२२ वर्षअघि काठमाडौंबाट व्यवसाय गर्न थाइल्यान्ड पुगेका महेन्द्र श्रेष्ठ अहिले महत्वपूर्ण पर्यटकीय क्षेत्र पत्ताया सिटीमा घर जग्गाको कारोबारमा सक्रिय रहेका छन् । उनी हस्तकला, पस्मिना तथा रेस्टुरेन्ट र होटल व्यवसायमा समेत संलग्न रहेका छन् ।
सुरुमा पतञ्जन टापूमा ५ वर्षसम्म हस्तकला र रेस्टुरेन्ट सञ्चालन गरेर व्यवसाय थालेका उनले १० वर्षसम्म बैंककमा हस्तकला र पस्मिनाको व्यवसाय सञ्चालन गरेका थिए । विगत ६ वर्षयता उनको व्यवसायमा घरजग्गा कारोबारसमेत थपियो । अहिले उनको आर्थिक अवस्था निकै राम्रो रहेको छ ।
नेपालमा भन्दा आर्थिक हिसाबले राम्रो गरेको बताउनु हुने गैरआवासीय नेपाल संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआएनए) थाइल्यान्डका उपाध्यक्ष श्रेष्ठको १९ वटा अपार्टमेन्ट छ । जसको मूल्य अहिले १५ लाखदेखि ७० लाख भाट (४८ लाखदेखि सवा २ करोड नेपाली रुपैयाँ) पर्दछ ।
नेपालबाट दुरीका हिसाबले निकै नजिक भएर पनि थोरै मात्र नेपाली व्यापार व्यवसाय र रोजगारी तथा अध्ययनका लागि थाइल्यान्डमा आइपुगेका छन्, उनीहरूमध्ये संघर्ष गर्नेहरू भने रामै्रसँग स्थापित भएका छन् । थाइल्यान्डको कानुन र प्रक्रियागत समस्या धेरै भएर पनि यसरी व्यवसायमा नेपालीहरू जम्नु महत्वपूर्ण कुरा रहेको छ । एनआरएनएका पूर्वअध्यक्ष मनोज राना पनि सफल व्यवसायीमा पर्छन् । उनी अहिले फुकेटमा कपडाको व्यवसाय गर्दै आएका छन् । विगत १७ वर्षदेखि फुकेटमा रहेर खुद्रा र होलसेल, व्यवसाय गर्दै आएका रानाले युरोपमा समेत कपडा पठाउने काम गर्दै आएका छन् । यहाँ व्यवसाय संस्थापना गर्न कठिन भए पनि संघर्ष गर्न सकेकाले सहज भएको उनले बताए ।
चौबीसै घन्टा काम गर्न पाउने विद्युत्भार कटौती नहुने र अन्य झमेला नहुने तत्कालै ग्राहकले चाहेका कपडा तयार पार्न सकिने हुँदा आफू व्यवसायमा सन्तुष्ट भएको उनी बताउँछन् । उनको परिवार नै यो व्यवसायमा संलग्न छन् । थाइल्यान्डमा नेपालीहरू घुम्न आउने क्रमसमेत बढेकाले अझै व्यवसाय बढ्ने आशा यहाँका व्यवसायीको छ ।
रानाले भने, ‘यहाँ छोराछोरी पढाउन र आफ्नो जीविका टार्न निकै सहज भएको छ ।’ गैरआवासीय नेपाल संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआएनए) थाइल्यान्डका अध्यक्ष तथा प्राध्यापक खगेन्द्रराज ढकालका अनुसार यहाँ ३ हजार ५ सयको हाराहारीमा नेपाली छन् । जसमध्ये १ हजार ५ सय जति विद्यार्थी छन् भने अन्य व्यापार व्यवसाय र रोजगारीमा संलग्न छन् ।
थाइल्यान्डको बैंकक, पत्ताया, फुकेट, च्याङवाईलगायत सहरमा नेपालीले सटिङसुटिङ, होटल रेस्टुरेन्ट, पस्मिना, हस्तकलाका सामग्री, घरजग्गा कारोबार, ट्राभललगायत व्यवसाय गरेको १३ वर्षदेखि थाइल्यान्डमा व्यवसाय गरी हाल नेपालमा समेत व्यवसाय थालेका चितवनका प्रकाश सुवेदीले बताए । च्याङ्वाई सहरसमेत रहेको नर्थ थाइल्यान्डमा मात्रै ३५ नेपालीले आफ्नै व्यवसाय गरेका छन् । फुकेटमा ३० बैंककमा ३० र पत्तायामा ५ जनाभन्दा बढी आफ्नै व्यवसायमा स्थापित भएको उनी बताउँछन् ।
थाइल्यान्डमा होटल व्यवसायमा जमेका व्यवसायीमध्ये सोलुखुम्बुका सुनील खड्का अर्का सफल व्यवसायी हुन् । पछिल्लो समयमा नेपाली राजनीतिमा सक्रिय भएका खड्काको थाइल्यान्डमा होटल, रेस्टुरेन्ट, ट्राभल एजेन्सीलगायत व्यवसाय छ ।
खड्कासँगै राजेश केसी, उमेश खत्रीले पत्ताया सिटीको समुद्र किनारमा ‘पत्ताया इन’ नामक रेस्टुरेन्ट सञ्चालन गर्दै आएका छन् । २ वर्ष ६ महिनाभन्दा अघि युरोपका विभिन्न देश हुँदै पत्ताया आइपुगेका केसीले समूहमा १ करोड ५० लाख होटल रेस्टुरेन्टमा लगानी गरेको बताए ।
नर्वेमा साढे ४ वर्ष र झन्डै १ वर्ष स्पेनमा आफूले कमाएको रकम थाइल्यान्डको व्यवसायमा लगानी गरेको उनले बताए । इन्डियन ओसनको किनारमा मनोरम दृश्य हेर्दै रमाउन पाइने उनका होटलले मासिक ३ लाख भाट बचाउने गरेको केसीले सुनाए । थाइल्यान्डमा व्यवसाय गर्नका लागि २० लाख भाट बराबरको कम्पनी देखाउनु पर्छ । बर्सेनि भिसा म्याद थप्नुपर्ने व्यवसाय नवीकरण गर्नेलगायतमा १ लाख ५० हजार भाट हाराहारीको रकमसमेत खर्च हुने र प्रक्रिया अगाडि बढाउनसमेत झन्झटिलो रहेको व्यवसायीहरूको भनाइ छ ।
१० वर्षअघि दाजुले थालेको ट्राभल व्यवसायबाट थाइल्यान्डमा व्यवसाय गर्न थाले सुमन अधिकारीको अहिले बैंककको खाउसाङ रोडमा युरो एसिया नामको होटल छ । सोही स्थानमा भिसा एन्ड वर्क परमिट सर्भिस पनि अधिकारीले सञ्चालन गरेका छन् । ५ सय डलर (नेपाली रुपैयाँ ५० हजारमाथि) नेपालबाट ल्याएर व्यवसाय थालेका अधिकारीले अहिले ३ तले २ वटा घर, गाडी जोड्न सफल भएका छन् । भने व्यवसायबाट वार्षिक आम्दानी १ करोड नेपाली रुपैयाँ नघट्ने उनले बताए । चितवन भरतपुरका ३५ वर्षीय प्रकाश सुवेदी १९ वर्षको उमेरमै थाइल्यान्डमा संघर्ष गरेर अहिले नेपाल र थाइल्यान्डमा व्यवसाय गर्नेमा पर्छन् । उनले थाइल्यान्डको कोसामुईमा लामो समययता कपडाको व्यवसाय गर्दै आएका छन् । सुरुमा भारतीय रेस्टुरेन्ट हुँदै कपडाको पसलमा काम गरेर पछि उनी आफैँले व्यवसाय सुरु गरेका थिए ।
ती सबै चुनौतीको सामना गर्दै यहाँ कमाएको रकमले भरतपुरमा घर जोडेर आफ्नै थाई मार्ट नामको पसलसमेत सञ्चालन गर्दै आएको उनको भनाइ छ । उनको थाइल्यान्डस्थित कोसामईमा कपडाको पसल भाइले हेर्दै आएका छन् भने त्यही व्यवसाय विस्तार र व्यापारका लागि युरोप, अमेरिका र एसियाका विभिन्न गरी २२ देश चहारिसकेको सुवेदीले बताए । थाइल्यान्डमा वर्क परमिट व्यवसाय सञ्चालनका लागि मात्रै दिइन्छ ।
प्रतिक्रिया