मुस्लिम शिक्षामा अनुदान बढाउन जोड

madarsa

सुनसरी । ‘मद्रशा इस्लाहुल मुस्लिमिन’ पकलीको आयोजनामा इटहरीको पकलीमा आयोजना भएको दुई दिने मुस्लिम शैक्षिक सम्मेलन शनिबार सम्पन्न भएको छ । राज्यले खर्बौँ रुपयाँ शिक्षा क्षेत्रमा लगानी गर्दै आएको भए पनि मुस्लिम समुदायका बालबालिकाको शैक्षिकस्तरमाथि उकास्ने विषयमा भने ज्यादै कम ध्यान दिएकोमा सम्मेलनमा असन्तुष्टि व्यक्त गरिएको छ । सुनसरी जिल्लामामात्र झन्डै तीन लाख मुस्लिम समुदायको बसोवास रहेको र मुस्लिम बालबालिकाको अध्ययनका लागि यस जिल्लामा ८३ वटा मदरसाले शैक्षिक सेवा प्रदान गर्दै आएको छ । तर दुई अर्बभन्दा बढी शिक्षा क्षेत्रमा लगानी भए पनि राज्य पक्षबाट यस जिल्लाका मुस्लिम समुदायको शैक्षिक क्षेत्रमा भने ज्यादै कम सहयोग प्राप्त हुने गरेकोमा मुस्लिम नेताहरूले गुनासो गरेका छन् ।
सरकारको शिक्षा मन्त्रालयमार्फत यस जिल्लाको मदरसाका लागि न्यूनतम प्रतिमदरसा ५० हजारदेखि डेढ लाख रुपयाँसम्म सहयोग उपलब्ध हुँदै आएको र त्यो ज्यादै न्यून सहयोग भएको पनि मुस्लिम शिक्षकहरूको भनाइ छ ।
एक–एक मदरसा रहेको सुनसरी जिल्लाको जल्पापुर, रामनगर भुटाहा, भोक्राहा र सोनापुरजस्ता स्थानमा ठूला मदरसाहरूले मुस्लिम समुदायका बालबालिकाको शैक्षिक अवस्था उकास्न भरमग्दुर प्रयास गर्दै आएकोमा सरकारीस्तरबाट भने अपेक्षाकृत सहयोग प्राप्त नहुने गरेकाले न्यूनतम सहयोगलाई अधिकतम उपयोग गर्नु मुस्लिम समुदायको बाध्यता रहँदै आएको शैक्षिक सम्मेलनका वक्ताको भनाइ छ ।
इब्राहिम हुसैनको अध्यक्षतामा भएको कार्यक्रममा सांसद जाकिर हुसैन, मुस्लिम धर्मगुरु मौलाना गुलाम रसुल फलाही, नजुमल हसन फलाही, अब्दुल्लाह मक्ली र हैदर मदनीलगायतले मुस्लिम समुदायका बालबालिकाले शैक्षिक क्षेत्रमा राज्यले उपलब्ध गराउने सेवा सुविधा चित्तबुझ्दो बन्न सक्ने कुनै सम्भावना नरहेको गुनासो गरेका थिए ।

प्रतिक्रिया