विमानको ककपिटमा धुँवा देखिएपछि …

काटमाडौं, ११ असोज । नयाँ दिल्लीबाट काठमाडौं आउँदै गरेको नेपाल वायु सेवा निगमको एयरबसमा एक्कासी धुवाँ आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरेको छ ।

लुम्बिनी नामाकरण गरिएको एयरबस नेपालभित्रको सिमानामा प्रवेश गरिसकेपछि जहाजभित्र धुवाँ देखिएको थियो । चालक दलका सदस्यसहित १ सय ६३ जना यात्रु रहेको विमानले १२ हजार ५ सय फिट उचाईमा रहेको अवस्थामा धुवाँ देखिएको थियो ।

लगत्तै चालकदलले ३ः२५ मा काठमाडौं टावरलाई सम्पर्क गरी जहाजमा धुवाँ देखिएकाले आकस्मिक अवतरणका लागि अनुमति मागेको एयर ट्राफिक कन्ट्रोलले बताएको छ । र, ४ मिनेटभित्र (३ः२९मा) आकस्मिक अवतरण गर्ने निर्णय लिइएको विमानस्थल प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए ।

उनका अनुसार लगत्तै विमानस्थल बन्द गरेर आकस्मिक अवतरणका लागि आवश्यक तयारी थालिएको थियो । विमानलाई सुरक्षित अवतरण गराउन काठमाडौंमा ल्यान्ड हुन लागेको फ्लाइ दुबईलाई लखनउ डाइभर्ट गरिएको थियो । काठमाडौंबाट हुने सबै उडान पनि रोकिएको थियो ।

‘नेपाल एयरलाइन्सको विमान आकस्मिक अवतरण गर्ने क्रममा धावनमार्गमा दमकल, एम्बुलेन्सलगायत आवश्यक सबै तयारी गरिएको थियो । प्रवक्ता ठाकुरले भने, ‘सुरक्षित अवतरण गराउन सफल भयौँ ।’ उनका अनुसार ३ः५० मा विमान अवतरण भएको थियो । विमानमा रहेका सबै यात्रु सकुशल ओर्लिएका छन् भने जहाजमा कुनै आगजनीको खतरा नभएपछि जहाजलाई विमानस्थलको एक नम्बर पार्किङ–वेमा राखिएको छ ।

प्रतिक्रिया