दसैँ यात्रा र प्रश्नहरू

dhan-prashad-subediसधैँजस्तै यसपाली (२०७३ साल) पनि दसैँमा घर गइयो । विगत एक दशकदेखि जागिरको सिलसिलामा म काठमाडौँ बस्दै छु । मेरो पेसा प्राध्यापन, सार्वजनिक बिदाबाहेक वर्षमा दुई महिना छुट्टी हुन्छ र पनि खै के के नमिलेर अरू बिदामा घर गइँदैन । दसैँका अवसरमा भने जसरी भए पनि घर जाने गरिएको छ । मध्य पहाडी राजमार्गमा गाडी चल्नु भन्दा अगाडि (५ वर्षपहिले) काठमाडौँबाट दिनभरिको बसयात्राबाट गाइघाट अनि त्यहाँबाट ३–४ दिनको पैदल यात्रापछि मात्र घर पुगिने । हिँडाइसँग राम्ररी परिचित हुन नपाएका ८–९ वर्षका छोराहरू अनि काठमाडौँमा बसेर हिँड्ने बानी भुल्दै गएका आमाबाबुहरू अँधेरीको ओरालो, कोसी किनारको तातो बालुवा, साप्सु किनारको गर्मी र फेदीदेखि खानीडाँडासम्मको उकालोहरू छिचोल्दै बर्सेनी दसैँ मान्न घर जान्थ्यौँ । साउनेसम्मको बसयात्रा र त्यसपछिको पैदल यात्राका आधा दर्जन भन्दा बढी सन्दर्भहरूका यात्रा संस्मरण लेखेको भए एउटा राम्रो नियात्रा कृति हुन्थ्यो, लेखिएन । अँधेरी, छाम्लिङ, खयरबास, रसुवा, भँडारे, रेग्मीटार, रमाइलो बास, फेदी, खानीडाँडाका बास बस्ने ठाउँका अप्ठ्यारा सफ्ठ्यारा अनुभव र त्यहाँका खानाको स्वाद अझै बिर्सिएको छैन । तर अब ती भोगाइहरू यथार्थभन्दा बढी एकादेशको कथा हुन कि जस्तो लाग्न थालिसक्यो, सायद यसरी नै हाम्रा नेताहरूलाई आफू जनता हुँदाका दुःखहरू कुर्सीमा पुगेपछि एकादेशका कथा जस्ता लाग्दा हुन् र त उनीहरू कुर्सीमा पुग्नेसाथ जनतालाई बिर्सन्छन् ।

मध्य पहाडी राजमार्गमा बस चल्न थालेपछि दसैँ यात्राको अवधि छोटो भएको छ । काठमाडौँदेखि मेरो घर नेर्पा पुग्न बढीमा २७० कलोमिटरको दुरी, प्रतिघन्टा ३० किलोमिटरको दरले हिसाब गर्ने हो भने पनि ९ घन्टाको बसयात्रापछि पुगिने ठाउँ । नभन्दै हिउँदमा ९–१० घन्टमा काठमाडौँबाट दिक्तेल पगिएको पनि हो । २०७२ सालको दसैँताका नाकाबन्दी थियो, पेट्रोल डिजेलको हाहाकार र पनि एकै दिनमा काठमाडौँबाट दिक्तेल पुग्न पाउँदा अब खोटाङेहरूका दुःखका दिन सकिएछन् जस्तो लागेको थियो । तर यसपालीको दसैँ यात्राले त्यसलाई गलत साबित गरिदियो । अँहँ, खोटाङेहरूका दुःखका दिन सकिएका रहेछन् भन्ने कुरा यसपालीको दसैँमा घर जाँदा थाहा भयो । बर्खा याम नसकिएको, पानी परिररहेको, सडकमा माटो थुप्रिएको र हिलाम्मे भएको अनि गाडी भासिने र यात्रुहरू गाडीबाट ओर्लेर पैदल हिँड्नु पर्ने । दसैँको बेला पर्देशबाट घर आउनेहरूले केही न केही सामान ल्याउने नै भए । गाडीमा चढ्ने आशामा घर आएकाहरू बिचैमा अलपत्र भए अनि उनीहरूले नेतालाई सरापे, दसैँ भनेको दशा रहेछ भनेर आफ्नो पर्वलाई सरापे । त्यो अस्वाभाविक थिएन ।

काठमाडौँबाट दिक्तेल पुग्न दुई दिन लाग्यो, त्यो त्यति अनौठो कुरा होइन । सडक धान रोप्न मिल्ने गरी हिलाम्मे भएको रहेछ, नेपालमा त्यो पनि के अनौठो भयो र ? तर ठेक्का लागेको बर्सौँ भइसक्दा, सांसद र सत्तारुढहरूले आन्दोलनको र सबै दलका नेताहरूले डेलिगेसनको नाटक मन्चन गरिसक्दा पनि दुधकोसीमा पुल नबन्नु चाहिँ अनौठै लाग्यो । दसैँको बेला छ, यात्रु खचाखच छन्, भाडा सोचेजस्तै बढी नै छ । यस्तो बेला दुई चार ट्रक बालुवा हाल्दा बनिने बाटो समेत नबाउने तर यात्रुबाट सकेसम्म बढी भाडा असुल्न खोज्ने बस व्यवसायीहरू देख्दा रिस नउठ्ने कुरा भएन । अनि यस्ता सामान्य कुरामा समेत ख्याल नगर्ने प्रशासकहरूलाई सम्झँदा ब्लड प्रेसर बढ्ने नै भयो । यातायातका नाममा करौडौँको बजेट छ, स्थानीय निकायको बजेट कसरी कसरी खर्च गरौँ भन्ने अवस्था छ । विकास बजेटको ४० प्रतिशत पनि खर्च नभई फ्रिज भएको समाचार सुनिएको छ । यस्तो अवस्थामा सडकमा पानी जम्ने केही मुख्य मुख्य ठाउँमा दुई चार ट्रक गिटी बालुवा हालेर बाटो बनाउन सकिँदैन ? हलेसीको ऐँसेलुखर्क, अर्खौलेको बजारछेउ र मुडे ब्यारेकछेउमा गरी १०–२० ट्रक बालुवा, गिटी हालेको भए दसैं मान्नेहरूले काठमाडौँदेखि दिक्तेलसम्म र दिक्तेलदेखि काठमाडौँसम्म गाडीमै यात्रा गर्न पाउने थिए । त्यति जाबो काम व्यवसायीले गर्दा पनि हुन्थ्यो, स्थानीय प्रशासनले त जसरी पनि गराउनै पथ्र्यौ । नेताहरूको बुद्धिको घैँटोमा त्यति जाबो कुराको घाम त लाग्नै पर्ने हो । व्यवसायीलाई नाफा चाहिन्छ तर हाम्रा खोटाङे व्यवसायीहरू भने नाफा चाहिँ खोज्ने तर नाफा हुने कुरा भने थाहा नपाउने खालका परेछन् । नत्र दुई चार लाख खर्च गरेर बाटो बनाएका भए पचासौँ लाख कमाउन सकिने बाटो किन बनाउँदैन ? खोटाङमा जाने प्रशासकहरूलाई थाहा हुनु पर्ने हो, जिल्लासँग बाह्य सम्पर्कको एउटै मात्र बाटो त्यसलाई सामान्य मर्मत गर्दा हुन्थ्यो, त्यसको स्रोत जताततै थियो, त्यति पनि गर्न नसक्नेहरूलाई कुरीकुरी लाग्नु पर्ने हो । हाम्रा नेताहरूको त के कुरा भाषण ठुला ठुला गर्छन्, हिलाम्मे सडकको फोटो खिचेर फेसबुकमा पनि हाल्छन् तर सामान्य भन्दा सामान्य काम पनि गराउँदैनन् । नेताहरूको काम जनसेवा हो, पद, कुर्सी, भोट र कमिसन मात्र होइन भन्ने कुराको सामान्य हेक्का पनि नराख्ने र जनताका पिर मर्का्तिर भने फिटिक्कै ध्यान नदिने प्रवृत्ति देख्दा दिक्क लागेर आयो ।

छ महिनाअघि बर्खेटारमा बस पल्टियो, कतिको ज्यान गयो, कति अङ्गभङ्ग भए । पहाडको कच्ची बाटो, बर्खाको समय, दसैँको बेला यात्रुहरूको घुइँचो हुन्छ । फेरि जताततै सडक दुर्घटनाका समाचार आइरहेका छन् । यस्तो अवस्थामा जहाँजहाँ सडक बिग्रेको छ, त्यहाँ त्यहाँ बनाउनु पर्छ भन्ने कुरा त सामान्य हो । यस्तो कुरामा हेलचेक्रयाइँ गर्नेहरूसँग को चाहिँ रिसाउँदैन होला । यसपालीको दसैँ यात्राका यात्रुहरूले नेता, प्रशासक र व्यवासायीहरूलाई सक्दो सरापे ।

खोटाङ जिल्लामा हलेसी धाम छ । हलेसी धामलाई पूर्वको पशुपति भनिन्छ । भौगोलिक रूपमा खोटाङ जिल्ला पनि अरू पहाडी जिल्ला जस्तै हो तर किन हो कुन्नि यस जिल्लामा यातायातको उचित विकास हुन सकेन । त्यसैले खोटाङलाई पूर्वको कर्णाली पनि भनिन्छ । कर्णालीमा रारा, फेक्सुन्डो जस्ता सुन्दर तालहरू छन्, बहुमूल्य जडीबुटी, स्याउ र जुम्ली धानहरू छन् अनि अथाह जलस्रोत पनि छ । त्यति मात्र होइन, कर्णालीको नाम बेचेर कति कति नेताहरू र प्रशासकहरूले कति कुम्ल्याए कुम्ल्याए ? हिसाबकिताब छैन । त्यही कर्णाली भजाएर कति कति एनजिओ, आइएनजिओहरूले डलरको खेती गरे भनी साध्य छैन । तर कर्णालीवासीहरू सधैँ सधैँ भोकमरी, अशिक्षा, रोग र कठोर शारीरिक श्रमको सामना गर्न विवश छन् । यता हाम्रो खोटाङ जिल्ला पनि त्यस्तै त्यस्तै छ भन्दा हुन्छ । खोटाङसँग जलस्रोतको अथाह भण्डार छ । अलैँची, फलफुल, जडीबुटी, अन्नबाली र वनजङ्गलका लागि अत्यन्तै उपयोगी छ खोटाङ । नेपालको प्रशासन, शिक्षा, कला, साहित्य, सङ्गीत हरेक क्षेत्रमा खोटाङेहरू अब्बल छन् । प्राकृतिक सौन्दर्य, जाति, भाषा र सांस्कृतिक विविधताको भण्डार छ खोटाङसँग । खोटाङेहरूको परिश्रम, व्यवस्थापन क्षमता, सिप र सिर्जना देशभित्र मात्र नभएर विदेशमा पनि अनुकरणीय छ, प्रशंसनीय छ । यी सबै भएर पनि किन खोटाङ पूर्वको कर्णाली जस्तै भएको हो ? यसको कारण अब हामीले खोज्नै पर्छ । दसैँ यात्राका कतिपय यात्रीहरूको कुरा हो यो ।

दोलखा, बाग्लुङ, धनकुटा, डडेल्धुरा, पाँचथर आदि पहाडी जिल्लामा सररर मोटर बाटोमा गुड्न सकिने, उस्तै भौगोलिक अवस्था भएको खोटाङमा चाहिँ किन नसकिने ? चिलिमे, तामाकोसी, खिम्ती, कालीगण्डकी आदिमा बिजुली निकाल्न सकिन्छ भने दुधकोसी, रावा, सावा, साप्सु, तावा, ताप, मेवा, छेपेखोलाहरूमा पनि त सकिन्छ । काठमाडौँमा बिहानको चिया पिएर बस चढ्नेहरू दिउँसोको खाजा खान सोलु सल्लेरी (हिउँद बर्खा सधैँ) पुग्छन् भने त्यो भन्दा नजिक दुरीको खोटाङका गाउँठाउँ पुग्न चाहिँ किन सकिँदैन ? यसपालीको दसैँ यात्राका यात्रुहरूका प्रश्न हुन् यी । यी प्रश्नका जबाफ कसले दिने होला ?

dhan-prashad-subedi

प्रतिक्रिया