काठमाडौं । काठमाडौं उपत्यकामा ध्वनी प्रदूषण कम गर्न हर्न निषेध गरिएपछि हर्न कम बज्न थालेका छन् । उपत्यकामा नयाँ वर्ष अर्थात शुक्रबारदेखि कुनै पनि सवारीसाधनले हर्न बजाउन नपाउने नियम लागू भएपछि हर्न बज्न कम भएको हो । २० चैतमा ट्राफिक प्रहरी महाशाखामा काठमाडौं महानगरपालिकाका प्रमुख, सिडिओ, यातायात व्यवस्था विभागका महानिर्देशकलगायतको बैठक बसेर यस्तो निर्णय गरेको थियो । काठमाडौं उपत्यकाभित्र साउन्ड पोलुसनलाई निरुत्साहित गर्न यो व्यवस्था लागू गरिएको महानगरीय ट्राफिक महाशाखा प्रमुख डिआइजी मिङमार लामाले जानकारी दिए ।
‘दुई वटा अवस्थामा मात्रै हर्न बजाउन पाइन्छ,’ लामाले भने, ‘अगाडीबाट आइरहेको गाडी नदेखिने घुम्ती र चालकलाई हर्न नबजाउँदा अगाडीको गाडीसँग ठोक्किएर दुर्घटना हुनसक्ने अवस्थामा मात्रै हर्न बजाउन पाइन्छ । त्योबाहेक हर्न बजाउन पाइँदैन । लामाले दुई दिनमा आफूहरूले अघिल्ला दिनमाभन्दा निकै कम हर्न बजेको पाइएको जानकारी दिए ।
‘धेरैले यसलाई शंकाको रूपमा पनि हेरेको पाइयो,’ लामाले भने, ‘तर साँच्चिकै प्रभावकारी कार्यान्वयनमा आइसकेको छ । अहिले चोकचोकमा रहेका ट्राफिकले यसको अनुगमन गरेका छन् ।’ तर प्रहरीले पहिलो चरणमा चालकलाई सम्झाउने काम गरेको छ । त्यसपछि पनि हर्न बजाए पाँच सय जरिबाना, अनि एक हजार र एक हजार पाँच सयसम्म जरिबाना गर्न सक्ने व्यवस्था रहेको लामाले जानकारी दिए ।
‘अहिले केही सवारीसाधनलाई छुट हुन्छ, यो नियम भाडाका सवारीलाई मात्रै हो भनेर हल्ला गरिएको छ,’ लामाले भने, ‘सडकमा गुड्ने सबै सवारीसाधनलाई यो नियम लागू हुन्छ । कुनै सवारीसाधनलाई पनि छुट हुँदैन ।’ उनले एम्बुलेन्सले पनि बिरामी नराखेको अवस्थामा पनि जथाभावी हर्न बजाएको पाइए कारबाही गर्ने बताए ।
‘एम्बुलेन्सलाई पनि बिरामी क्रिटिकल अवस्थामा छ छिटो नपुगि नुहने छ भने बजाउन छुट हुन्छ नभए हुँदैन,’ उनले भने । उनले दुई दिनमा हर्न बजाउनेको संख्या ह्वात्तै घटेको पाइएको जानकारी दिए । ललितपुर ट्राफिक प्रहरी प्रमुख सीताराम हाछेथुले भाडाका सवारी र मोटरसाइकल चालकले बढी हर्न बजाउने गरेको पाइएको बताउँदै यो नियम प्रभावकारी कार्यान्वयनका लागि जनस्तरबाटै सहयोगको आवश्यकता रहने बताए ।
‘यो प्रहरीले मात्रै होइन, नागरिक स्तरबाटै यसको निगरानी हुनुपर्छ,’ उनले भने, ‘आफू चढेको गाडीमा चालकले हर्न बजाउँदा कति धेरैलाई बेफाइदा भइरहेको छ भन्ने बुझ्नुपर्छ । त्यस्तो बेलामा नागरिकले प्रहरीलाई खबर गरेमा कारवाही गर्न सजिलो हुन्छ ।’ उनले भाडाका सवारी र मोटरसाइकल चालकले अनावश्यक रूपमा हर्न बजाउने गरेको पनि जानकारी दिए ।
‘भाडाका सवारीसाधनका चालकले आफ्नै सहचालक बोलाउन परे पनि हर्न बजाउँछन्, पसलको अगाडि रोकेर चुरोट, खैनी किन्न परे पनि हर्न बजाउने प्रचलन छ,’ उनले भने, ‘यसरी बजाउन पाइँदैन ।’ उनका अनुसार त्यसपछि मोटरसाइकल चाकलले बढी हर्न बजाउँछन् । ‘मोटरसाइकल चालकलाई जति नै बेला पनि हतार भएको पाइन्छ,’ उनले भने, ‘जथाभावी बाटो काट्ने र हर्न बढी बजाउने काम मोटरसाइकल चालकबाट भएको पाइन्छ ।’
प्रतिक्रिया