०७३ का चर्चित आठ अपराध रक्षकनै भक्षकदेखि एलिशा प्रकरणसम्म

काठमाडौँ । २०७३ मा राजधानी केन्द्रित ठूला अपराध घटेन, बरु बढिरह्यो । उपत्यकामा विगतदेखि नै ‘प्रहरी हुँ’ भन्दै ठग्ने प्रवृत्ति यसपटक पनि रोकिएन् । पहिले नक्कली प्रहरीले आफूलाई ‘प्रहरी हुँ’ भन्दै ठग्ने गरेको पाइन्थ्यो भने वर्ष २०७३ मा राज्यको बर्दी भिडेका बहालवाल प्रहरी अधिकारी नै ठगी धन्दामा संलग्न भएको पाइयो । यत्तिसम्म कि महानगरीय प्रहरी परिसर ललितपुर मातहत रहेको प्रहरी प्रभाग बुङमतीका इन्चार्ज इन्सपेक्टर अनिल पाण्डितले मेनपावर ब्यवसायी तारा रेग्मीसँग ‘तिम्रो मुद्दा रहेछ पैसा नदिए फसाइदिन्छु’ भन्दै ७५ हजार असुल गर्न पुगे । पूर्वमन्त्री श्यामसुन्दर गुप्ताको निर्देशनमा तारासँग पैसा उठाउन पुगेको इन्सपेक्टर पछि पक्राउ परे । अपराधको पनि राजधानी मानिने उपत्यकामा २०७३ सालमा घटेका महत्वपूर्ण अपराधिक घटना यस्ता छन् ः
१) पूर्वमन्त्रीले पूर्वडिआइजीको प्रेमिका धम्क्याए
सशस्त्र प्रहरीका डिआइजी रन्जन कोइराला र पूर्वमन्त्री श्यामसुन्दर गुप्ता लामो सयम जेलमा सँगै बसे । डिल्लीबजार कारागारमा रहँदा गुप्ता र रन्जनबीच दोस्ती जमेको थियो । त्यही दोस्तीको दुरुपयोग गर्दै आफू जेलबाट छुटेपछि गुप्ताले प्रहरी इन्स्पेक्टर अनिल पण्डितलाई प्रयोग गरेर रन्जनकी प्रेमिका तारा रेग्मीसँग बार्गेनिङ गर्न थाले । ‘गीता ढकाल हत्या प्रकरण’ मा काठमाडौं जिल्ला अदालतले २०७१ वैशाखमा गरेको फैसला कार्यान्वयन नहुने वातावरण बनाइदिन्छु भन्दै लाखौँ माग्न थालेको उजुरी परेसँगै ललितपुरका तत्कालीन एसएसपी पिताम्बर अधिकारीले श्यामसुन्दरलाई पक्राउ गरे । श्यामसुन्दरसँगै इन्सेपक्टर पण्डित र तारा रेग्मीसमेत प्रहरी फन्दामा परिन् ।
२१ भदौ २०७३ मा पक्राउ परेका गुप्ता र पण्डितलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरेको थियो भने तारा रेग्मीलाई जिल्ला अदालत काठमाडौंको आदेशले केन्द्रीय कारागार जगन्नाथ देवल चलान गरिएको थियो । तारालाई टेलिफोन गरेर गुप्ताले ‘तपाईंको व्यवसाय तथा परिवारको बारेमा सबै थाहा छ, पैसा नदिए जे पनि गर्न सक्छु’ भन्दै धम्की दिएका थिए ।
२) विदेशी ह्याकरको निशानामा एटिएम बुथ
२०७३ सालमा एटिएम कार्डमा प्रयोग हुने पिन चोरी गरेर अर्काको खाताबाट रकम निकाल्ने गिरोहका करिब एक दर्जन विदेशी नागरिक काठमाडौंबाट पक्राउ परे । ठमेल र दरबारमार्गलगायत एटिएम बुथहरूमा हिडेन् क्यामेरा र चिप्समार्फत पिन नम्बर पत्ता लगाएर पैसा निकाल्ने ३८ वर्षीय बुल्गेरियन डिमो अटेन्सोभ स्टेफानोभसहित केन्द्रीय अनुसन्धान ब्युरोले रोमानियाका पूर्वपाइलट तथा तीन जना मोल्दोभियन नागरिकलाई पक्राउ गरेर कारवाही गरेको थियो । २०७१ मंसिरदेखि नेपालमा एटिएम चोरीमा संलग्न विदेशी पक्राउ पर्न थालेको थिए । २०७३ सम्म आउँदा एटिएम चोरीमा संलग्न विदेशीको संख्या बढ्दै गएको छ ।
त्यस्तै कार्ड स्वाइप मेसिनको दुरुपयोग गरेर अर्काको खाताबाट लाखौं निकाल्ने समूहसमेत २०७३ मा काठमाडौंमा सक्रिय भए । कार्ड स्वाइप मेसिनबाट पैसा निकाल्ने एउटा गिरोहलाई नियन्त्रणमा लिएर महानगरीय अपराध महाशाखाले मुद्दा दायर गरेको थियो ।
३) एअरपोर्टबाटै भित्रियो साढे ३३ किलो सुन
२१ पुस २०७३ शुक्रबार मध्याह्न बा.२ ज २९१५ नम्बरको ट्याक्सी चढेर एअरपोर्ट पुगेका
गोपालबहादुर शाही साढे ३३ किलो सुन लोड गरेर एअरपोर्ट बाहिरिए । अघिल्लो दिन दुबईबाट आएका शाहीले सुटकेसमा निकै व्यवस्थित तवरले प्याक गरेर ठूलो परिणामको सुन नेपाल ल्याएका थिए ।
ट्याक्सीमा सुन लिएर एयरपोर्ट बाहिर आउनासाथ केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएकी एसपी मीरा चौधरीको टोलीले शाहीसहित तीन जनालाई नियन्त्रणमा लिन सफल भएको थियो । शाहीले ल्याएको सुन लिन अरू दुईजना बा.४ च ९११४ नम्बरको कार चढेर गएका थिए । तर दुबईबाट आएको सुन हात नपर्दै मोरङका दिलबन्धु थापा र धनुषाका सन्तोष काफ्ले पनि समातिए । सेटिङ मिलाएर त्यही सुन एअरपोर्टबाट पास गराएको अभियोगमा त्रिभुवन विनास्थलमा कार्यरत नेपाल प्रहरीका एसएसपी श्यामबहादुर खत्रीसहित तीनजना भन्सारका कर्मचारी पक्राउ परे ।
एअरपोर्टबाट ठूलो परिणाममा सुन भित्रिएको करिब २० दिनपछि बालाजु प्रहरीले केरुङबाट आएको १५ किलो सुन चौमतीबाट नियन्त्रणमा लियो । १५ किलो सुन लोड गरिएको टाटा सुमो भक्तपुर सूर्यविनायक नगरपालिका–११ पलाँसे स्थायी घर भएका रविन्द्र भुजेलले चलाएका थिए । त्यतिमात्र हैन, २०७३ मा बौद्ध प्रहरी र महानगरीय अपराध महाशाखाले पनि उल्लेख्य परिणाममा अवैध सुन नियन्त्रणमा लिएका थिए । विगत वर्षभन्दा सुन तस्करी यस वर्ष बढेको प्रहरी अधिकारीहरू बताउँछन् ।
४) प्रेमले निम्त्याएको दर्दनाक हत्याकाण्ड !
कुरा २०७३ कात्तिक तिरको हो । सिन्धुपाल्चोककी एलिशा नेपाली र रामेछापका मुक्तिनाथ लामिछानेको भेट संयोगले भएको थियो, बूढानीलकण्ठको पानी फ्याक्ट्रीमा । ‘रिफ वाटर प्रोसेस’ नामक पानी फ्याक्ट्रीमा २०७३ वैशाखतिर जागिरको खोजीमा पुगेका थिए मुक्तिनाथ । एलिशा त्यहाँकी पुरानै स्टाफ थिइन् ।
एलिशा लक्का जवान थिइन्, २३ वर्षीया । प्रेमलाई उमेरको कहाँ छेक्छ र ? देखादेख भएको केही दिनमै उन्नाईस वर्षका रेशमले आफूभन्दा दुई–चार वर्ष जेठी एलिशालाई आँखामा सजाउन थालिसकेका थिए । एलिशाले नारायणथानमा कोठा लिएकी थिइन्, दिदीबहिनीसँगै बस्थे । मुक्तिनाथ पानीको जार डेलिभरी गर्ने गाडीको सहयोगीको रूपमा काम गर्थे, फ्याक्ट्रीमै बस्थे ।
जागिरमा जोडिएको केही दिनमै मुक्तिनाथले एकान्त पारेर भने, ‘आइ लभ यु एलिशा !’ एलिशाले कुनै जवाफ दिइनन्, तर मुक्तिनाथले बुझे, ‘उनी पोजेटिभ भैसकिन् ।’ प्रेमिकालाई खुसी बनाउन मुक्तिनाथ बेला–बेला पैसा दिन्थे । पछि उनले दिएको पैसाको ग्राफ बढेर ५५ हजारबाट उकालो लागिसकेको थियो । पछि त्यही ५५ हजार एलिशा हत्याको धेरै कारणमध्ये एउटा कारण बन्न पुग्यो ।
‘केटाको पृष्ठभूमि आपराधिक खालको देखिन्छ’ घटनाको अनुसन्धानमा संलग्न महानगरीय अपराध महाशाखाका डिएसपी दीपक रेग्मीले भने, ‘केही समयअघि रामेछापमा भएको आगलागी मुद्दामा भक्तपुरको ठिमीबाट पक्राउ परेर एक लाख पचास हजार धरौटीमा छुटेको प्रहरी रेकर्डमा भेटियो ।’ उनी आगलागीमा मात्र मुछिएका थिएनन्, मुक्तिनाथ संलग्न चोरिएको एउटा केस छलफलमा मिलाइएको थियो ।
पानी फ्याक्ट्रीमा पनि आचरण ठीक नभएको कारण देखाएर उनलाई साहुले कामबाट निकाली दिए । रामेछापको ओख्रेनी स्थायी घर भएका मुक्तिनाथ भक्तपुरको बोडेमा बस्थे । ओख्रेनीको विश्वकर्मा परिवारले बोडेमा सानो घर बनाएको थियो । दलित परिवारमा जन्मेका मुक्तिनाथ आफूलाई लामिछाने भनेर चिनाउँथे । छोटो समयमै पानी फ्याक्ट्रीको जागिरबाट हात धुनुपरेपछि मुक्तिनाथ बोडेस्थित घरमै गएर बस्न थाले ।
यता एलिशासँग फोनफान र जाउ–आउ चलि नै राख्यो । मुक्तिनाथ फुर्सदिला थिए, एलिशा समय मिलाउँथिन्, पाँच महिनाको बीचमा उनीहरू कम्तिमा तीन पटक फिल्म हेर्न पुगेका थिए । त्यतिन्जेल मुक्तिनाथ सोच्थे, ‘एलिशा मेरी भैसकिन् ।’ यहीँनेर मुक्तिनाथले सोचेको कुरा गलत हुन पुग्यो । एलिशा उनको भैसकेकी थिइनन् । अर्का युवा श्याम श्रेष्ठसँग उनको नयाँ प्रेम सुरु भएको थियो । गएको दसैं अगाडि श्याम र एलिशाको नयाँ सम्बन्ध मुक्तिनाथले थाहा पाए । त्यसपछि सुरु भएको प्रेम–पीडाले उनको मुटु घोच्न थाल्यो ।
‘आफूले पैसासमेत दिने गरेको केटी अर्कैसँग लागेका कुरा मुक्तिनाथ असह्य भएको देखिन्छ’ डिएसपी रेग्मी भन्छन्, ‘गएको १२ कात्तिकमा एलिशाले विदेश जाँदैछु भेट्न आउँछु भनेर केटालाई चावहिल बोलाएकी थिइन्, त्यही दिन उनको हत्या भयो !’ यसरी एउटा छोटो प्रेम कहानीको दर्दनाक अवशान भयो ।
५) ‘डाक्टर सा’पहरू प्रहरी खोरमा !
‘डिआइजी साप, मेरो श्रीमान्लाई चाँडै छाडिदिनुस नँ, भोलि मेरो युएसएको फ्लाइट छ, सानो बच्चा कसलाई छाडेर जानु ?’ ६ असार २०७३ मा केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख डिआइजी नवराज सिलवाललाई भेट्न पुगेकी डा. निलम आचार्य आफ्नो श्रीमान्को मुद्दा चाँडै टुंग्याइदिन आग्रह गर्दै थिइन् ।
अघिल्लो दिन ब्युरोको हिरासतमा रहेका उनका श्रीमान् बोदित आचार्य नक्कली सर्टिफिकेटधारीको आरोपमा पक्राउ परेका थिए । आचार्य पुरानो बानेश्वरको केयर डेन्टल क्लिनिकमा काम गर्थे । ‘क्लिनिकमा आउनेहरू सोध्छन् डा’साव कता जानुभो ?’ उनले थपिन्, ‘बाहिर जानुभएको छ एकदुई दिनमा आउनुहुन्छ भनेर टार्ने गरेकी छु, यसरी कत्ति दिन टार्नु ?’
यस्तो छट्पटी निलमलाई मात्र भएन्, २०७३ सालमा ३६ भन्दा बढी डाक्टर र तिनका परिवार ‘नक्कली डाक्टरको’ ट्याग लागेपछि छट्पटीकै बीचमा जिउन बाध्य भए । विभिन्न दस जिल्लाबाट केन्द्रीय अनुसन्धान ब्युरोले एकैपटक ३६ डाक्टर नियन्त्रणमा लिँदा समाजमा ठूलै हलचल मच्चियो । घाउ लिएर अस्पताल पुग्नेहरू सोच्न थाले, ‘कतै मेरो स्वास्थ्य जाँच गर्ने डाक्टर नक्कली त हैन ?’
यसरी मर्यादित पेसाको दुरुपयोग गरेर ठगी गर्ने ३६ जना
डाक्टरहरूविरुद्ध सिआइबीले ठगी मुद्दा दर्ता गरेर अनुसन्धान गरेको थियो । अहिले उनीहरू धरौटीमा छुटेपछि मुद्दा फैसला भइसकेको छैन । कसुर प्रमाणित भएका डाक्टरहरू पाँच वर्ष जेल बस्नेछन् ।
६ ) प्रतिष्ठित नै ठग, प्रेम
कटुवालदेखि केदारबाबुसम्म !
कराँते महासंघको महासचिव केदारबावु शिवाकोटी २०७३ जेठ पहिलो साता पक्राउ परे । नेपाल प्रहरी र आर्मीका अफिसरको बारेमा कुरा गर्ने शिवाकोटीको दर्जनौं न्यायाधीश र सिडीओहरूसँग कुनै न कुनै साइनो थियो । आफूलाई सधँै ब्यस्त देखाउने तिनै खेल पदाधिकारीले बाराका प्रकाश श्रेष्ठलाई राष्ट्रिय अुनसन्धानको असइ बनाइदिन्छु भन्दै सात लाख ५० हजार ठगेपछि प्रहरीको फन्दामा परेका शिवाकोटीले ‘जिल्ला अदालत काठमाडौंका न्यायाधीशलाई मिलाइदिन्छु’ भनेर एक लाख ८० हजार तथा
पूर्वसभासद् किरण राईको भाञ्जासँग २० लाख ठगेको खुलेको थियो ।
त्यतिमात्र हैन उनले जिमको वल्र्ड च्याम्पियनसीपमा पहिलो नेपाली महिला सहभागी निर्मला खड्काको भाइ नीलकण्ठ महर्जनको रेप केस मिलाइदिन्छु भनेर एक लाख ८० हजार ठगी गरेको उजुरी महानगरीय प्रहरी परिसर काठमाडौंमा परेका थियो । शिवाकोटी मात्र हैन, प्रतिष्ठित मेनपावर व्यवसायीको रूपमा कहलिएका प्रेम कटुवालसमेत यसवबर्ष प्रहरीको खोरमा सुत्न बाध्य भए ।
गत फागुनमा फेसबुकमार्फत दर्जनौं महिलालाई ठगी गरेको आरोपमा कटुवाललाई महानगरीय अपराध महाशाखा टेकुले पक्राउ गरेको थियो । उनले अधिकांश विवाहित तथा श्रीमान् विदेशिएका महिलाहरूलाई फेसबुकबाट विदेशी नागरिकको नामबाट साथी बनाएर उपहार पठाउने नाममा ठगी गर्ने गरेका थिए ।
७) श्यामसुन्दरसँग फिरौती, राधिकाको हत्या
धादिङबाट काठमाडौं छिरेकी राधिका श्रेष्ठको डेरा कालिमाटीमा थियो । जिन्दगीलाई प्रगतिको शिखरमा लैजाने अठोट लिएर काठमाडौं आएकी राधिकाले लामै मेहनतपछि मखन गल्लिस्थित ‘न्यु डालिज साडी एन्ड साडी सन्सार’ मा जागिर पाइन् ।
जागिर खान कालिमाटी हुँदै मखन गल्ली जाने बाटोमा एउटा मोबाइल रिपेयरिङ पसल थियो । एकदिन बिग्रेको मोबाइल बनाउने क्रममा त्यो पसलमा छिरेकी राधिकालाई के थाहा मोबाइल पसलेसँगै माया बस्ने कुरा ! करिब तीन वर्षअघि आफ्नो मोबाइल पसलमा आएकी राधिका र प्रकाश लामिछानेको आँखा जुध्यो । अन्ततः पहिलो हेराई प्रेम बीजको रूपमा अंकुराउन थाल्यो । यसरी दुई वर्ष अघिदेखि अंगालेमा बाँधेका मोबाइल पसले प्रकाश लामिछानेले तिनै राधिकालाई प्रयोग गरेर व्यापारी अपहरणको योजना बनाए ।
प्रकाशले अपहरणको निशाना यस्तो व्यापारीमाथि लगाए, जो राधिकाकै साहुजी थिए,
श्यामसुन्दर अग्रवाल । राधिका श्यामसुन्दर अग्रवालकै स्टाफ थिइन, ‘न्यु डालिज साडी एन्ड साडी सन्सार’ उनको अफिस थियो ।
कुरा गएको ५ फागुनको हो । दिउँसो १ बजेतिर प्रकाशको योजनाअनुसार राधिकाले आफ्ना साहुजीलाई टेलिफोन गरेर ‘अर्जेन्ट काम छ’ भन्दै सुन्धारास्थित सन साइन होटलको ४०४ नम्बर कोठामा बोलाइन् । आफ्नै स्टाफले टेलिफोन गरेपछि श्यामसुन्दर सन् साइन होटल खोज्दै पुगे । होटलको कोठामा पुगेका साहुजीलाई राधिकाले सँगै रक्सी पिउने अफर गरिन् । रक्सीको केही चुस्की लिनासाथ राधिका र श्यामसुन्दर बसेको कोठामा प्रकाश लामिछाने, सरोज घोरसाइने र किशोर गिरी प्रवेश गरे । तीमध्येका प्रकाश लामिछाने राधिकाको प्रेमी थिए ।
तीन जना युवाले श्यामसुन्दरलाई कुटपिट गरे, हातखुट्टा बाँधेर मुखमा टेप लगाएर १० लाख ७० हजार रुपैयाँ फिरौती लिएर सोही कोठामा बन्धक बनाएर भागे । श्यामसुन्दर अग्रवाललाई प्रहरीले सोही साँझ सकुशल उद्धार गरेको थियो । तर प्रकाशसहितका युवाले अपहरणको योजना सफल भएपछि भक्तपुरस्थित बागेश्वरी–४ मा लगेर तिनै राधिका श्रेष्ठको बीभत्स हत्या गरे ।
८) प्रहरी नै लुटेरा बनेर सुन कारखानामा पसेपछि . . .
२०७३ चैत तेस्रो साता काठमाडौंको मरुहिटीस्थित एउटा सुन बनाउने कारखानामा एक हुल मान्छेहरू प्रवेश गरे । तीमध्ये केहीले प्रहरीको वायरलेस सेट, हत्कडी र पेस्तोल बोकेका थिए । काठमाडौं महानगरपालिका–१९ मरुहिटीस्थित प्रेमरत्न शाक्यको पाँच तले घरको पहिलो तलामा भारतीय नागरिक शिव माइतीले सञ्चालन गरेको सुन कारखाना प्रवेश गरेका ६ जना व्यक्तिहरूमध्ये एउटाले भने, ‘केहो साहुजी, तस्करीको सुन बेच्ने ? हामी प्रहरी हौं !’
हत्कडी बोकेका र पेस्तोल भिरेका मान्छेलाई प्रहरी होइनन् भनेर अविश्वास गर्नु पनि कसरी ? शिव माइती लल्याक लुलुक भइहाले । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा कार्यरत प्रहरी हबल्दार
बलबहादुर थापा, जवानहरू जनक ढकाल र अमित गुरुङसहितका ६ जना लुटेरा समूहले उक्त कारखानाबाट ५० तोल सुन लुटे, अनि प्रहरीकै रवाफ देखाएर हिँडे ।
राज्यको बर्दीमा रहेका प्रहरी अधिकारी नै लुटपाटमा संलग्न भएको घटना यो मात्रै हैन, गत माघमा व्यापारी अपहरणपछि फिरौती लिने कार्यमा संलग्न दुईजना प्रहरीका सईलाई अपराध महाशाखाले नियन्त्रणमा लिएर कारावाही गरेको थियो । यसरी २०७३ सालमा एसएसपीदेखि हबल्दारसम्म विभिन्न अपराध कर्ममा संलग्न भएको आरोपमा पक्राउ परे, अनि हिरासतमा बस्न बाध्य भए ।

प्रतिक्रिया