नाकाबन्दीबाट के सिक्यौ ?

नेपालीले संविधान जारि गरेको कथित अपराधमा ५ महिना लामो नाकाबन्दी बेहोर्नु परेको कुरा ताजै छ । नाकाबन्दीका असर अहिले पनि पूर्णरूपमा मेटिइसकेका छैनन् । भर्खरै सरकारी तवरबाट नभए पनि जनस्तरबाट सामाजिक सञ्जालका प्रयोगकर्ताले र सञ्चारमाध्यमले ५ असोजमा नाकाबन्दीको वार्षिकी मनाएका छन् । जनस्तरबाट नाकाबन्दीको वार्षिकी मनाइँदै गर्दा सरकारीस्तरबाट भने नकारात्मक जवाफ आएको छ । भारतसँगको पेट्रोलियम पाइप लाइनको सम्झौता होस् वा विकासका नाममा भारतले काठमाडौंमा रेल ल्याउने कुरा यो सरकारी तवरबाट भएको नकारात्मक कामको रूपमा जनसाधारणले बुझेका छन् । यसलाई सरकारका प्रवक्ताले यही वार्षिकीको छेको पारेर पुष्टि गरेका छन् । नेपाल सरकारका प्रवक्ता तथा सञ्चारमन्त्रीले चीनबाट रेल ल्याउने र तिब्बतसँग जोडने सडक बनाउने कुरा पर्वावरणको विरुद्ध रहेको बताएका छन् । यसलाई हुनै नसक्ने कुरा बताएका छन् । यसले वर्तमान सत्ताधारी दल नाकाबन्दीबाट उल्टो पाठ सिकेको प्रष्ट हुन्छ ।

नेपालमा सुरुदेखि नै भारत आश्रित रहेको यथार्थ हो । भौगोलिक सुगमता भाषा तथा संस्तृतिको समानताले बढाएको रोटीबेटीको सम्बन्धले गर्दा नेपालको भारतसँगको सम्बन्धमा अन्य कुनै मुलुकको तुलना हुन सक्दैन । भूपरिवेष्ठित हुनुका कारण र भौगोलिक सुगमताका कारण पनि सुरुदेखि तेस्रो मुलुकसँगको पारवहन सम्बन्धमा पनि नेपालका लागि भारत नै प्राथमिकतामा पर्नु स्वभाविक थियो अनि त्यस्तै भयो । नेपालका नेताहरू पनि धेरै भारतीय स्कुलिङबाट आएका हुनाले उतै बढी ढल्कुनु स्वभाविक पनि थियो । यसैलाई कमजोरी ठानेर भारतले नेपालको सार्वभौमिकता माथि बारम्बार आक्रमण गर्दै आएको पनि तीतो सत्य हो । गतवर्ष समेत गरेर भारतले नेपालमाथि घोषित, अघोषितरूपमा विनाजायज कारण तीनपटक नाकाबन्दी लगाएर अमानवीयता प्रदर्शन गरेको सबैका सामू छर्लंग छ । यो २१औँ शताब्दी हो । विज्ञानका विभिन्न आविस्कार खासगरी सूचना र सञ्चारका क्षेत्रमा संसारले मारेको फडकोबाट नेपाल अछुतो छैन । मान्छेका चेतना पनि अब हिजोकाजस्ता छैनन् । सामान्यतयाः अब हिजोकोजस्तो एउटै छिमेकीको भर पर्नुपर्ने अवस्था छैन । दुईतिर दुई सम्पन्न छिमेकी हुँदा भौगोलिकता कारण एकातिर अलि बढी आश्रित हुनु स्वभाविक होला तर, अर्कोतिरको ढोका बन्द गर्न मिल्दैन । अझ सरकारका प्रवक्ताले नै उत्तरी छिमेकीसँगको सडक सञ्जाल विस्तार गर्ने कुरालाई पर्यावरणको आवरणमा अवरुद्ध गर्ने कुरा दक्षिणको चरम चाटुकारिताको शिवाय केही होइन । यसले अहिलेको सरकार मान्छे नेपाली भए पनि आत्मा भारतीय रहेको भन्ने दावी गर्न अब अर्को प्रमाणको आवश्यकता छैन ।

माथि नै भनी सकियो यो २१औँ शताब्दी हो । अब पहिलेजस्तो नेताले जे भने कार्यकर्ताले आँखा चिम्लेर ताली बजाउने अवस्था छैन । अब १७औँ र १८औँ शताब्दीको स्कुलिङबाट नेताहरू मुक्त हुन सकेननन् भने देशले केही समय दुःख पाउने हो त्यस्ता नेताहरूले सधैँक लागि देशबाट मुक्त हुने अवश्यंभावी छ । जनतालाई सधैँ अल्मल्याएर दुःखमा राखेर आफू तीनै जनताको भ¥याङ चडेर सगरमाथा उक्लने समय हिजो सम्भव थियो होला आज छैन । देश समृद्ध भयो जनता धनी भए भने मात्र त्यहाँका जनप्रतिनिधिको धाक अन्तर्राष्ट्रिय जगतमा बढ्छ । यसलाई नेताहरूले समयमा बुझेनन् भने समय रोकिँदैन तर समयलाई रोक्न खोज्नेहरू भने स्वयं पछि पर्नेछन् ।

प्रतिक्रिया