धनगढीका रिक्साचालकहरू विस्थापित

kailali

धनगढी । रिक्सा चलाएर घर खर्चको जोहो गर्दै आएका यहाँका मजदुरहरू अहिले समस्यामा परेका छन् । समय परिवर्तनसँगै धनगढी बजारमा नगर बस सञ्चालनमा आएपछि केही ओरालो लागेको परम्परागत रिक्साको व्यापार पछिल्लो समय विद्युतीय रिक्सा बजारमा आएपछि त ठप्पै भएको छ । केही वर्ष पहिला धनगढी बजारमा जताततै परम्परागत (तीन चक्के) रिक्सा मात्र थिए । धनगढी सहरभित्र अरू कुनै यातायातका साधन थिएनन् । तीनै परम्परागत रिक्सामा मानिसहरू धनगढी नगर तथा धनगढी नगरपालिकासँग जोडिएको भारतीय छिमेकी बजार गौरीफन्टा बजारसम्म पुग्ने गर्दथे ।
केही समय पहिला सुदूरपश्चिम यातायात बस व्यवसायी समितिले धनगढी नगर क्षेत्रमा नगरबस सञ्चालन गरेको थियो । केही समयमै लोकप्रिय बनेको नगर बस सेवा केही समयपछि बिस्तारै हराउँदै गयो ।
नगर बसको लोकप्रियता हराउनुमा चालकको लापरवाहीलाई दोष दिइएको छ । सुदूरपश्चिम कै प्रमुख व्यापारिक केन्द्रको रूपमा रहेको धनगढी बजारमा नगर बसका कारण दुर्घटना बढ्न थालेपछि सर्वसाधारणको विरोधसँगै नगर बस विस्थापित भए ।
धनगढी बजारमा अहिले परम्परागत रिक्सा र नगर बस आक्कलझुक्कल देखिन्छन् । धनगढी बजारमा अहिले विद्युतीय रिक्साको सेवा लोकप्रिय बनेको छ भन्दा फरक नपर्ला । नगर बसले रिक्साले भन्दा निक्कै कम भाडा लिने गरेको थियो । नगर बस अहिले अत्तरिया–धनगढी, धनगढी–फूलबारीलगायत रुटमा चल्ने गरेका छन् । विद्युतीय रिक्साले अहिले त्रिनगर भन्सारदेखि क्याम्पस रोडसम्मको भाडा ३० रुपैयाँ लिन्छ भने दुई वर्ष पहिला नै रिक्साले ५० रुपैयाँ भाडा लिने गर्दथे । हुनतः विद्युतीय रिक्सा भन्दा परम्परागत रिक्सामा बढी कडा परिश्रम गर्नु पर्दछ । तर, आमउपभोक्ताले त्यो हेर्दैन कसले सस्तो र सुलभ सेवा दिन्छ त्यो नै हेर्दछन् । यति मात्र होइन रिक्साले यात्रुसँग तोकिएको भाडाभन्दा बढी लिने गरेको गुनासो छ ।
भारतको गौरीफन्टाबाट धनगढी चौराहसम्म रिक्सा व्यवसायी युनियनले ५० रुपैयाँ भाडादर तोकेको भएता पनि रिक्सा चालकहरूले मान्छे हेरेर चार सयदेखि पाँच सय भारुसम्म लिने गरेको पाइएको छ । धनगढी बजारमा समेत मान्छे हेरेर उनीहरूले भाडा असुल्ने गरेको थिए । मुख्य मुख्य रोड र सजिला रोडबाहेक भित्री सडकमा रिक्सा नजाने भएकाले पनि यात्रु रिक्सा चढ्न छोडेका हुन् । कहीँ कतै फाटफुट रूपमा परम्परागत रिक्सा गुडेको देखिएता पनि सवारी बोकेको भने निक्कै कम देख्न पाइन्छ । यात्रु चढ्न छाडेपछि रिक्सा चलाएर दैनिक जीविका चलाउनेहरू निक्कै समस्यामा परेका छन् । उनीहरूले अर्काको रिक्सा भाडामा लिएर चलाउने गर्दछन् ।
रिक्सा चलाएर आएको पैसाबाट कतिपयले घरघडेरी जोड्नेदेखि छोराछोरीलाई बोर्डिङ स्कुल पढाउने र घर खर्चसमेत चलाउने गरेका थिए । अहिले त्यो सबै बन्द भएको उनीहरूको गुनासो छ । विद्युतीय रिक्सा किनेर चलाउनेहरूले राम्रै आन्दानी गर्ने गरेका छन् । केही परम्परागत रिक्साचालक अहिले धनगढीबाट पलायनसमेत भएका छन् । उनीहरूमा भारतमा गएर खेती मजदुरीलगायत काममा लागेका छन् ।

प्रतिक्रिया