शिक्षक व्यवस्थापन छुट्टै ः पौडेल

काठमाडौं । शिक्षामन्त्री धनीराम पौडेलले संघीय संरचनाअनुसार शिक्षकको व्यवस्थापनका लागि छुट्टै निकाय गठन गर्नुपर्ने बताएका छन् । शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघको संयुक्त आयोजनामा सोमबार भएको ‘स्थानीय तहमा शिक्षकको व्यवस्थापन’ विषयक एक दिने कार्यशाला गोष्ठीमा उनले अन्य कर्मचारीलाई हेर्ने निकाय जस्तै शिक्षकलाई व्यवस्थापन गर्ने पनि छुट्टै निकाय हुनुपर्ने बताएका हुन् । शिक्षक सेवा आयोगलाई संवैधानिक बनाएर वा अन्य छुट्टै निकाय गठन गरेर शिक्षकको व्यवस्थापन गर्नुपर्ने धारणा व्यक्त गर्दै मन्त्री पौडेलले संघीय संरचनाअनुसार समग्र शिक्षाको खाका बनाइरहेकाले शिक्षक व्यवस्थापन अलि पछि परे पनि स्थानीय निर्वाचनलगत्तै अघि बढाउने बताए । ‘अहिले हामी संघीय संरचनाअनुसार शिक्षाको खाका बनाइरहेका छौँ’, उनले भने, ‘त्यसले केही ढिला भएको हो तर अब स्थानीय निर्वाचनलगत्तै स्थानीय तहमा शिक्षकको व्यवस्थापन गर्छौं ।’
मन्त्री पौडेलले शिक्षाको सबभन्दा नजिकको सरकार स्थानीय तह भएकाले स्थानीयस्तरको शिक्षालाई मजबुत बनाउनुपर्नेमा जोड दिए । शिक्षकको अहिलेको जस्तो मर्यादा संघीयमा पनि हुने भएकाले शिक्षकलाई थप जिम्मेवार बनाइनुपर्ने उनले बताए ।
शिक्षा मन्त्रालयका प्रवक्ता डा.हरि लम्सालले केन्द्रीय तहमा शिक्षकको व्यवस्था नगरिएको जानकारी गराए । ‘अब प्रदेश र स्थानीय तहमा शिक्षक हुन्छन’, उनले थपे ‘धेरै शिक्षक स्थानीय तहमा रहनेछन् ।’ शिक्षाविद् डा. विद्यानाथ कोइराला र प्राडा मनप्रसाद वाग्लेले स्थानीय तहका शिक्षकलाई बढी जिम्मेवार बनाए शिक्षामा सुधार हुने बताए ।

प्रतिक्रिया