लन्डन । अमेरिकी सेनाले अफगानिस्तानमा हालसम्म कै सबैभन्दा शक्तिशाली गैरपरमाणु बम प्रहार गरेको छ । यो बम इस्लामिक स्टेट समूहविरुद्ध रहेको पेन्टागनले जनाएको छ । बम अहिलेसम्म कुनै पनि द्वन्द्वमा प्रयोग गरेमध्येको सबैभन्दा शक्तिशाली रहेको दाबी गरिएको छ । उक्त बमको शक्ति ११ टन टिनटीबराबर भएको बताइएको छ । ‘मदर अफ अल बम्स’ भनिने उक्त बम इस्लामिक स्टेटले प्रयोग गर्ने गुफाहरूलाई लक्षित गरी पूर्वी अफगानिस्तानको नांगहार प्रान्तमा खसालिएको थियो । एक जना स्थानीय गभर्नरले विस्फोट भएको ठाउँमा निक्कै उचाइसम्म आगोको ज्वाला देखिएको बताएका छन् ।
बीबीसीका अनुसार अमेरिकी विमानमार्फत अफगानिस्तानको नांगहार प्रान्तस्थित आचिन जिल्लामा झन्डै नौ मिटर लामो उक्त बम खसालिएको थियो । पाकिस्तानी सीमा नजिकस्थित गुफैगुफा रहेको उक्त दुर्गम पहाडी क्षेत्रमा पातलो मानवबस्ती रहेको बीबीसीले जनाएको छ ।
ह्वाइट हाउसका प्रवक्ता सन स्पाइसरले भने, ‘हामीले सुरुङ र गुफाहरूलाई निशाना बनायौँ जुन इस्लामवादी जिहादीहरूले निर्वाध हिँडडुल गर्न प्रयोग गर्थे र त्यहाँ लुकेर अमेरिकी तथा अफगान फौजलाई आक्रमण गरिरहन्थे । अमेरिकाले इस्लामिक स्टेटविरुद्ध लडाइँलाई गम्भीरतापूर्वक लिएको छ र उनीहरूलाई पराजित गर्न उनीहरूको क्षमता कमजोर बनाउनैपर्छ ।’ बिहीबार स्थानीय समय साँझको साढे सात बजेतिर प्रहार गरिएको उक्त बम विस्फोनको आवाज दुई वटा छिमेकी जिल्लामा सुनिएको जनाइएको छ ।
अमेरिकी अधिकारीले विस्फोटको परिणामबारे केही बताएका छैनन् तर एक जना स्थानीय अधिकारीले एक जना जिहादी नेताका भाइसहित दर्जनौँ मारिएको बीबीसी पस्तोलाई बताएका छन् । एकदमै ठूलो र भूउपग्रह प्रणालीबाट निर्देशित उक्त बम कुनै पनि फौजी कारबाहीमा पहिलो पटक प्रयोग गरिएको ठानिएको छ । विशेष किसिमको विमानबाट प्यारेसुटमार्फत खसाइने उक्त बमले ठूलो भूभागमा विस्फोट गराउने सामथ्र्य राख्छ ।
बीबीसीका रक्षा तथा कूटनीतिक संवाददाता जोनाथन मार्कस भन्छन्, ‘अफगानिस्तानमा प्रहार गरिएको बम अमेरिकी सेनासँग भएको सबैभन्दा शक्तिशाली परम्परागत किसिमको हतियार हो ।’
उनका अनुसार ट्रम्प प्रशासनको अफगानिस्तान नीति अझै पनि विचाराधीन छ तर पछिल्लो आक्रमणले इस्लामिक स्टेटका जुनसुकै स्थानमा रहेका निशानामा आक्रमण गर्न अमेरिका तत्पर रहेको शक्तिशाली सन्देश दिएको छ ।
अफगानिस्तानमा रहेका अमेरिकी फौजका कमान्डर जनरल जन निकोलसनले इस्लामवादी जिहादीविरुद्धको लडाइँलाई तीव्र पार्न उक्त बम ‘सही हतियार’ भएको बताए । अफगानिस्तानको राष्ट्रपति कार्यालयका एक जना प्रवक्ताले सो विस्फोटले ठूलो क्षति गराएको जनाएका छन् ।
तर पूर्वराष्ट्रपति हमिद कारजाइले उक्त बमको प्रयोगलाई अमानवीय भन्दै निन्दा गरेका छन् । उनले अमेरिकाले अफगानिस्तानलाई प्रयोगशाला बनाएको भन्दै अमेरिकालाई रोक्न अफगानहरू नै लाग्नुपर्ने धारणा व्यक्त गरे ।
मदर अफ अल बम्स कति शक्तिशाली ?
सन् २००३ मा फ्लोरिडामा एमओएबीको परीक्षण गरिएको थियो । जिबियु (फोरथ्रीरबी म्यासिभ अर्डनेन्स एअर ब्लास्ट बम (एमओएबी) प्राविधिक नाम रहेको उक्त बमलाई सैनिक भाषामा ’मदर अफ अल बम्स’ अर्थात् सबै बमहरूकी माताको संज्ञा दिइएको छ ।
पछिल्लो हमलाको निशाना अचिन जिल्लाको विकट पहाडी भूभागमा रहेका इस्लामिक स्टेट भनिने आइएस विद्रोहीले प्रयोग गर्ने गुफाहरूको सञ्जाल रहेको बताइएको छ । गैरपरमाणु हतियार भएकाले एमओएबीको प्रहार गर्नका लागि अमेरिकी राष्ट्रपतिको स्वीकृति लिइरहनु पर्दैन ।
कसले प्रहार गर्छ एमओएबी ?
यो एकदमै विशाल हतियार हो जसको उचाइ ३० फिट र र तौल ९८ सय किलो रहेको छ । भूउपग्रह प्रणाली जीपिएसबाट निर्देशित हुने यो बम एमसी वान थ्री जिरो नामक सामान बोक्ने विमानको कार्गो राखिने स्थानको ढोकाबाट खसालिन्छ ।
जमिनलाई छुनु थौरै अघि यो बम विस्फोट हुन्छ । विमानबाट एमओएबीलाई खसाल्ने क्रममा त्यसलाई एउटा अड्याउने वस्तुमा राखेर बाहिर फ्याँकिन्छ । उक्त बमलाई विशेष प्रकारको प्यारासुटको प्रयोग गरी स्थिर बनाइन्छ र तोकिएको स्थानमा प्रहार गरिन्छ । यसको मूल प्रभाव भयंकर विस्फोटका तरंग हुन् ।
१८ हजार पाउन्ड अर्थात् ८१ हजार केजीभन्दा बढी टिएनटी क्षमताका कारण प्रत्येक दिशामा १ माइल दूरीसम्म विस्फोट हुने बताइन्छ । सो बमको बाहिरी भागमा रहेको पातलो अल्मुनियमको पत्र विस्फोटको शक्ति बढाउने गरी विशेष किसिमले डिजाइन गरिएको हुन्छ । उक्त बमले जमिनमुनि रहेका संरचना र सुरुङहरूलाई क्षति पु¥याउने सामथ्र्य राख्छ ।
इराक युद्धका लागि बनाइएको उक्त बमको निर्माण लागत झन्डै एक करोड ६० लाख डलर प्रति बम रहेको छ ।उक्त बमको परीक्षण सन् २००३ मा गरिएको थियो तर अहिलेसम्म त्यसलाई कहिल्यै पनि प्रयोग गरिएको थिएन । तर अझै पनि एमओएबी अमेरिकी सेनाको सबैभन्दा शक्तिशाली गैरपरमाणु बम भने होइन ।
म्यासिभ अर्डनेन्स पेनिट्रेटर भनिने एमओपी साढे तेह्र टनभन्दा बढी क्षमताको बम अमेरिकाले बनाइसकेको छ ।
फादर अफ अल बम्स
रुसले पनि आफ्नै पराम्परागत प्रकृतिको शक्तिशाली बम बनाएको छ, जसलाई उसले ‘फादर अफ अल बम्स’ (एफओएबी) अर्थात् बमहरूको पिता भन्ने गर्छ । एफओएबी इन्धन र वायु मिश्रित बम हो जसलाई थर्मोबेरिक अस्त्र पनि भन्ने गरिन्छ ।थर्मोबेरिक बम दुई चरणमा विस्फोट हुन्छ । पहिलो विस्फोटले विस्फोटक पदार्थहरू छरपस्ट पार्छ । ती पदार्थ दोस्रो चरणमा पड्कन्छन् । त्यसले विनाशकारी चापयुक्त तरंग सिर्जना गर्छ ।
एमओएबीजस्ता बमको मूल प्रभाव भनेको त्यसले पार्ने मनोवैज्ञानिक असर ठानिन्छ । भयंकर शक्तिशाली विस्फोटका कारण सिर्जना हुने त्रासले शत्रुमाझ अत्यन्त ठूलो प्रभाव पार्ने यसको उद्देश्य हुन्छ । वन क्षेत्रलाई सम्याएर हेलिकोप्टर अवतरण गर्ने स्थान निर्माण गर्न प्रयोग गरिने बीएलयू एटिटु डेजी कटर र त्यस्तै प्रकृतिका अस्त्रहरूको प्रयोगपछि एमओएबीको विकास गरिएको हो । एलाबामामा रहेको एरोनटिक्स कम्पनी डाइनेटिक्सले सबैभन्दा पहिला एमओएबी बम बनाएको हो ।
प्रतिक्रिया