फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा रसियाली प्रभाव

अमेरिकी अधिकारीले सन् २०१६ मा भएको राष्ट्रपतीय निर्वाचन अभियानमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा रसियाली हस्तक्षेप भएको भन्ने विषयमा अमेरिकी अधिकारीले अनुसन्धानलाई अघि बढाउन दवाव सिर्जना गरिरहेका वेला एटलान्टिक क्षेत्रका दुई शक्तिशाली मुलुकका अधिकारीले रसियाले फ्रान्सको मतदान प्रक्रियालाई पनि प्रभावित तुल्याउने प्रयास गर्नसक्ने चेतावनी दिएका छन् । फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा अति वामपन्थी, दक्षिणपन्थी र अति दक्षिणपन्थी सबैखालका उम्मेदवार क्रेमलिनसँगको सम्बन्धमा सुधार ल्याउने प्रतिबद्धतासहित चुनावी अभियानमा आफ्नो पक्षमा निर्वाचन परिणाम ल्याउन सक्ने देखेर नै होला कसरत गर्न थालेका छन् वा रसिया फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा हावी भएको छ ।
यस साताको सुरुमा अमेरिकी गुप्तचर सिनेट चयन समितिका प्रमुखले रसियामाथि फ्रान्सको मे ७ मा सम्पन्न हुने पहिलो चरणको मतदान प्रक्रियालाई प्रभावित पार्न खोजेको आरोप लगाए । सिनेटर रिचार्ड वरले सञ्चारकर्मीसँग भने, ‘सबैजनाको निर्णयका आधारमा म के भन्न सक्छु भने रसियालीहरू फ्रान्सको निर्वाचनमा मस्कोको अनुकूल प्रभाव सिर्जना गर्ने वातावरण मिलाउन तल्लीन छन् ।’ त्यसैगरी युरोपियन कमिसनका उप–प्रमुख फ्रान्स टिमरम्यानले पनि रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले अति दक्षिणपन्थी उम्मेदवार म्यारिनले पेनलाई सघाएर पछिल्लो समय कमजोर बनेको इयुलाई थप कमजोर पार्ने खेलमा लागेको आरोप लगाउँछन् ।
टिमरम्यानले स्पेनमा यसै साता भएको एक कार्यक्रमको सिलसिलामा पुटिनले किन युरोपका अति दक्षिणपन्थी समूहलाई सहयोग गर्दैछन् यसमा चनाखो रहनु आवश्यक छ भनेका थिए । पुटिनलाई युरोपमा अति दक्षिणपन्थी शक्तिलाई हात लिन सके युरोप कमजोर बन्न सक्छ र यसले युरोपलाई विभाजित बनाउँछ भन्ने विश्वास पनि भएको हुनसक्छ । यो रसियाका लागि केही सहज कसरत पनि हुनसक्छ । युरोप विभाजित बन्नु भनेको पुटिनको यस क्षेत्रमा प्रभाव बढ्नु हो अर्थात् युरोपको विवादले पुटिनलाई शक्तिशाली बनाउन सक्छ ।
हुन त इयुले दाबी गरेजस्तो फ्रान्सको मामिलामा कुनै हस्तक्षेप नभएको मस्कोको भनाइ छ । तर इयुका मध्यपन्थी पक्षधर इमान्युयल माक्रोनसँग लेपेनले निर्वाचन प्रक्रियामा मिलेर जान सक्ने बताइरहँदा फ्रान्सेली राष्ट्रपतीय निर्वाचनको अभियानमा रसियालाई निर्वाचनप्रक्रियामा हस्तक्षेपकारी भूमिकामा देख्नु स्वाभाविक पनि देखिन्छ । फ्रान्सेली पूर्वकूटनीतिज्ञ तथा युरोप फाउन्डेसनका अनुसन्धानकर्ता पियरे भिमनले फ्रान्सको अन्तर्राष्ट्रिय तथा राष्ट्रिय नीति दुवैमा रसियाको संलग्नताका संकेत (लक्षण) बढिरहेको विषयलाई पछिल्ला वर्षमा अस्वीकार गर्न नसकिने बताएका छन् ।
फ्रान्सेली राष्ट्रपतिको निर्वाचन अभियानमा रहेका प्रमुख पाँच अग्रणी उम्मेदवारमध्ये लेपेन कन्जरभेटिभ पार्टीका उम्मेदवार फ्रास्वाँ फिलन र कम्युनिस्ट पार्टीको समर्थन प्राप्त जाँ लुक मेलन्चनले रसियासँगकोे चिसो सम्बन्धलाई अन्त्य गर्दै अघि बढ्नुपर्ने बताउन थालिसकेका चर्चा व्यापक छ । उनीहरूले सन् २०१४ मा क्रिमियालाई रसियासँग जोडेपछि युक्रेनद्वारा लगाइएको नाकाबन्दी फुकुवालगायत अन्य सम्बन्ध सुधारका लागि रसियासँग सहकार्य गर्न चाहन्छन् ।
यी तीनै जनाले सिरियाली गृहयुद्धमा त्यहाँको सरकार विरोधि विद्रोहीविरुद्ध रसियाको हस्तक्षेपलाई फरक फरक तवरले समर्थन गरिसकेका छन् । तर म्याक्रोन र समाजवादी उम्मेदवार वोनोइट ह्यामनले भने
पुटिनविरुद्ध अविश्वास व्यक्त गर्दै रसियामाथि लगाइँदै आएको आर्थिक नाकाबन्दीलाई थप लम्ब्याउनुपर्ने मत व्यक्त गर्दै आएका छन् । उनीहरूले रसियालीहरूको समर्थनमा सिरियाली राष्ट्रपति बसर अल असद थप निर्दयी बन्दै आफ्नो विरोधमा आउने सिरियाली विद्रोहीलाई सिध्याउने अभियानमा लागेको जनाउँदै असदलाई सत्ताबाट हटाउनुपर्ने बताउँदै आएका छन् ।
यसमा पनि मंगलबार सिरियामा भएको भनिएको रासायनिक हतियारपछि विश्वले सिरियाको निन्दा गरेका छन् । भलै सिरियाले यस हमलामा आफ्ना सेनाले रासायनिक हतियार प्रयोग नगरेको जनाएको छ । रासायनिक हतियारको प्रयोग र सिरियामाथि अमेरिकी हवाई आक्रमण र यसको समर्थनमा विश्व समुदायबाट व्यक्त भएका विचारहरूले सिरियाप्रतिको रसियाको बलियो समर्थनलाई पनि व्यक्त रूपमा नभएपनि केही कमजोर बनाउने देखिएको छ । रसियाले पनि अप्रत्यक्ष रूपमा असदको पक्षमा विचार व्यक्त गरिसकेको छ । रसिया सिरियामा कमजोर बन्नु उसको विश्व समुदायमा पनि साख गिर्नु हो । यसको असर फ्रान्समा पनि देखिन सक्छ । कूटनीतिक कुशलता भएका रसियाली नेता पुटिनले सिरिया घटनालाई यो वा त्यो गर्दै सेलाउने र अमेरिकालाई सिरियाबाट फर्काउने विषय त्यति असम्भव पनि छैन । पछिल्लो समय पुटिनको अमेरिकी राष्ट्रपति ट्रम्पसँगको निकटताले सिरियामा अमेरिकी उपस्थितिलाई कमजोर तुल्याउन सक्छ ।
केही समय पहिले म्याक्रोनका सहयोगीले रसियाली राज्य सञ्चालित सञ्चारमाध्यमलाई खुला सीमा तथा आप्रवासीको पक्षपाती ३९ वर्षीया म्याक्रोनलाई हराउने ‘कलंकित अभियान’ चलाएको आरोप लगाएका थिए । एक मत सर्वेक्षणले ले पेनले नै म्याक्रोनलाई पछि पार्ने देखाएको छ । म्याक्रोनको समूहले म्याक्रोनको निर्वाचन अभियानका लागि निर्माण गरिएको वेबसाइटमा रसियाले साइबर हमला गरेको जनाएको छ । लेपेनको दलले सन् २०१४ मा रसियाली बैंकसँग ऋण लिएको भनी समाचारहरू आएका थिए । लेपेनले यो दाबीको खण्डन गर्दै यसलाई आधारहीन दाबी भएको जनाए ।
अप्रिल २ मा गते फ्रान्सको समाचार एजेन्सी एएफपीमा आएको एक समाचारमा रसिया फिलनलाई पुटिनको ‘साथी’ भनेर प्रमाणित गर्न इच्छुक भएको बताइएको थियो । उक्त समाचारमा रसियाली नेता पुटिनको सन् २०१५ मा एक लेवनानी अर्बपतिसँग भेट गराइदिएको प्रसंग पनि छापिएको थियो ।
रिपब्लिकन पार्टीका उम्मेदवार फिलनलाई सन् २०१६ को नोभेम्बरमा रसियाली राष्ट्रपति पुटिनले ‘धेरै सिद्धान्तवादी’ र ‘असाध्यै व्यावसायिक’ व्यक्तित्व भनी प्रशंसा गरेको चर्चाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचारमा निकै स्थान पाएको थियो । तर नयाँ वर्षको सुरुवातसँगै ६३ वर्षीय फिलनलाई पत्नीसँगको आर्थिक अनियमिततासम्बन्धी प्रकरणमा मुछेर फ्रान्सेली पत्रपत्रिकामा समाचार आए त्यसपछि भने रसियाली नेता पुटिनको समर्थन विस्तारै ४८ वर्षीय लेपेनप्रति देखियो ।
रसियाको लेपेनप्रतिको समर्थनले वर्तमान समाजवादी सरकारलाई पीडाबोध भएको छ । गत शुक्रबार फ्रान्सका विदेशमन्त्री जाँ मार्क आयरूल्टेले अहिलेसम्म फ्रान्सको राष्ट्रपति बन्ने वा कसले जित्छ भनेर निर्णय लिने हैसियत रसियालाई छैन भनी आक्रोश व्यक्त गरे । जुन स्वाभाविक पनि थियो । आयरूल्टले ‘कल्पनाको संसार’ मा रसियाले फिलनलाई अल्मलाएको बताए । उहाँले
लेपेनलाई ‘खतरनाक’ रसियामाथि भरोसा नगर्न सल्लाह दिए ।
जे होस्, फ्रान्सको राष्ट्रपतिका उम्मेदवारीको तारतम्य हेर्दा ‘कुटिल’ एवं शक्तिशाली नेता पुटिनलाई जसले रिझाउन सक्छ परिणाम उसैको पोल्टामा जाने प्रवल सम्भावना देखिएको छ । यद्यपि, निर्वाचनमा स्थानीय जनताको मतदानको निर्णय नै महत्वपूर्ण रहने हुन्छ । बाहिरी वातावरणले ठूलै असर पार्न नसक्न पनि सक्छ । विषेशगरी पश्चिमा मुलुक (युरोप) ले पूर्वी युरोपमा उत्तर एटलान्टिक सैनिक संगठन (नेटो) लाई ल्याएर रसियालाई उत्तेजित पारेको भन्ने फिलनको विश्वास छ ।
नेटोको पूर्वी युरोपमा भएको विस्तारसँगै इस्लामिक स्टेट (आइएस) विरुद्धको लडाइँमा पुटिन र असद सरकारसँगको सहकार्यले गर्दा फ्रान्समा समेत सन् २०१५ पछिका दिनमा कैयौं आतंकवादी हमला भएको फिलनको निष्कर्ष छ । लेपेनले आफू राष्ट्रपति बनेमा युरोपियन युनियन नै ‘अस्तित्वमा नरहने’ भन्ने विचार बारम्बार सुनिने गरेको छ । यसको अर्थ ले पेन पुटिनको ‘नेसनलिस्ट वल्र्ड भ्यू’ बाट प्रभावित छन् ।
पछिल्ला केही वर्षयता पुटिन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र
मोदीलगायत नेताहरूकोे विश्व राजनीतिमा देखिएको प्रभावले छिमेकी राष्ट्रहरूमा उनीहरूको प्रभाव बढ्दो देखिँदै आएको र फ्रान्समा पनि यसको असर परेको निष्कर्ष निकाल्दा टाढाबाट त्यहाँको राजनीति नियालिरहेका सवैलाई यथार्थ जस्तो लाग्नु स्वाभाविक हो ।

प्रतिक्रिया