ओबामाद्वारा अफ्रिकी अमेरिकी संग्रहालयको उद्घाटन

museumवासिंगटन, १० असोज । अमेरिकी राष्ट्रपति बाराक ओबामाले शनिबार अफ्रिकी मूलका अमेरिकीको इतिहास र संस्कृति बोकेको संग्रहालयको वासिङटनमा शनिबार उद्घाटन गरेका छन् ।

अमेरिकाको पहिलो अश्वेत राष्ट्रपति ओबामाले उद्घाटन गरेका सो संग्रहालयले अफ्रिकी मूलका अमेरिकीको इतिहास र संस्कृतिलाई झल्काउने बताइएको छ । उक्त संग्रहालय भवन वासिंगटन नेसनल मलको परिसरमा झन्डै ३७ सय वर्गमिटर क्षेत्रफलमा बनेको छ ।

यद्यपि, संग्रहालयको उद्घाटन कार्यक्रममा राष्ट्रपति ओबामाले यो संग्रहालय सिंगो अमेरिकाको इतिहासबाट छुट्याएर अफ्रिकी अमेरिकीको मात्रै इतिहास झल्कने बनाउन नखोजिएको प्रष्ट पारेका छन् । ‘यो अमेरिकाको कुनै भाग मात्रै होइन । यो अमेरिकाको इतिहास मै केन्द्रित छ,’ ओबामाले भने ।

‘यो देशलाई अहिलेको अवस्थासम्म ल्याइपु¥याउन हामीले हुर्किँदै सिक्दै धेरै मिहिनेत लगानी गरेको छौँ, यो नै अमेरिकीको इतिहास हो, यो सबै यस संग्रहालयले भन्छ,’ ओबामाले भनेका थिए । ओबामाले उद्घाटनकै क्रममा यो विश्व समुदायकै लागि खुल्ला भएको घोषणा गरेका छन् ।

उनको राष्ट्रपति कार्यकालको अन्तिम चरणमा पुगेको अवस्था रहेको छ । उनले श्वेत प्रहरीले अश्वेत नागरिकलाई गोली हानेको प्रसंग पनि सम्वोधनका क्रममा जोडे । संग्रहालयले मात्रै अहिलेसम्म कायम विभेद हटाउन नसक्नेमा जोड दिँदै ओबामाले अझै पनि यस बारेमा बहस गरिरहनु आवश्यक रहेको बताए ।

उद्घाटन समारोहमा ओबामा र पूर्वराष्ट्रपति जर्ज डब्लु बुस पनि सहभागी थिए । बुसले सन् २००३ मा उक्त संग्रहालय निर्माणसम्बन्धी कानुनमा हस्ताक्षर गरेका थिए । अफ्रिकाबाट दास किन्न प्रयोग गरिएका व्यापारिक वस्तु, सन् १९२० ताका श्वेत र अश्वेतका लागि छुट्टाछुट्टै बस्ने स्थान भएको रेलका डिब्बालगायत सामग्रीहरू संग्रहालयमा राखिएका छन् । संग्रहालयमा करिब ३६ हजार सामग्रीहरू रहेको अधिकारीले बताएका छन् ।

प्रतिक्रिया