काभ्रेकाको तीन गाँउ वातावरणमैत्री

काठमाडौं । काभ्रेको तीन स्थान वातावरणमैत्री गाउँका रूपमा स्थापित भएका छन् । वातावरणमैत्री क्रियाकलाप गर्दै त्यहाँका कृषकले जीविकोपार्जनसमेत गरेपछि त्यसलाई अझ प्रभावकारी बनाउन सरोकार भएकाले शुक्रबार आयोजित ‘इको भिलेज’ विकाससम्बन्धी कार्यशालामा जोड दिएका छन् ।
उनीहरूले वातावरणमैत्री कार्यक्रमलाई निरन्तररूपमा सञ्चालन गर्न आग्रह गर्दै वातावरणमैत्री जनजीवन दिगो बनाउन सबै अग्रसर हुनुपर्ने औँल्याए ।
जनसंख्या तथा वातावरण मन्त्रालयका सहसचिव डा.रामप्रसाद दाहालले वातावरण र जलवायु परिवर्तन गरिबी न्यूनीकरणसँग जोडिएको विषय भएको उल्लेख गर्दै सरकारको बजेट तथा कार्यक्रममा मूलप्रवाहीकरण आवश्यक भएको बताए ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको वातावरणमैत्री स्थानीय शासनका गुरु सुवेदीले खानेपानीको स्रोत, इनार संरक्षण, खानेपानीको मूल संरक्षणका लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरेको जानकारी दिँदै प्लास्टिक पोखरी विस्थापन गरेर प्राकृतिक पोखरी बनाउन जोड दिए । काभ्रको बेथानचोक गाउँपालिका च्याम्रेङ्बेँसीकी मखमलीमाया गोलेले वातावरणमैत्री कार्यक्रमअन्तर्गत जैविक विषादीको उत्पादन, फोहर व्यवस्थापन, तरकारी खेती, मत्स्यपालनलगायत कार्यक्रम सञ्चालन भएपछि त्यसले जनजीवनमा सकारात्मक प्रभाव परेको बताइन् ।
उनले भने, ‘पहिले हामीलाई कुनै विषयमा पनि जानकारी थिएन तर वातावरणमैत्री कार्यक्रम सञ्चालन भएपछि यसबाट दिगो लाभ लिएका छौँ । वातावरण विभागका केशवराज जोशीले ‘क्लाइमेट स्मार्ट भिलेज कार्यविधि–२०७३’ कार्यान्वयनको अवस्थामा आउन लागेको जानकारी दिए ।
ग्रामीण प्रविधि केन्द्रका सल्लाहकार लुमिन श्रेष्ठले ग्रामीण विकासमार्फत गरिबी न्यूनीकरण गर्नुका साथै ग्रामीण स्रोतको उपयोग र परिचालन गर्न र नीति निर्माणको तहमा वकालतको काम गर्न वातावरणमैत्री कार्यक्रमले सघाउ पुग्ने विश्वास व्यक्त गरे । काभ्रेको चलालगणेशस्थान, ढुंखर्क र च्याम्राङ्बेँसीमा दुई वर्षदेखि वातावरणमैत्री कार्यक्रम सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया