घानामा राष्ट्रिय महानिर्वाचन

आक्रा, २३ मंसिर । पश्चिमी अफ्रिकाली राष्ट्र घानामा बुधबार आमनिर्वाचन सुरु भएको छ । यहाँको बालिग मताधिकार सूचीमा १ करोड ५० लाखभन्दा बढी मतदाताहरूको नाम दर्ता भएको छ । मुलुकभरका २९ हजार मतदान केन्द्रहरू बुधबार बिहान ७ बजेदेखि नै खुल्ला रहेका छन् ।

यस निर्वाचनमा वर्तमान राष्ट्रपति जोहन ड्रामानि महामा र संसद्को सबभन्दा ठूलो बिपक्षी दल न्यु प्याट्रियोटिक पार्टीका नेता नाना आकुफो अड्डोबीच कडा प्रतिस्पर्धा हुन गैरहेको छ । राष्ट्रपति महामा सत्तारुढ दल नेसनल डेमोक्र्याटिक कांग्रेसबाट उम्मेदवार हुन् । यसपालिको आम निर्वाचनमा उनी दोस्रो र अन्तिमपटक उठेका हुन् । घानामा निर्वाचित राष्ट्रपतिको कार्यकाल ४ वर्षको हुन्छ ।

बहुसंख्यक घानी जनतामाझ राष्ट्रपति महामा लोकप्रिय र सम्मानित भएता पनि उनको प्रथम ४ वर्षे कार्यकालमा मुलुकमा आर्थिक बिकासको गति अत्यन्त मन्द भएको, राष्ट्रिय रोजगारीको संख्यामा बृद्धि नभएको र देश चर्को मूल्यबृद्धिको मारमा परेको जस्ता आरोप लगाइँदै आएको छ ।

स्थानीय समयानुसार बेलुकी ५ बजेपछि मतदान केन्द्र बन्द गरिने र निर्वाचन परिणाम आगामी शुक्रबारसम्म घोषणा गरिने घानाको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रपतिको पदका अतिरिक्त मुलुकका २ सय ७५ जना सांसद्हरूको पनि बुधबार निर्वाचन हुनेछ । घानामा निर्वाचित सांसद्हरूको कार्यकाल पनि ४ वर्षकै रहेको छ ।

 

प्रतिक्रिया