताका विरुद्ध रहिआएको छ । संविधान पारित गर्दा पनि राप्रपाले यी दुई प्रावधानविरुद्ध मत प्रकट गरेको थियो । यसैले राप्रपालाई गणतन्त्र वा धर्मनिरपेक्षता मान्न बाध्य बनाउनु अलोकतान्त्रिक प्रवृत्ति हुन्छ । तर, निर्वाचन आयोग भने संवैधानिक निकाय भएकाले संविधान र कानुनमा भएका व्यवस्थाअनुसार काम गर्नुपर्छ । आयोगले गलत निर्णय गरेको छ भन्ने लागेमा राप्रपाले अदालतबाट न्याय खोज्न सक्थ्यो । अदालतको आदेश त निर्वाचन आयोगले पनि मान्नै पर्छ र मान्छ पनि । ‘वरिष्ठ’ उपप्रधानमन्त्रीले स्वयं संवैधानिक निकायविरुद्ध ‘अनर्गल प्रचार’ गर्ने र निर्वाचन बहिष्कार गर्नेसमेत धम्की दि“दा पक्कै पनि सकारात्मक सन्देश जा“दैन । यसैले प्रधानमन्त्री पुष्पकमल दाहालले पनि चिन्ता व्यक्त गरेको हुनुपर्छ ।
राजनीतिक नेताहरू सस्तो लोकप्रियताका लागि अत्यन्त गैरजिम्मेवार र अभद्ररूपमा समेत प्रस्तुत हुने गरेका छन् । त्यस्तो गैरजिम्मेवार चरित्रको निगरानी जनताले गरिरहेका हुन्छन् र बेलाबेलामा तिनलाई सजाय पनि दिएका दिन्छन् । सरकारमा बस्नेहरूले भने संविधान स्वीकार गरेर शपथग्रहण गर्नुपर्छ । राजनीतिक नैतिकताका आधारमा त राप्रपा सरकारमा जानै हु“दैन थियो । तर, नेपालको राजनीतिमा नैतिकताको खडेरी नै पर्ने गरेको छ । मधेसी मोर्चालाई आन्दोलन नगर्न र निर्वाचनमा भाग लिन आह्वान गरेर थापाले उपप्रधानमन्त्रीको कर्तव्य पालना गरे तर, त्यही कर्तव्य उनले आफ्ना हकमा भने पालना गरेनन् । अरूलाई संयमको आह्वान गर्ने व्यक्ति आफू पनि संयमित हुनुपर्छ । उपदेश दिनुपूर्व आफ्नो बोली र व्यवहारलाई संयमित र सन्तुलित बनाएको भए प्रभावकारी हुन्थ्यो । आफ्नो हकमा एउटा र अरूका हकमा अर्कै मापदण्ड हुन्छ भन्ने ठान्नु द्वैध चरित्र हो । यस्तो द्वैध चरित्र अराजनीतिक मात्र होइन प्रत्युत्पादक पनि हुन्छ ।

प्रतिक्रिया