नेपालको शैलीप्रति इयू रुष्ट

eu-logoकाठमाडौं, १२ असोज । नेपालको कूटनीतिक व्यवहार र शैलीप्रति युरोपेली महासंघ (इयू)ले गुनासो गरेको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका परराष्ट्रमन्त्री प्रकाशशरण महत पूर्वनिर्धारित कार्यक्रमअनुसार बेल्जियमको ब्रसेल्स नगई अमेरिकामै बसेपछि बेल्जियमसँगै इयू रुष्ट बनेका हो ।

महत नेतृत्वको टोली ब्रसेल्स हुँदै नेपाल फर्किने कार्यक्रम तय गरिएको थियो । त्यसैअनुसार ब्रसेल्सस्थित नेपाली दूतावासले महतको इयू अध्यक्ष जो क्लाउड योङर र बेल्जियमका परराष्ट्रमन्त्री डिडिआर रेग्डरसँग भेटघाटको समय मिलाएको थियो ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको प्रस्तावित नेपाल भ्रमण र आफ्नो अपर्झट गोवा भ्रमण तयारीका लागि भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले छिटो स्वदेश फर्किन परराष्ट्र सचिव शंकरदास बैरागीलाई निर्देशन दिएपछि महत टोलीको ब्रसेल्स भ्रमण स्थगित गरिएको हो ।

न्युयोर्कमा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर अमेरिकाको राजधानी वासिंगटन डिसी पुगेका महत र बैरागी शनिबार मात्रै काठमाडौं फर्किंदै छन् । परराष्ट्रमन्त्री महत बिहीबार फर्कने तयारी गरिएको भए पनि अमेरिकास्थित नेपाली दूतावासले गर्ने राष्ट्रिय दिवसमा उपस्थिति जनाउन उनले बसाइँ लम्ब्याएको उनका प्रेस संयोजक एकराज पाठकले बताए ।

न्युयोर्कबाट सिधै काठमाडौं जानुपर्ने भएकाले भेटघाट रद्द गरिएको जानकारी इयूलाई गराइएको भए पनि टोली अमेरिकामै रहेको थाहा पाउँदा अझै नराम्रो हुन सक्ने एक कूटनीतिज्ञले बताए । अन्तिम समयमा जोडबल गरेर तय गरिएको भेटघाट आफैँ रद्द गर्नुपर्दा दूतावास र परराष्ट्र मन्त्रालयका अधिकारीहरू पनि असन्तुष्ट छन् । ‘यस्ता कामले हामीलाई काम गर्ने उत्साह मिल्दैन,’ ती अधिकारीले भने, ‘यसमा राजनीतिक नेतृत्वभन्दा पनि मन्त्रालय नेतृत्वको कमजोरी देखिन्छ । सही समयमा सल्लाह र सुझाव दिन नसक्दा यस्तो भएको हो ।’

केही महिनाअघि कार्यकाल पूरा गरेर बेल्जियमबाट फर्किएका राजदूत राममणि पोखरेल शिष्टाचार महापालसँग बिदाई भेटसमेत नगरेकोमा पनि युरोपेली महासंघ (इयू) र बेल्जियम सरकारले दुःखेसो प्रकट गरेको थियो । फेरि त्यस्तै घटना दोहोरिँदा कूटनीतिमा नेपालले बेवास्ता र ख्यालठट्टा गरेको सन्देश गएको पनि उनले बताए ।

‘एक सातासम्मको लगातार मिहिनेत गरेपछिले ब्रसेल्सस्थित नेपाली दूतावासले मिलाएको भेटघाट रद्द गर्दा नेपालका त्यहाँस्थित कूटनीतिज्ञले कति अपमानित भएको महसुस गरे होलान् ? अब जाने नयाँ राजदूतले कसरी त्यसलाई थेग्लान् ! यो गम्भीर कुरा हो,’ ती परराष्ट्र अधिकारीले भने । इयूका लागि हालै लोकबहादुर थापा राजदूत नियुक्त भएका छन् ।

प्रतिक्रिया