विश्व प्रशिद्ध हलेसी मन्दिर क्षेत्रको व्यवस्थापन गर्न नसक्दा पर्यटक तथा तीर्थालुले सास्ती खेपिरहेका छन् । सरसफाइ, खानेपानी, सौचालय, स्नानगृह, धर्मशाला, पार्किङलगायतको सुविधा नहँुदा पर्यटक तथा तीर्थालुलाई समस्या भएको हो । पवित्र सोच राखेर लामोदुरीको यात्रपछि हलेसी आइपुगेका पर्यटक तथा तीर्थालुलाई मन्दिर क्षेत्रको सुविधाले खिन्नता आउने खोटाङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष खुसनारायण सैंजूले बताए ।
सुविधा सम्पन्न मन्दिर क्षेत्र बनाएर स–सम्मान पर्यटक तथा तीर्थालुलाई सत्कार गर्न सक्ने हो भने स्वर्गको अनुभूति हुन्थ्यो ।’ सैंजूले भने, ‘तर हलेसी क्षेत्रको व्यवहार र वातावरणले पर्यटक तथा तीर्थालु दिक्क भएर जान्छन् ।’ सैंजूले थपे, ‘यसप्रति सम्बन्धित निकायको चेत खुलेको छैन । हलेसीमा महँगीको पनि उत्तिकै समस्या छ । बल्लबल्ल आउने पर्यटक तथा तीर्थालुलाई मौकाको फाइदा उठाएर असुल्ने गरेको हलेसी विकास समितिमा पूर्वनिर्देशक तामन राईले बताए । ‘जसले जति लिन सक्छ लिने गरेका छन् ।’ राईले भने, ‘यसप्रति स्थानीय प्रशासनको ध्यान जान जरुरी छ ।’ आफ्नो कार्यकालमा यसको व्यवस्थापनमा जोड दिए पनि स्थानीय प्रशासनको असहयोगले सम्भव नभएको राईले सुनाए ।
त्यसो त हलेसी मन्दिर परिसर अतिक्रमण गरेर जथाभावी घर निर्माण गर्नुले पनि हलेसीको हस्तित्व नै संकटमा परेको छ । हलेसी गुफाको मुखैमा पक्की भवन निर्माणले कमलो चट्टानले बनेको गुफा कुनै पनि बेला भत्कने खतरा बढेको छ । यसबाहेक हलेसी मन्दिर क्षेत्रबाटै बनेको मध्यपहाडी लोकमार्गमै जोडाएर जथाभावि घर निर्माणले हलेसी व्यवस्थापनमा समस्या थपिदै गएको छ । राज्यले दिएको मुआब्जा लिएर मिचेर घर निर्माण गरिरहेकाले सिंगो राज्यलाई नै चुनौति दिइरहँदा पनि सम्बन्धित निकाय बेखबर बनेको हलेसी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गजुरमा राईले बताए ।
उसो त हलेसी महादेवको नाममा रहेको जग्गा आफ्नो नाममा ल्याएर किनबेचसमेत गरिएको छ । यसबारेमा गुणसंस्थानले ५३ कित्ता जग्गा रोक्का गरेर फिर्ता गर्ने पहल थालनी गरे पनि कार्यान्वयन हुन नसकेको हलेसी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राईले सुनाए । पूर्व राष्ट्रपति, प्रधानमन्त्री, विभिन्न मन्त्रीहरू, दलका शीर्ष नेताहरू र विभिन्न मन्त्रालयका सचिवहरू जिल्लामा कार्यक्रमको बहानामा दर्शनका लागि आउने गरे पनि विश्वप्रशिद्ध हलेसीको विकासमा ध्यान नदिएको पूर्वनिर्देशक राईको भनाइ छ । ‘हलेसी विश्वकै प्रशिद्ध धार्मिकस्थल भएकाले राज्यको ध्यान जानुपर्ने हो ।’ राईले भने, ‘हाम्रो देशको मात्र होइन अमेरिका, रुस, जापान, भुटान, भारतलागयत विदेशी तीर्थालुसमेत आउने भएकाले नेपालको इज्जतका लागि पनि हलेसी व्यवस्थित गर्न जरुरी छ ।’ अहिलेसम्म पनि हलेसी विश्वसम्पदा सूचीमा नपर्नुले माथिल्लो निकायको गैरजिम्मेवारपन भएको राईको गुनासो छ ।
भवन तथा सहरी विकास विभागले गतवर्ष हलेसी मन्दिर क्षेत्रको गुरुयोजना निर्माण गरे पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । यसले पनि हलेसी क्षेत्रको पूर्वाधार निर्माण अवस्थित बनेको हो । गुरुयोजना कार्यान्वयका लागि पहल सुरु गरिएको हलेसी विकास समितिका निर्देशक सम्मर भुजेलले बताए । यसबाहेक ६ वर्षदेखि निर्माण थालिएको जयरामघाटस्थित दूधकोसी पुल नबन्दा हलेसी आउने पर्यटक तथा तीर्थालुले सास्ती खेप्नुपरेको छ
हलेसी क्षेत्रको व्यवस्थापनमा पहल ः
हलेसी विकास समितिले मन्दिर परिसरमा पूर्वाधार विकासका लागि पहल सुरु गरेको छ । मन्दिर परिसरमा रेलिङ निर्माण, शौचालय, अतिथि गृह, खानेपानी व्यवस्थापनका काम यसै आर्थिक वर्षमा थालनी गर्ने योजना बनाएको हलेसी विकास समितिका निर्देशक भुजेलले सुनाए । गुरुयोजना कार्यान्वयन भएपछि हलेसीमा संकलन हुने भेटी, दान–दक्षिणा र हलेसी विकास समितिमार्फत आउने बजेटसमेत त्यसै अनुसार परिचालन गरिने निर्देशक भुजेलले जनाए । ‘अहिलेसम्म आफूखुसी खर्च गरिँदै आएको थियो ।’ निर्देशक भुजेलले, ‘गुरुयोजना कार्यान्वयनपछि चाहि ठोस् काम सुरु हुन्छ ।’ हलेसी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राईका अनुसार भेटी, दान–दक्षिणाबाट आर्थिक ०७२÷७३ मा २५ लाख रूपैयाँ संकलन भएको थियो भने संस्कृति पर्यटन तथा नागरिक उडड्ययन मन्त्रालयबाट हलेसी विकास समितिमार्फत १८ लाख रुपैयाँ आएको थियो । यो वर्ष भने मन्त्रालयबाट २० लाख रूपैयाँ आएको छ । यसले खानेपानी विस्तार, अपूरो रेलिङ निर्माण, हलेसी बजार व्यवस्थापन, किरात संग्रहालय निर्माण, खेलमैदान निर्माण गरिनेछ । यद्यपि बजेट खर्चका लागि मन्त्रालयबाट स्वीकृति आउन बाँकी रहेको निर्देशक भुजेलले सुनाए ।
यसबाहेक खोटाङ उद्योग वाणिज्य संघले हलेसी आउने पर्यटक तथा तीर्थालुलाई सुविधा दिन होमस्टे कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ । यसका लागि छिट्टै तालिम सञ्चालन गरिने वाणिज्य संघका अध्यक्ष राजु लयालुले सुनाए । हलेसीमा झन्डै दुई सय होटलमध्ये आधा दर्जन मात्र व्यवस्थित छन् ।
हलेसीमा आउने आयस्रोत भने सहरतिरै जाने गरेको छ । जिल्लामा उत्पादित सामग्री हलेसीबाट निकासी नहुने भएकाले हलेसीमा भित्रने आयस्रोत सहरतिरै जाने गरेको हो । जिल्लामा उत्पादित सामग्री हलेसीसम्म नपुगेकाले दैनिक करिब १५ लाख आउने आयस्रोत सहरतिरै फर्कने गरेको हो । हलेसीमा आउने पर्यटक तीर्थालुलाई चाहिने उपभोग्य वस्तुलगायत अन्य होटल सञ्चालनमा आवश्य सामग्रीका लागि रकम सहर जाने गरेको हो । यसबाहेक हलेसीमा कमाएर सहरको धनसम्पत्ति जोड्ने गरेकाले पनि जिल्लामा रकम नबसेको खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष लयालुले सुनाए । ‘पर्यटक तथा तीर्थालुबाट आउने आयस्रोत जिल्लामै राख्ने हो भने जिल्लामा उत्पादित सामग्री हलेसीसम्म पुग्नुपर्छ ।’ लयालुले थपे ‘सम्बन्धित निकायको इच्छाशक्ति र सीपको खाँचो छ ।’
प्रतिक्रिया