पारसमणीले ल्याए ‘पारसमणी–३’

paras mani
काठमाडौं । गीतकार पारसमणि बरालले ‘पारसमणि–३’ नामक एल्बम श्रोतामाझ ल्याएका छन् । राजधानीमा बुधबार आयोजित कार्यक्रममा एल्बमको संगीतकार शक्ति बल्लभ, गायक सुमित खड्का, गीतकार बराल, हास्य कलाकार तथा निर्देशक दीपाश्री निरौला, सञ्चारकर्मी मनोहरि थापालगायतले विमोचन गरे । एल्बमका संगीतकार बल्लभले पारसमणिका अघिल्ला एल्बममा झैँ नयाँ एल्बममा पनि कर्णप्रिय गीत प्रस्तुत गरिएको बताए । गायक सुमितले ‘तिमीलाई बाटो छेकी’ बोलको गीत गाउँदा एल्बममा प्रेमभावका गीत रहेको जनाए । गीतकार बरालले पनि गीतका बारे चर्चा गरेका थिए ।
कलाकार तथा निर्देशक दीपाश्रीले एल्बमलाई श्रोताले मनपराउने विश्वास व्यक्त गरिन् । एल्बममा ‘तिमीलाई बाटो छेकी रुवाएको’, ‘तिम्रो प्रेमको माला लाउँदा’, ‘हत्केलामा कोरिएका भाग्यरेखालाई’, ‘गहभरी आँशु आए’, ‘बुझ्नेलाई बुझाउन इसारा नै काफी’, ‘तिमी वर म चाहिँ पर कुन ठाउँ घर’, ‘आफ्नै माया बिर्सिएर’बोलका गीत छन् । गीतमा सुमितसँगै पारसमणि र शक्ति बल्लभको पनि स्वर छ । एल्बमलाई स्पार्क इन्टरटेनमेन्टले बजारमा ल्याएको हो ।

प्रतिक्रिया