इजरायल, १२ असोज । नोवेल शान्ति पुरस्कार विजेता इजरायलका पूर्वराष्ट्रपति तथा प्रधानमन्त्री शिमोन पेरेजको बुधबार निधन भएको छ ।
२ साता अघिदेखि सिकिस्त बिरामी भएका पेरेजको ९३ वर्षको उमेरमा स्थानीय समयअनुसार विहान ०३ बजे निधन भएको उनका छोरी–ज्वाइँ रफी वालडेनले जानकारी दिएका छन् ।
पेरेज दुईपटक प्रधानमन्त्री र एकचोटि राष्ट्रपति बनेका थिए भने जीवनको उत्तरार्धसम्म पनि सक्रिय राजनीतिज्ञकारूपमा क्रियाशील हुनुहुन्थ्यो । प्यालेस्टिनीसँंग शान्ति सम्झौता गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनलाई सन् १९९४ मा नोबेल शान्ति पुरस्कार दिइएको थियो । उनको निधनप्रति विभिन्न देशका सरकार प्रमुख तथा राष्ट्रप्रमुखले दुःख व्यक्त गरेका छन् ।
अमेरिकी राष्ट्रपति बाराक ओवामाले शान्तिका लागि सधैँभरी प्रयत्न गरिरहने व्यक्तिका रूपमा उनलाई स्मरण गरेका छन् । उनको अन्त्यष्टी कार्यक्रममा सहभागी हुन शुक्रबार त्यसतर्फ जाने भएका छन् । संयुक्त राष्ट्रसंघका महासचिव वान की मुनले पनि शोक वक्तव्य प्रकाशित गरी शान्ति स्थापनामा महत्वपूर्ण भूमिका खेलेका पेरेजको निधनले दुःखित बनाएको बताएका छन् ।
‘विश्वमा पेरेजजस्ता सीमित मान्छे छन्, जसले विश्वलाई नै परिवर्तनको वहाक बनेर मानव इतिहासमा ठूलो योगदान गर्नुभएको छ । उहाँ हाम्रो शक्ति र नैतिकताका स्रोत पनि हुनुहुन्छ ।’ ओवामाले वक्तव्यमा भनेका छन् । अमेरिकाकै पूर्वराष्ट्रपति विल क्लिनटनले पनि पेरेजलाई शान्ति र मेलमिलापका अभियान्तको रूपमा सम्झना गरेका छन् ।
इजरायलकै प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गहिरो शोक व्यक्त गरेका छन् भने प्रतिपक्षी दलका नेता इस्साक हेर्जङले इजरायलको इतिहासका प्रतिक भएकाले कहिल्यै भुल्न नसक्ने बताएका छन् । पेरेजले प्रधानमन्त्री र राष्ट्रपतिका रूपमा सन् २००७ देखि २०१४ सम्म इजरायलको नेतृत्व गरेका थिए ।
प्रतिक्रिया