जसलाई इमान्दारिता र निरन्तर संघर्षबाट प्राप्त अनुभवले गाउँले भरियाबाट कुशल एडभेन्चर गाइडको उपाधि दिलाएको छ । जुन उपाधि हासिल गर्ने पात्र हुन्, ठुलेबहादुर राई । सोलुखुम्बुको विकट गाउँ गुदेलका ठुलेबहादुरलाई छिरी नामबाट धेरैले चिन्दछन् । छिरीको जन्म ०३४ साल ७ जेठका दिन बुबा उजवीर राई र आमा पूर्वीधनी राईको कोखबाट भएको हो । निम्नवर्गीय परिवारमा जन्मिएका छिरीको औपचारिक पढाइको सिलसिला आर्थिक अभावका कारण प्राथमिक तहबाटै पूर्णविराम लाग्यो ।
छिरी १२ वर्षको कलिलो उमेरमा स्कुल खर्च जोहो गर्न घरको अन्न बोकेर लुक्ला गएका थिए । ०५१ सालतिरको कुरा हो । अन्न बोकेर लुक्ला पुगेका छिरीको दैनिकी एकाएक विदेशी पर्यटकको भारी बोक्ने भरियामा परिणत भयो । घर फर्केर स्कुल जानुको सट्टा परिवारको खुशीका अनगिन्ती सपनाहरू बुन्दै छिरीले विदेशीको भारी बोकेर हिमालको उकालीओराली गर्न थाले ।
यत्तिखेर अहिलेको जस्तो भरियालाई कति भारी बोकाउने भन्ने निश्चित मापदण्ड थिएन । जसले जे गरे पनि हुने, जसले जति बोकाए पनि हुने । मानौँ, कसैलाई न्याय र अन्यायको कठघरामा उभ्याउने कुनै कानुन नै थिएन । त्यही बोझ छिरीले पनि भोग्नुप¥यो । कहिलेकाही छिरीको त्यो कलिलो ज्यानले ६० देखि ७० किलोसम्म विदेशीको भारी बोक्नुपथ्र्यो । जीवन संघर्षको दौडानमा हिमाली उँचाइहरूसँगै विदेशीको भारी बोकेर हिँड्नु उनको दैनिकी बन्दै गयो । कलिलो उमेरमा पढ्ने खर्च जोहो गर्न हिमालतिर लागेका छिरीका दिन र रातहरू त्यही हिमालका अनगिन्ती चटानहरू छिचोल्दै बित्न थाले । तर, त्यो रहरभन्दा बढी कहर थियो उनका निम्ति । विदेशीको भारी बोक्दा पाएको पेलानले भने उनलाई थप सिर्जनशील बनाइरह्यो । त्यसरी भारी बोक्ने क्रमसँगै अफ सिजनमा लुक्लामा रहेको होटल पानारामिक (अहिले नाम परिवर्तन भएर नर्थ फेस पानारामिक भयो)मा भाडा माझ्ने काम पनि सुरु गरे ठुलेले । सिजनमा विदेशीको भारी बोक्ने अफ्सिजनमा होटलमा भाडा माझ्ने काममा व्यस्त हुन थाले उनी । उनले चार वर्ष त्यही दैनिकीमा आफूलाई गुजारे । तर, होटलमा भाडा माझ्दा उनले पैसा भने पाउँदैनथे । उनले होटलमा भाडा माझ्नुलाई पैसामा भन्दा पनि सीप सिक्ने अवसरका रूपमा उपयोग गर्दै गए । त्यसोत चार वर्षको अवधिमा विदेशीको भारी बोक्नुको अलावा होटलको भाडा माझ्दै कुकिङ काम पनि सिके । होटल र हिमालका कुनाकन्दराहरूलाई नै आफ्नो शिक्षालय बनाउँदै लैजाने क्रममा उनले केही नेपाली र विदेशी साथीहरू बनाइसकेका थिए ।
सुरुसुरुमा उनले विदेशीसँग आफ्नै भाषा र सांकेतिक भाषामा परिचय गर्थे । त्यही क्रममा काठमाडौंको एक टे«किङ कम्पनीको मालिकसँग भेट भयो । उनै कम्पनी मालिकले काम दिने शर्तमा काठमाडौं बोलाए । तर उनीसँगको व्यावसायिक यात्रा धेरै टिकेन । करिब एक वर्ष मात्रै उनीसँग काम गरे । छिरीकै शब्दमा त्यत्तिखेर ती कम्पनी मालिकबाट आफूलाई विश्वासघात गरियो । देशमा संकटकाल दिन प्रतिदिन गहिरिदै गइरहेको थियो । त्यसै क्रममा त्यो कम्पनीमा काम नगर्ने निर्णय गर्दै बाहिरिए उनी ।
त्यसपछि उनले फ्रिलाइन्सर ट्रेकिङ गाइडको रूपमा काम गर्न थाले । त्यही बीचमा अर्को कम्पनी मालिकसँग संयोगवश उनको भेट भयो । उनको त्यो भेट एडभेन्चर जिइओ ट्रेक्स एण्ड एक्स्पीडिसनका प्रबन्ध निर्देशक निरु खालिङसँग नेपाल पर्यटन बोर्डमा भएको थियो । त्यो भेट छिरीका लागि व्यावसायिक क्यारियरको यूटर्न बन्न पुग्यो । निरुको कम्पनीमार्फत उनले राम्रो अवसर पनि पाए । यही कम्पनीमा झण्डै एक दशक निरन्तर काम गर्दा उनले आत्मविश्वास मात्र कमाएनन् धेरैजना साथी पनि कमाए । काम गर्ने सिलसिलामा पछि नवीन कार्कीसँगको सहयात्रा सुरु भयो । उनले नवीन कार्कीको हिमालयन म्याजिक ट्रेक्समा गएर काम गर्न थाले ।
‘निरु सरसँग कुनै रिसराग भएर निस्केको होइन र उहाँले कम्पनी छोडेर जा पनि भन्नुभएको थिएन’ कुराकानीको क्रममा छिरीको बोली फु¥यो ‘त्यहीबाट मैले मेरो पेशागत यात्रा राम्रो बनाए । त्यसैले शिखरपोष्ट मिडियामार्फत निरु सर र एडभेन्चर जिइओप्रति विशेष धन्यवाद दिन चाहन्छु ।’ मान्छेमा इमान्दारिता भयो भने सबै सधैँ काम गर्न सकिन्छ भन्ने उदाहरण पनि हो छिरी । हिमालयन म्याजिक टे«क्समा आइसकेपछि उनी कम्पनीको प्रमुख गाइडको रूपमा काम गरिरहनुभएको छ । कम्पनीमा कुक, गाइड हुँदै क्लाइम्बिङ (एडभेन्चर गाइड)को नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । त्यसो त छिरीले सन् १९९८ मै विदेशी आरोहीको सहयोगीको रूपमा सगरमाथाको ७ हजार ८ सय मिटर उँचाइसम्म चुमेका थिए । अहिलेसम्म दर्जनौँ पीकहरू चढिसकेका छन् । मेरा पीक, आइलम्पिक, निहिरिका, पास टेनपीक, चुलु वेष्ट, फारवेष्ट, पीसाङ पीक, धौलागिरी थुंगु पीक, थापा पीक, टसिखाङलगायत पीक चढ्दाको जीवन मरणको संघर्षपूर्ण यात्रानुभूति सुनाए । उनलाई सफल एडभेन्चर गाइडको रूपमा पनि चिनिन्छ ।
उनले हिमाली यात्रा र पीक चढ्ने क्रममा विभिन्न खालका सुखद् अनि दुःखद अनुभव संगालेका छन् । त्यसमध्ये धौलागिरी जाँदाको घटेको एउटा घटना अहिले पनि उनको मनमा ताजै छ । उनकै नेतृत्वमा एउटा ग्रुप धौलागिरी पुगेको थियो । धौलागिरी पास गर्ने क्रममा हाइ क्याम्पमा ठूलो एभिलेन्स झरेर पुरै क्याम्प नै ढाक्यो । तर, लामो समयपछि होसमा आउँदा सबै टोली सकुशल । तर, उनका लागि मरेर बाँचेको त्यो नै पहिलो घटना भने होइन । तर, जीवन अर्थपूर्ण रूपमा जिउनुको सार्थकता नै यही चुनौतीभित्र छ भन्ने लाग्छ उनलाई । त्यही विचारले उनलाई सधैँ आफ्नो कर्ममा थप कर्मठशील बन्न पे्ररित गरिरहन्छ ।
सँगसँगै हिँड्नेहरू धेरैजसो कम्पनी मालिक बनिसके तपाई चाहिँ भन्ने प्रश्नको जवाफमा उनले भने, ‘सबै एउटै हुनुपर्छ भन्ने हुँदैन । इमान्दारितापूर्वक काम गरियो भने जसरी पनि जिउन सकिन्छ । मेरो अहिलेसम्मको अनुभवले त्यही भन्छ । मैले कम्पनी नै स्थापना गर्न नसके पनि नाम र दाम राम्रै छ ।’
नेपालमा आउने पर्यटक संख्यात्मक वृद्धिसँगै गुणात्मक वृद्धि गर्नुपर्ने आवश्यकता देख्छन् उनी । यस निम्ति सबैको सकरात्मक पहल आवश्यक रहेको उनको बुझाइ छ । राज्यसँग उनको ठूलो गुनासो छ । सरकारले पर्यटन क्षेत्रमा लाग्ने पेशाकर्मी मजदुरहरूको लागि रोजगारीको ग्यारेन्टी गर्नुपर्ने, स्वास्थ्य विमा, समयसापेक्षित सेवा सुविधा तथा नीतिगत सुधार गर्नुपर्ने उनी बताउँछन् । अर्थपूर्ण व्यवसायिक यात्रासँगै विभिन्न संस्थाको माध्यमबाट समाजसेवामा समेत आफूलाई अगाडि बढाइरहेका छन् । भावी पिढिँले पहिले आफूले जस्तै कष्ट भोग्न नपरोस् भन्नेमा उनी चिन्तित छन् । उनी हाल कुलुङ संस्थाको सदस्य भएर काम गरिरहेका छन् । त्यस्तै गुदेल गाविसको सिर्जनसिल बचत समूहको उपाध्यक्षको रूपमासमेत जिम्मेवारी बहन गरिरहेका छन् । सुनसरीका आशा राईसँग प्रेम विवाह गरेका छिरीको ३ वर्षीय छोरी छन् ।
प्रस्तुति : प्रकाश खालिङ
प्रतिक्रिया