न्याम्स अब मनमोहनको नाममा

namsकाठमाडौं, ९ असोज । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को सिनेट बैठकले आफ्नो नाम फेरेर मनमोहन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान राखेको छ । शनिबार दिउँसो बसेको सिनेट बैठकले यस्तो निर्णय गरेको हो ।

पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको नामबाट उक्त नाम राख्ने प्रस्ताव स्वास्थ्यमन्त्री गगन थापाले गरेका थिए । वीर न्याम्सअन्तर्गतको अस्पताल हो । डाक्टर गोविन्द केसीका माग कार्यान्वयन भइरहेको भन्दै उनले घोषणा गरेको अनसन स्थगित गर्न माग गरी ३ असोजमा स्वास्थ्य र शिक्षामन्त्रीले केसीलाई पठाएको पत्रमा यो कुरा उल्लेख थियो ।

उक्त चिठीमा छलफल भइरहेको यो विषय शनिबार टुंगो लागेको मन्त्री थापाका सल्लाहकार प्रताप पौडेलले जानकारी दिए । तर, मनमोहन अस्पतालको सम्पत्ति न्याम्सले किन्ने गरी सरकारले डाक्टर केसीसँग गरेको सम्झौता भने अझै कार्यान्वयन भइसकेको छैन । त्यसको प्रक्रिया सुरु भइसकेको त्यही चिठीमा उल्लेख थियो । यस निर्णयले मनमोहन अस्पतालको सम्पत्ति न्याम्सले किन्ने वातावरण सिर्जना गर्ने सरकारले विश्वास लिएको छ ।

पूर्वप्रधानमन्त्री तथा एमालेका नेता मनमोहन अधिकारीको नामबाट एमालेकै सांसद राजेन्द्र पाण्डेलगायतले मनमोहन अस्पताल खोलेका थिए । त्यसलाई मेडिकल कलेज बनाउनका लागि सम्बन्धन लिन उनीहरुले गरेको प्रयासलाई डाक्टर केसीकै आन्दोलनले रोकेको थियो । अस्पतालसँग मेडिकल कलेज खोल्ने मापदण्ड नपुग्ने भन्दै उनले विरोध गरेपछि त्रिविले मनमोहनलाई सम्बन्धन दिइहालेको थिएन । तर यसअघिको सरकारले मोनमोहन प्रतिष्ठान बनाउन भन्दै विधेयकसमेत संसदमा पु¥याएको थियो ।

यही विषयलगायत अन्य माग राख्दै गोविन्द केसी आठौँपटक अनसन बसे । उनलाई अनसन तोडाउन सरकारले मनमोहन प्रतिष्ठानको विधेयक फिर्ता लिने र अस्पतालको सम्पत्ति न्याम्सले किन्ने वाचा गरेको थियो । विधेयक फिर्ता लिने र मनमोहनको सम्पत्ति किन्ने प्रक्रिया सुरु भइसकेको स्वास्थ्यमन्त्री थापाले डाक्टर केसीलाई भनिसकेका छन् । डा.केसीले आफ्ना माग पूरा गर्न सोमबारसम्मको अल्टिमेटम दिएका छन् । चिकित्सा शिक्षा नीति विधेयक संसदबाट लागू गराउनुपर्ने, त्रिवि शिक्षण कलेजमा वरिष्ठताका आधारमा डीन नियुक्ति गर्नुपर्नेलगायत माग केसीको छ ।

प्रतिक्रिया