गच्छदारको पार्टी अब पाँचौँ शक्ति

काठमाडौँमा आयोजित पार्टी एकीकरण घोषणा कार्यक्रमको फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदार, जनमुक्तिका अध्यक्ष थापा र दलित जनजातिका अध्यक्ष लामाद्वारा संयुक्तरुपमा उदघाटन गर्दै । तस्बिर ः रोशन सापकोटा, रासस

काठमाडौँमा आयोजित पार्टी एकीकरण घोषणा कार्यक्रमको फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदार, जनमुक्तिका अध्यक्ष थापा र दलित जनजातिका अध्यक्ष लामाद्वारा संयुक्तरुपमा उदघाटन गर्दै । तस्बिर ः रोशन सापकोटा, रासस

काठमाडौं । संसद्को पाँचौं ठूलो दलमा पुनरागमन भएपछि लोकतान्त्रिक फोरमका अध्यक्ष बिजय गच्छदारले आउने चुनावमा तेस्रो पार्टी हुने घोषणा गरेका छन् । उनले आउने मंसिरमा हुने संसद्को चुनावमार्फत आफू प्रधानमन्त्री बन्नेसमेत घोषणा गरेका छन् । जनमुक्ति पार्टी लोकतान्त्रिक र दलित जनजाति पार्टीसँग एकीकरणपछि बुधबार आयोजित घोषणासभामा गच्छदारले ठूला पार्टीको तीव्र आलोचना गरे ।
उनले अब वैकल्पिक शक्तिका रूपमा नेपालमा लोकतान्त्रिक फोरम उदाउने दाबीसमेत गरे । गच्छदारले भने, ‘कांग्रेस र एमालेलाई पनि जित्ने लक्ष्य राखेर हामी गाउँ पस्नुपर्छ, यसपटक हामी तेस्रो शक्ति हुन सक्छौं । माओवादीले तेस्रो शक्तिको हैसियत कायम राख्न गाह्रो छ । राप्रपा एकीकरणसँगै फुटिसकेको छ, उसै पनि राप्रपा वैकल्पिक लोकतान्त्रिक शक्ति होइन ।’
चुनाव कसरी जित्नुपर्छ भन्ने अनुभव र योजना आफूसँग रहेको भन्दै गच्छदारले अब फोरम लोकतान्त्रिक हिमाल, पहाड र तराई सबैतिरको साझा पार्टी भएकाले तेस्रो शक्ति बन्ने आधार रहेको बताए । उनले अरू केही दलसँग पनि चाँडै एकीकरण हुने सुनाए । गच्छदारले भने, ‘अहिलेसम्मका सबै प्रधानमन्त्रीहरू असफल भए । ठूला दल असफल भइसकेका छन् । अब नेपाल लोकतान्त्रिक फोरमले सरकारको नेतृत्व गर्ने गरी चुनाव जित्नेछ । तपार्इंहरूले मलाई प्रधानमन्त्री बनाउने सपना देख्नुभएको छ, भगवान्को कृपाले म अझै १०÷१५ वर्ष सक्रिय राजनीतिमा हुनेछु । तपार्इंहरूको सपना र मेहनत सफल हुनेछ ।’
एकतापछि नयाँ पार्टीको नाम नेपाल लोकतान्त्रिक फोरम राखिएको छ र अध्यक्ष गच्छदार नै भएका छन् । गच्छदारले पार्टीको नामबाट मधेसी शब्द पनि हटाएका छन् । तर, निर्वाचन आयोगमा यसअघि नै दर्ता भइसकेकाले चुनावसम्म मधेसी जनअधिकार फोरम लोकतान्त्रिक नै रहने भएको छ । साथै तीनजना सांसदसहितका दुई पार्टीसँग एकीकरणपछि विजय गच्छदारको पार्टी फेरि संसद्को पाँचौँ ठूलो दल बनेको छ । फोरम लोकतान्त्रिकको १४, जनमुक्तिको दुई र दलित जनजातिको एक सांसद गरेर गच्छदारको पार्टीको १७ सांसद हुनेछ । यसअघि पाँचौं दल भए पनि संघीय समाजवादी र मधेसी जनअधिकार फोरम एकीकरण भएर १५ सांसद भएपछि गच्छदारको पार्टी छैटौँ भएको थियो ।

प्रतिक्रिया