आफ्नै बुबा व्यभिचारी भएपछि…

जनकपुरधाम । आफ्नै घरको शौचालयको ट्यांकीभित्र मंगलबार मृत भेटिएका बालकलाई उनकै बाबुआमाले हत्या गरेको रहस्य खुलेको छ ।
बाबुआमाले नै अपराध लुकाउन ६ वर्षीय छोरा मारेर घरभित्रै ट्यांकीमा फालेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको धनुषाका एसपी लालमणि आचार्यले बताए । छोराको हत्या गरेर फालेपछि अपराधबाट वच्न उनीहरूले घरबाटै छोरा हराएकाले खोजतलास गरिदिन प्रहरी चौकी मुजेलियामा उजुरीसमेत दिएका थिए ।
घटना विवरणअनुसार जनकपुर उपमहानगरपालिका–१४ मुजेलियाका श्रीप्रसाद राउत छोरा हराएको निवेदन लिएर २ वैशाखमा प्रहरी चौकी पुगेका थिए । असिनपसिन हुँदै प्रहरीको गुहार माग्न निवदेन लिएर पुगेका राउतले आफ्नो ६ वर्षीय छोरा कृष घरबाटै वेपत्ता भएको दाबी गरेका थिए । निवेदन दर्ता गरेपछि प्रहरी टोली राउतको घर पुग्यो । प्रहरीले आँखा राउतको घरको सेफ्टी ट्यांकीको बिर्कोमा अडियो ।
सो बिर्को भर्खरै प्लास्टर गरेर सेतो सिमेन्टले पोतेकोजस्तो थियो । शंका लागेर प्रहरीले बिर्को खोली हेर्दा हराएका भनिएका बालक सोही ट्यांकीभित्र मृत अवस्थामा फेला परे ।
हत्याका कारण
बालक कृषको जन्म भएपछिको केही वर्षमा नै उनकी आमाको मृत्यु भएको थियो । उनको लालन पालन मामाघरकी हजुरआमाले गरेकी थिइन् ।
यता श्रीप्रसाद राउतले रिना राउतलाई दोस्रो श्रीमतीका रूपमा भित्र्याएका थिए । मामाघर नजिक भएकाले कृष खेल्दै कहिलेकाँही आफ्नो घर पनि आउँथे । सौतेनी आमा बनेर आएकी रिना कृषलाई देख्न सक्दिन थिइन् ।
यस्तैमा नयाँ वर्षको दिन आफ्नो घर आएका कृषलाई उनीहरू मिठो खान दिएर आफ्नो सुत्ने कोठामा लगे । सौतेनी आमाको प्रेमजालमा परेका बाबुले नै कृषलाई फलामे रडले टाउकोमा प्रहार गरे । रडको प्रहारले घटनास्थलमै ढलेका बालक कृषलाई बाबुआमा मिलेर सेफ्टी ट्यांकीमा हालेर माथिबाट विर्को लगाएर प्लास्टर गरे । लाश तह लगाइसकेपछि उनीहरू रोएको नाटक गर्दै खोजतलासको निवेदन लिएर प्रहरी कहाँ पुगेको उनीहरूको बयान उद्धृत गर्दै एसपी आचार्यले बताए । ‘उनीहरूले छोरालाई कर्तब्य गरी मारेको साबिती बयान दिइसकेका छन्’, एसपी आचार्यले भने ‘बाबुआमा दुवैलाई हिरासतमा राखेर कर्तब्य ज्यानको मुद्दा चलाएका छौं ।’

प्रतिक्रिया