९३ हजार डलरसहित पाइलट पक्राउ

Subarna-Awale
काठमाडौं । नेपाल एअरलाइन्सको जहाज आइतबार राती युएईका लागि उड्ने तयारी गर्दै थियो । जहाजका वरिष्ठ पाइलट सुवर्ण अवालको टिमले युएईसम्म लैजाने जिम्मेवारी पाएको थियो । वरिष्ठ पाइलट सुवर्ण अवाल नेतृत्वको टिम विमानस्थलभित्र छिर्छन् । उनीहरू हिँड्ने बाटो यात्रुको भन्दा अलि फरक छ ।
पाइलटहरूलाई धेरै जाँच नभए पनि उनीहरूले बोक्ने गरेको लगेज एक्सरे मेसिनमा हालेर चेक गर्नुपर्ने प्रावधान छ । त्यो नै उनीहरूका लागि गर्ने ठूलो जाँच हो । आफ्नो टिमको सबैभन्दा अघि अवाल नै थिए । पछिपछि अन्य सहयोगीहरू थिए ।
अवालको हाते झोला (ह्यान्डक्यारी) मा केही शंका लागेपछि प्रहरीले उनलाई झोला खोल्न आग्रह गर्छन् । निकैबेर आनाकानी गरेका अवालले झोला खोल्दा प्रहरीले डलर देख्छ । डलर झोलामा डलर नछोपी मिलाएर राखिएको थियो । त्यसबीचमा झोला खोली हेर्दा ठूलो मात्रामा तस्करी हुन लागेको अमेरिकी डलर बरामद गरिएको विमानस्थलका एसएसपी प्रेम चन्दले बताए ।
अवालको झोलामा ९३ हजार ६ सय अमेरिकी डलर भेटिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लियो । गौशाला प्रहरीमा पठायो । अवालको झोलामा ठूलो मात्रामा डलर भेटिएपछि अन्य विमान उडान सहयोगीहरूका लगेजमाथि पनि प्रहरीले कडा निगरानी बढाएको थियो तर भेटिएन । यसबीचमा कोही यात्रु जाँचको प्रक्रियामा थिए । कोही बोर्डिङ पास दिएर प्रतीक्षा कक्षमा बसिरहेका थिए । प्रहरीले अवाललाई पक्राउ गरिएको जानकारी नेपाल एअरलाइन्सलाई गरायो । एअरलाइन्सले तत्काल उनको सट्टामा पाइलट महेशमान डंगोललाई बोलाएर युएई पठायो । साढे ११ बजे उड्नुपर्ने जहाज केही बेर ‘डिले’ भएको थियो ।
युएईबाट सुन तस्करी गरेर नेपाल ल्याएको र सुन तस्करी गरेवापतको भुक्तानीका लागि उक्त डलर युएई लैजान लागिएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । ‘सुन तस्करहरूले डलर तस्करी गर्न पाइलट र विमान परिचारिकाहरू रोज्न थालेको सूचना पाएपछि प्रहरीले निगरानी थाल्दा पाइलट अवाल फन्दामा परेका हुन्’, एक उच्च प्रहरी अधिकारीले भने, ‘तस्करहरूले आफू सुरक्षित हुनका लागि पाइलट रोजेको हुन सक्छ, ।’
अवाल झन्डै ३० वर्षदेखि नेपाल एअरलाइन्समा कार्यरत थिए । उनी पहिला बोइङ उडाउँथे, पछि एअरबस आएपछि उनी त्यहाँ प्रमुख भएर गएका थिए । एअर बसको प्रशिक्षक पाइलटको तालिम लिन उनी केही महिनापछि फ्रान्स जाने तयारीमा थिए । यसअघि करिब २५ वर्षअघि सो एअरलाइन्सका पाइलट केके श्रेष्ठ दोहाबाट नेपाली जहाज लिएर आउँदा सुनको गहनासहित त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए । पक्राउ परेलगत्तै उनको जागिरसमेत गएको थियो । अवाललाई प्रहरीले सोमबारैै राजस्व अनुसन्धान विभागमा बुझाएको छ र अदालतले पाँच दिन थुनामा राखी अनुसन्धान गर्न आदेश दिएको छ ।

प्रतिक्रिया