बेइजिङ । आफूले इस्लामवादी उग्रवादी ठान्ने समूहविरुद्धको अभियानलाई बेइजिङले तीव्र बनाइरहँदा पश्चिम चीनको सिनजियाङ क्षेत्रमा नयाँ कानुन कार्यान्वयनमा ल्याइएको छ । उक्त कानुनले इस्लाम धर्म मान्ने उइगर जातिलाई असाधारण रूपमा ठूलो दाह्री पाल्न र सार्वजनिक स्थलमा अनुहार ढाक्ने गरी वस्त्र लगाउन प्रतिबन्ध लगाएको छ । अब उप्रान्त उइगर समुदायका केटाकेटीहरूले सरकारी विद्यालयमा नै अध्ययन गर्नुपर्नेछ ।
आलोचकहरूले नयाँ कानुनले आफ्नो थातथलोको संस्कृति जोखिममा परेकोमा डराइरहेका उइगर समुदायलाई थप एकल्याउने खतरा रहेको टिप्पणी गरेका छन् । सिनजियाङमा आफूलाई विभेद हुने गरेको बताउने उइगर समुदायका मुसलमानहरूको मुख्य बासस्थान हो ।
नयाँ व्यवस्थाहरूमा एकदमै लामो दाह्री पाल्न नदिने, सार्वजनिक स्थलमा मुख ढाक्ने गरी बुर्का सहितका कपडा लगाउन नमिल्ने र सरकारी टेलिभिजन हेर्न अस्वीकार गर्न नमिल्नेसहितका प्रावधान छन् । त्यसबाहेक बालबालिकालाई सरकारी विद्यालयमा पढाउनबाट रोक्न नमिल्ने, परिवार नियोजनका नीतिहरू पालना गर्नुपर्ने, धार्मिक मान्यताअनुसार मात्रै विवाह गर्न नहुनेजस्ता व्यवस्था राखिएको रोयटर्स समाचार संस्थाले जनाएको छ ।
यी प्रतिबन्धहरूलाई सिनजियाङका संसद्ले अनुमोदन गरेको र सरकारी वेबसाइटमा प्रकाशन गरिएको बताइएको छ । पछिल्ला वर्षहरूमा सिनजियाङमा हिंसात्मक झडपहरू भएका छन् ।
चीन सरकारले त्यसका पछाडि इस्लाम उग्रवादी र पृथकतावादीहरूको हात रहेको आरोप लगाउँदै आएको छ । तर अधिकारवादी समूहहरूले चाँहि विभेदकारी नीतिहरूका कारण त्यस्तो भएको र पछिल्लो कानुनले थप उइगरहरूलाई उग्रवादतर्फ धकेल्न सक्ने चेतावनी दिएका छन् । त्यस्तै प्रकृतिका प्रतिबन्धहरू सिनजियाङमा पहिलेदेखि नै लागू गरिएको भएपनि अहिले त्यसलाई कानुनी रूप दिइएको बताइएको छ । यसअघि नै चिनियाँ अधिकारीहरूले उइगरलाई राहदानी दिन कडाइ गर्नेलगायत प्रावधानहरू लागू गरिसकेका छन् । टर्किस मूलका उइगर मुसलमानहरूको संख्या सिनजियाङको कुल जनसंख्याको ४५ प्रतिशत रहेको बताइन्छ ।
प्रतिक्रिया