उपचारपछि घर फर्के लीला

 

झापा । १७ वर्षदेखि साङ्लोमा बाँधिएका बाह्रदशी गाउँपालिका–३ राजगढका १९ वर्षीय लीला चम्लागाईं उपचारपछि सोमबार घर फर्किएका छन् । मानसिक सन्तुलन गुमेपछि लीलालाई उनका परिवारले विगत १७ वर्ष वर्षदेखि घरमा साङ्लाले बाँधेर राखेका थिए । केही समयअघि लीला साङ्लोमा बाँधिएको समाचार प्रकाशन गरेपछि उनको विर्तामोडस्थित बिएन्डसी अस्पतालले निःशुल्क उपचार गर्ने घोषणा गरेको थियो । अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईं, मानसिक रोग विशेषज्ञ डा.सन्दीप बर्मा र सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद तिवारीलगायत टोलीले चम्लागाईंको घरमै पुगेर लीलालाई उपचारका लागि अस्पताल ल्याइएको थियो ।
१ चैतमा अस्पताल भर्ना भएका लीलाको सम्पूर्ण औषधि उपचार अस्पतालले निःशुल्क गरेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिष गिरीले बताए । दुई सातासम्म अस्पतालमा डा.बर्मासहितको चिकित्सक टोलीले उनको उपचारपछि सोमबार लीलालाई एक समारोहको आयोजना गर्दै घर फर्काइएको छ ।
सो अवसरमा उनको उपचारमा संलग्न चिकित्सक बर्माले लीलालाई अब साङ्लोले बाध्नु नपर्ने बताए । उनमा बुद्धिको विकास नभएको र छारे रोगका कारण यस्तो समस्या देखिएको भन्दै उनले केही समयसम्म लीलाले निरन्तर औषधि सेवन गर्नुपर्ने बताए ।
०५४ सालमा जन्मिएका लीला बाल्य अवस्थादेखि नै बोल्दैनथे । उनको दाहिँने हातसमेत नचल्ने र टोलाइरहने स्वभावका उनी अहिले सबै कुरा बुझ्नसक्ने भएको उनकी आमा जानुकाले बताइन् । उपचारपछि छोरो निको भएको भन्दै उनले उपचारमा सहयोग पु¥याउने सबैलाई धन्यवाद दिएकी छन् ।
अस्पतालका प्रबन्धनिर्देशक प्रसाईंले लीलाको उपचारमा लागेका सम्पूर्ण खर्च अस्पतालले नै बेहोरेको र अब लाग्ने सम्पूर्ण औषधिसमेत अस्पतालले निःशुल्क प्रदान गर्ने बताए ।

प्रतिक्रिया