यौनशोषणको आरोपमा शिक्षक पक्राउ

महोत्तरी । गौशाला नगरपालिका बजारमा ट्युसन पढाउने नाममा छात्रालाई यौनशोषण गर्दै आएको आरोपमा एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउपर्नेमा स्थानीय श्री जनता माध्यमिक विद्यालयमा तीन वर्षदेखि अंग्रेजी विषय पढाउँदै आएका शिक्षक गौशाला नगरपालिका– ३ का ३८ वर्षीय रामदुलार साह सोनार रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले बताए ।
शिक्षक साहले यसैवर्ष एसइइ दिई बसिरहेकी १६ वर्षीया छात्रालाई मंगलबार थप अध्ययन कक्षा तयारी गराउने नाममा गौशाला बजारस्थित आफ्नो डेरामा बोलाएर कोठाको झ्याल ढोका बन्द गरी अनैतिक क्रियाकलाप गरिरहेको एक विद्यार्थीले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
छात्रालाई शिक्षकले यौनशोषण गरेको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय गौशालाबाट प्रहरी निरीक्षक शम्भु पोख्रेलको नेतृत्वमा गएको प्रहरी टोलीले बन्द गरेको कोठा खोल्न लगाई सो छात्रालाई उद्धार गरेको थियो । छात्राको स्वास्थ्य जाँचका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाएको प्रहरी निरीक्षक पोखरेलले बताए । पीडित छात्रालाई यसअघि पनि शिक्षक साहले पटक÷पटक एक्लै बोलाएर ट्युसन पढाउने बहानामा यौनशोषण गरेको स्थानीयवासीले बताए ।
बुधबार पीडित छात्राको परिवारजनबाट शिक्षक साहविरुद्ध इलाका प्रहरी कार्यालय गौशालामा उजुरी परेको छ । प्रहरीले शिक्षक साहलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाइसकेको जनाइएको छ ।

प्रतिक्रिया