स्कुल जानका लागि दैनिक चार घन्टा पैदल

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाको ठाडाखानीका विद्यार्थी मावि तहको शिक्षा हासिल गर्न दैनिक चार घन्टा हिँडेर पाखापानीको विद्यालयमा पढ्न जाने गरेका छन् । गाउँमै मावि तहको विद्यालय र छात्रावासको सुविधा नहुँदा ठाडाखानीका बालबालिका पाखापानीमा रहेको अमर माविमा पुग्ने गरेका हुन् ।
खोल्सा र वनजंगलको बाटोमा दुई घन्टा हिँडेर विद्यालय पुग्ने बालबालिकालाई घर फर्कनसमेत त्यतिकै समय लाग्ने गरेको छ । विद्यालय टाढा हुँदा आधारभूत तहको कक्षा आठसम्मको शिक्षा हासिल गरेका बालबालिकाले पढाइलाई निरन्तरता दिन नसकेको ठाडाखानीमा रहेको मालिका आधारभूत विद्यालयकी प्रअ खिममाया छन्त्यालले बताइन् ।
उनको अनुसार ठाडाखानीका करिब ३० विद्यार्थी कक्षा ९ र १० अध्ययनका लागि पाखापानी जाने गरेका छन् । ‘हुनेखानेहरू बेनी, पोखरा, काठमाडौंमा जान्छन्,’ प्रअ छन्त्यालले भने, ‘विपन्न र गरिब समुदायका बालबालिकालाई समस्या परेको छ ।’ बिहान आठ बजे विद्यालय हिँड्ने विद्यार्थी साँझ ६ बजे घर पुग्छन् । विद्यालय पुग्न र घर फर्कनै धेरै समय लाग्ने भएपछि गृहकार्य तथा घरमा अध्ययन गर्न नपाउने अवस्था रहेको विद्यार्थी प्रिया छन्त्यालले बताए ।
साविकको पाखापानी गाविस–५ र ६ मा पर्ने ठाडाखानी गाउँमा ९० घरपरिवारको बसोबास छ । अल्पसंख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको छ । छोराछोरी पढाउनका लागि १० घरपरिवारले बसाइँसराइ गरिसकेका छन् ।
ठाडाखानी, रायखोर, कुइनेको भिङखानीलगायत भौगोलिकरूपमा विकट र दुर्गम बस्तीका विद्यार्थीको सुविधाका लागि अमर माविमा छात्रावास स्थापना गर्न पहल गरिएको प्रअ युकुमार गर्बुजाले बताए । छात्रावास सञ्चालन गर्न भवनको व्यवस्थाका लागि पहल गरिएको छ ।

प्रतिक्रिया