दाहाल दर्शक बने : ओली

kp oli photo copyकाठमाडौं, १४ असोज । प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमाथि सार्क अध्यक्षको हैसियतले भारत–पाकिस्तान विवाद समाधानमा भूमिका खेल्न नसकेको आरोप लगाएका छन् । नेपाल अहिले सार्कको अध्यक्ष राष्ट्र हो । तर, भारत र पाकिस्तानको विवादका कारण १९औँ सार्क शिखर सम्मेलन अन्योलमा परेको छ । भारतसहित ४ देशले सार्कमा भाग नलिने बताएको छ भने नेपालले छिट्टै सार्क सम्मेलन गर्नुपर्नेमा जोड दिएको छ ।

तर, एमाले अध्यक्ष ओलीले भने अध्यक्ष राष्ट्रका नाताले नेपालले ठोस पहल नगरेको बताए । पार्टीको सम्पर्क समन्वय कमिटीले बिहीबार पार्टी मुख्यालयमा गरेको कार्यक्रममा ओलीले विवाद बढ्दै जाँदा सार्कको अस्तित्व नै संकटमा पर्ने देखिएको बताए । उनले भने, अध्यक्षको हैसियतमा नेपालले भूमिका खेल्नुपथ्र्याे । तनावलाई सिथिलीकरण गर्नुपथ्र्यो । तर, नेपाल निरीह भएर न अम्पायर, न खेलाडी जस्तो गरी किनारमा बसेर दर्शकले खेल हेरेझै हेरिरहेको छ ।’

उनले अघि भने, सभापति नै त्यसरी हेरिरहेको छ ट्वाँ परेर ‘यो त बल बाहिर गयो कि गएन, कसैले लाइन मिच्यो कि मिचेन, फल खेल्यो कि खेलेन केही पनि थाहा छैन ।’ ओलीले एमालेको नीति, विचार र सिद्धान्त अरू कुनै पार्टीसँग तुलना हुन नसक्ने दाबी गरे । देशलाई अग्रगामी दिशा र समृद्धि गराउने सम्बन्धमा एमालेको नीति अरूको भन्दा उत्तम भएको दाबी गर्दै उनले भने, ‘एमाले आकाशमा उडेको बाज हो, अरू दल भुइँको बट्टाई हुन् ।’

कार्यक्रममा महासचिव ईश्वर पोखरेलले एमाले नेतृत्वको सरकारका समयमा ल्याइएका राम्रा नीति तथा कार्यक्रमलाई प्रचारप्रसारका साथै संविधान कार्यान्वयनका लागि देशव्यापी अभियान सञ्चालन गर्ने बताए ।

प्रतिक्रिया