क्यानडाबाट देशको चिन्ता

काठमाडौं, १३ असोज । क्यानडामा रहेका नेपाली नागरिकले देशमा निरन्तर जारी संक्रमणका कारण बढ्दो राजनीतिक अस्थिरताप्रति चिन्ता व्यक्त गरेका छन् । अस्थिरताका कारण देश विकास र समृद्धिको दिशामा अगाडि बढ्न नसकेको उनीहरूले गुनासो गरेका छन् ।

नेपाली जनसम्पर्क समिति क्यानडाले मिसीसागामा आयोजना गरेको ‘नेपालको राजनीतिक स्थिरता र आर्थिक विकास ः सम्भावना र चुनौती’ विचार गोष्ठीका सहभागी वक्ताले चिन्ता व्यक्त गरेका हुन् ।

अर्थविद् तथा सरकारका पूर्वमुख्यसचिव डा.विमलप्रसाद कोइरालाले संक्रमणकालका कारण मुलुक अगाडि बढ्न नसकेको बताए । ‘संक्रमणकालका कारण राजनीतिक अस्थिरता र विकास अवरुद्ध छ,’ उनले भने ।

अहिले अवलम्बन गरिएको समानुपातिक निर्वाचन प्रणालीले आगामी निर्वाचनमा कुनै पनि दलले बहुमत ल्याउने अवस्था नदेखिएकाले गठबन्धन संस्कृतिबाट मुलुक अगाडि बढ्न नसक्ने उनको भनाइ छ । ‘मुलुकमा राजनीतिक परिवर्तन भए पनि त्यसको फाइदा केही ठूलाबडाले मात्र लिए, अपनत्व जनताले लिनसक्ने अवस्था नभएका कारण राजनीतिक स्थिरता कायम हुन सकेन,’ कोइरालाले भने । परिवर्तनका नाममा मुलुकलाई बिखण्डनतर्फ लैजान नहुने भन्दै कोइरालाले नेताहरूले राजनीतिलाई समाज सेवाभन्दा व्यवसायका रुपमा लिएका कारण स्थायित्व कायम हुन नसकेको उल्लेख गरे । ‘राजनीतिक नेतृत्व मूल भएकाले त्यो सफा नगर्दासम्म कर्मचारीले केही गर्न सक्ने अवस्था छैन,’ उनले भने ।

कार्यक्रममा सहभागी सरकारका पूर्वसचिव बाबुराम आचार्यले कुनै पनि मुलुकको विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व आवश्यक रहेको भन्दै त्यसका लागि राजनीतिक नेतृत्वको नै मुख्य भूमिका रहने बताए । नेपालमा अहिले सत्तामा जानका लागि खुट्टा तान्ने प्रवृत्तिका कारण राजनीतिले स्थायित्व कायम गर्न नसकेको उनको भनाइ थियो । ‘अहिले देशको अवस्था देख्दा कि छाडेर हिँड्ने, कि आफूले सकेको गर्ने भन्ने मात्र विकल्प छ,’ आचार्यले भने । गैरआवासीय नेपाली संस्थाका अध्यक्ष तुल्सी सापकोटाले क्यानडामा रहेका नेपालीले विश्वमा नेपाललाई चिनाउने कार्यका लागि सक्दो प्रयास गरिरहेको बताए । ‘विदेशमा रहेका नेपालीले सक्दो प्रयास गरिरहेका भए पनि देशमा स्थायित्व कायम गर्न दलको नै मुख्य भूमिका रहन्छ,’ उनले भने ।

गैरआवासीय संस्थाका पूर्वअध्यक्ष अनिल थापाले सरकार, राजनीतिक दलले विदेशमा रहेका नेपालीले आर्जन गरेको सीप र क्षमता कसरी स्वदेशमा भित्र्याउन सकिन्छ भन्ने बारेमा स्पष्ट नीति ल्याउनुपर्नेमा जोड दिए । समाजसेवी शम्भु धमलाले विकास र समृद्धिका लागि नेपालमा धेरै सम्भावना भए पनि सक्षम नेतृत्वको अभावले देश सधैँ गरिबको गरिब नै रहेको बताए । सो कार्यक्रममा शरद पौडेल, अन्जनी भट्टराई र डा.वामदेव पौडेलले देशको समृद्धि र विकास समेटिएका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

समितिका सभापति तुल्सी पौडेलले क्यानडामा रहेका नेपालीले विदेशमा आर्जन गरेको सीप, क्षमता र पुँजी स्वदेशमा लगानी गर्न तयार रहेको तर त्यसका लागि सरकार र सम्बन्धित निकायले वातावारण बनाउनुपर्नेमा जोड दिए । समितिका महामन्त्री दीपक सापकोटाले विदेशमा रहेका नेपाली सँधै देशको विकासप्रति चिन्तित रहेको बताए ।

प्रतिक्रिया