अमेरिकामाथि आक्रमण गर्ने उत्तर कोरियाको तयारी

उत्तर कोरिया । एक जना उच्च सरकारी अधिकारीले अमेरिकाले कुनै सैनिक कारबाही गरे त्यसै दिनबाट पूर्णरूपमा युद्धमा होमिन उनको देश तयार रहेको बताएका छन् । उत्तर कोरियाका उप विदेशमन्त्री हाङ सोङ योलले बिबिसीसँग कुरा गर्दै अमेरिकाले आक्रमण गर्न लागेको संकेत पाउने बित्तिकै परमाणु हमला गर्ने चेतावनी दिए । हानले प्योङयाङले साप्ताहिक, मासिक र वार्षिक रूपमा थप क्षेप्यास्त्रहरू परीक्षण गर्ने पनि जनाए । यसअघि अमेरिकी उपरराष्ट्रपति माइक पेन्सले आफ्नो परामाणु कार्यक्रमलाई निरन्तरता दिएर अमेरिकी धैर्यको परीक्षा नलिन उत्तर कोरियालाई चेतावनी दिएका थिए । उत्तर कोरिया र अमेरिका दुवै तर्फबाट कडा चेतावनीसहितका वक्तव्य आउन थालेपछि कोरियाली प्रायद्वीपमा तनाव चुलिँदै गएको छ । बिबिसीसँग उत्तर कोरियाली उपविदेशमन्त्री हाङले भने, ‘यदी अमेरिकाले हामीविरुद्ध सैन्य आक्रमणको तयारी ग¥यो भने उसले हमला गर्नुअघि नै हामी आफ्नै शैली र तरिकाले परमाणु आक्रमण गर्नेछौँ ।’
अन्तर्राष्ट्रिय आलोचना तथा राष्ट्रसंघको प्रतिबन्धकाबीच हालैका वर्षहरूमा उत्तर कोरियाले परमाणु तथा क्षेप्यास्त्र परीक्षणलाई तीव्रता दिएको छ । उसले अमेरिकासहित विश्वका अन्य निशानामा पुग्ने खालको अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रमा परमाणु वारहेड जडान गर्ने लक्ष्य लिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यस्तो अवस्था आउन नदिने भन्दै उत्तर कोरियालाई कुटनीतिक रूपमा एक्ल्याउन पहल गरिरहेका छन् । उनले कोरियाली प्रायद्वीपमा नौसेनाको एउटा आक्रमणकारी दस्ता परिचालन गरेका छन् र अमेरिका र दक्षिण कोरियाले संयुक्त रूपमा क्षेप्यास्त्र विध्वंशात्मक प्रणाली तत्कालै स्थापना गर्ने तयारी अघि बढाएका छन् । तनावका माझ उत्तर कोरियाले छिट्टै छैठौँपटक परमाणु परीक्षण गर्नसक्ने पर्यवेक्षकहरूको धारणा छ ।
आफ्ना संस्थापक नेताको जन्मदिवसको एक दिनपछि गएको आइतबार उसले गरेको एउटा क्षेप्यास्त्र परीक्षण विफल भएको थियो । दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति ह्वाङ ग्यो हानसँगै पत्रकार सम्मेलनमा अमेरिकी उपरराष्ट्रपति पेन्सले राष्ट्रपति ट्रम्पको परीक्षा नलिन उत्तर कोरियालाई चेतावनी दिए ।
उनले भने, ‘हालै विश्वले हाम्रा नयाँ राष्ट्रपतिले सिरिया र अफगानिस्तानमा चालेका कदमहरूको सामथ्र्य देखेको छ । उत्तर कोरियाले हाम्रा राष्ट्रपतिको संकल्प र यस क्षेत्रमा रहेको अमेरिकी सैन्य बलको शक्तिलाई परीक्षण गर्ने नखोजोस् ।’ उनले अमेरिकाले ‘शत प्रतिशत’ दक्षिण कोरियालाई समर्थन गर्ने पनि बताए ।
अमेरिकाले उत्तर कोरियाको मुख्य साझेदार चीनसँग मिलेर परमाणु कार्यक्रम र क्षेप्यास्त्र परीक्षण रोक्न प्योङयाङलाई बाध्य पार्ने नीति लिएको छ । उपराष्ट्रपति पेन्सले चीनले आफ्नो प्रभाव प्रयोग गरी उत्तर कोरियामाथि दबाब बढाउने विश्वास ह्वाइट हाउसले लिएको धारणा राखेको एसोसिएटेड प्रेसले जनाएको छ ।
उत्तर कोरियाले अमेरिकी गतिविधिलाई उत्तेजक भन्दै आएको छ । राष्ट्रसंघमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उत्तर कोरियाका स्थायी प्रतिनिधिले सिरियामा भएको अमेरिकी हवाई हमलाको निन्दा गरे । उनले अमेरिकाले विश्व शान्ति र स्थिरता खल्बल्याइरहेको आरोप लगाउँदै सार्वभौम देशमाथिको हस्तक्षेप अस्वीकार्य हुने धारणा राखेका थिए । चीनले उत्तर कोरियालाई सबै परीक्षणहरु रोक्न आग्रह गरेको छ र शान्तिपूर्ण समाधानमा जोड दिएको छ ।

प्रतिक्रिया