एमाले नेताबीच आपसी घोचपेच

14393339_1260083354036164_2074443877_oकाठमाडौं, ७ असोज । साहना प्रधानको दोस्रो स्मृतिसभामा एमालेका प्रमुख ४ नेताले एउटै मञ्चबाट प्रधानको गुनगान गाउँदै एकआपसमा घोचपेच गरे । प्रतिष्ठानले एमाले मुख्यालय धुम्बाराहीमा आयोजना गरेको दोस्रो स्मृतिसभा कार्यक्रममा शीर्ष नेताहरूबीच नै घोचपेच भएको होे ।

सभामा एमाले अध्यक्ष केपी शर्माले बामदेव गौतमलाई लक्षित गर्दै भने, ‘सहाना कमरेडको बारेमा मलाई त्यति थाहा छैन, धेरै कुरा बामदेव कमरेडलाई थाहा छ । सहानाजी ठीक भएकोले त होला नी वरिष्ठ उपाध्यक्ष भएको मान्छे एमालेमा आउनुभयो ।’ केपीले त्यसो भनिरहँदा सँगै बसेका माधव नेपाल, झलनाथ खनालसँगै बामदेव मुस्कुराइरहेका थिए ।

स्मृतिसभामा उपस्थित एमाले अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमबीच अलिक बढी नै घोचपेच भएका थियो । ओलीले मन्तव्यको क्रममा पार्टी विभाजनको कुरा कोट्याउँदै गौतमतिर फर्केर भने, ‘उहाँ पार्टी फुटाउँदा पनि अध्यक्ष बन्न सक्नुभएन, ‘उहाँलाई कति पीडा होला ?’ ओलीले बामदेवले कहाँकहाँ कमजोरी गरे खोज्ने नभई राम्रा कामको मात्र खोजी गर्ने बताए । ओलीको कुरा सुन्दै गौतम मुस्कुराए ।

कार्यक्रमको सुरु मै आफ्नो मन्तव्य राखेका उपाध्यक्ष गौतमले आफूलाई पटकपटक पार्टी फुटाएको मात्र आरोप लाग्ने गरेको भन्दै आक्रोश व्यक्त गरे । ‘पार्टी फुटाएको मात्र देख्ने ?’ गौतमले भने ‘पार्टी बनाएको र जोगाएको नदेख्ने ?’ गौतमले त्यसो भन्दा मञ्चमा सँगै बसेका अध्यक्ष ओली, वरिष्ठ नेता खनाल र अर्का नेता माधवकुमार नेपाल पनि मुस्कुराएका थिए ।

स्मृतिसभामा सहानाको बारेमा थोरै बामदेवको बारे धेरै सम्बोधन गरेका ओलीले पटकपटक बामदेवको नाम लिएर भने, ‘बामदेव कमरेडले पार्टी फूटाएको भन्दा पार्टी जोगाएको बारेमा धेरै चर्चा गर्ने गरेको छु । गल्ती भनेकै मखन्छेले गर्ने हो । कार्लमाक्र्स र लेनिनहरूले पनि त धेरै गल्ती गरे होलान नि !’ ओलीले भने, ‘तर, उहाँहरूको त्यो गलत पाटो हामी चर्चा गर्दैनौँ । उहाँहरूले गरेका राम्रा कामका बारेमा मात्र हामी चर्चा गर्छांै । ओलीले प्रतिष्ठानको संरक्षकमा चारै शीर्ष नेतालाइ राखेकोका खुसी व्यक्त गरे ।

कार्यक्रममा बोल्दै एमालेका वरिष्ठ नेता खनालले तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले नेपालका नदी–नाला साझा हुन भन्दा साहनाले विरोध गरेको प्रसंग कोट्याउँदै सहाना जस्तो निर्भिक नेता कमै हुने बताए । उनले कहिल्यै महिला भएर नसोचेको बताउँदै खनालले भने, ‘सधँै इमानदार र जिम्मेवार नेताको रूपमा प्रस्तुत हुनुभयो ।’

स्मृति प्रतिष्ठानका संरक्षकसमेत रहेका नेता माधव नेपालले पनि आफ्नो मन्तव्यका क्रममा साहनाको प्रशंसा गरेका थिए । सम्बोधनको क्रममा नेपालले भने, ‘साहनाले सबै निर्णायक भूमिका खेल्नुभयो, नेपालमा महिला आन्दोलनको स्थपना उहाँकै पहलमा भएको हो ।’ नेता नेपालले ०४६ को आन्दोलनमा सहानाले खेलेको भूमिका कोट्याउँदै भने, ‘तत्कालीन राजासँग बार्ता गर्न जानेमा उहाँ पनि हुनुहुन्थ्यो, हामी भोटेबाहालमा बसेर टिभी हेर्दै थियौँ, धेरै आशंका थियो, वार्ता कस्तो होला भन्ने । जब वार्ता सकियो उहाँले पत्रकारसँग कुरा गर्नुभयो अनि लाग्यो उहाँको ठाउँमा अरू कोही भएको भए त्यति उपलब्धी हुन्थ्यो, हुँदैनथ्यो ?’

नेपालले सहानाको व्यक्तित्वको चर्चा गर्दै अगाडि भने, ‘उहाँ कतै पनि नपग्लने र नबग्ने दृढ हुनुहुन्थ्यो, हरेक निर्णयलाइ सुझबुझको आधारमा लिने । राजासँग वार्ता गर्दा उहाँको प्रस्तुतिमा कुनै कमी थिएन तार्किकरूपमा आफ्ना धारणा राख्नुभयो । साच्चै साहनामा राजनेतामा हुने गुण थियो,’ नेता नेपालले भने ।

लामोसमय सहानाको निकट रहेर पार्टी नेतृत्व गरेका बामदेव गौतमले भावुक हुँदै आफ्नो मन्तव्यका क्रममा साहना प्रधानले गरेको योगदानको निकै चर्चा गरे । गौतमले सहानाको व्यक्तित्व बारे प्रष्ट पार्दै भने, ‘उहाँ मेरो लागी आमासमान हुनुहुन्थ्यो । पार्टी फुटेर माले भएपछि उहाँसँग अझ निकट भएर काम गर्ने मौका पाए, । ‘उहाँ मालेको अध्यक्षभन्दा पनि संरक्षक हुनुहुन्थ्यो’ पटकपटक मलाई अरूको कुरामा नलाग्न र सोच विचार गरेर अगाडी बढ्न प्रेरित गर्नुहुन्थ्यो ।’

प्रतिक्रिया