बाख्रापालनमा नयाँ सामाजिक सञ्जालको प्रयोग

म्याग्दी । टेलिभिजन र इन्टरनेटजस्ता विद्युतीय सामाजिक सञ्जालको सहायता लिई सुरु गरेको बाख्रा तथा कृषि फार्म जिल्लाकै नमुना फार्म बनेको छ । बेनी नगरपालिका–२ गौश्वारका विराज मल्लले सञ्चालन गरेको सिद्धबराहा बाख्रा तथा कृषि फार्ममा नयाँशैली, प्रविधि र संरचनाको प्रयोग गरिएको छ ।
जाडो याममा फाइबर टिन र गर्मी याममा हावा छिर्ने झ््यालको प्रयोग गर्ने गरिएको छ । करिब ३० मिटर लम्बाइ र ५ दशमलव २ मिटर चौडाइ भएको खोरभित्र बाख्रा राख्ने ११ वटा कोठा रहेको छ । सो फार्मको अवलोकनका लागि जिल्लाभित्र र बाहिरबाट दैनिक कृषक आउने गरेका छन् । फार्मभित्र ब्याउने बाख्रा, भर्खरै ब्याएका, तीन महिना पुगेका पाठापाठी, सोभन्दा साना पाठापाठी, बोका, माउ बाख्रा बस्ने छुट्टाछुट्टै कोठाको व्यवस्था गरिएको मल्लले बताए ।
‘टेलिभिजन र इन्टरनेटमा विदेशका बाख्रा फार्म देखेको आधारमा सोही अनुसारको संरचना बनाएर बाख्रापालन गर्दै आएको छु,’ उनले भने । बाख्रामा कुनै स्वास्थ्य समस्या देखिए लक्षणको आधारमा इन्टरनेटमा उपचार विधिको बारेमा खोजी गर्ने र कृषि प्राविधिकसँग टेलिफोनमार्फत परामर्श लिने गरेको मल्लले सुनाए ।
प्रविधि र उपकरणको प्रयोगले मानवीय श्रम कम हुने तथा उत्पादन लागत घटाएर बढी मुनाफा गर्न सकिने मल्लको अनुभव छ । उनले बाख्रा, खसीबोका सामाजिक सञ्जाल फेसबुक र इन्टरनेटका माध्यबाट बिक्री गर्दै आएका छन् । उनको फार्ममा जमुनापारी, वित्तल र खरी जातका १ सय ५० वटा बाख्रा रहेका छन् ।
चार वर्षअघि २७ वटा बाख्राबाट फार्म सुरु गरेका मल्लले अहिले बाख्रा र खसीबोका बेचेर मासिक ५० हजार आम्दानी गर्दै आएका छन् । मल्लले बाख्रा फार्म स्थापना गर्न हालसम्म २५ लाख रुपैयाँ लगानी गरेका हुन् । उनको फार्ममा पाँच जनाले रोजगारीसमेत पाइरहेको उनले सुनाए ।

प्रतिक्रिया