मोर्चाले जनतालाई अल्मल्यायो ः ओली

काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेसवादी दलले मधेसका जनतालाई अल्मल्याइरहेको आरोप लगाएका छन् । राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको २९औँ स्थापना दिवस तथा जनसांस्कृतिक पुरस्कार–२०७३ र जनसांस्कृतिक युवा पुरस्कार–२०७३ वितरण समारोहमामा उनले भने, ‘देशलाई संक्रमणकालबाट पार लगाउन तीन तहको निर्वाचन गर्नुको सट्टा मधेसवादी दलले जनतामाझ विभिन्न नचाहिने कुरा गरेर अल्मल्याइरहेका छन् ।’
ओलीले देशलाई प्रतिकूल अवस्थामा धकेल्ने प्रयास भइरहेको तर एमालेले देशलाई पछाडि फर्काउने प्रयासलाई सफल हुन दिँदैन भन्दै देश गरिब हुनुपर्ने कुनै कारण नभएको बताए । उनले केही व्यक्तिका कारण देश गरिब भएको उल्लेख गरे । ‘हिजोको चुनौतीजस्तो आजका चुनौती सजिलैसँग समाधान गर्ने खालका छैनन्’, उनले भने ‘पहिलेकोजस्तो अबका दिनमा अलिअलि गल्ती गर्नुहुँदैन, देश बनाउनका लागि गति बढाउनुपर्दछ ।’ कार्यक्रममा ओलीले संस्कृतिविद् शंकर पोखरेल मोरङलाई नगद २५ हजारको जनसांस्कृतिक पुरस्कार–२०७३ र १५ हजार राशिको जनसंस्कृति युवा प्रतिभा पुरस्कार युवा नाट्यकर्मी रवि कार्की म्याग्दीलाई प्रदान गरे ।

प्रतिक्रिया