चीनका प्रधानमन्त्री र राष्ट्रसंघका महासचिवबीच छलफल

1-copyन्युयोर्क, ५ असोज । चीनका प्रधानमन्त्री ली केक्याङले संयुक्त राष्ट्रसंघका महासचिव वान की मुनसँग विकास र जलवायु परिवर्तनका बारेमा छलफल गरेका छन् । छलफलका क्रममा प्रधानमन्त्री लीले दुवै विषयमा काम गर्न चीनले राष्ट्रसंघलाई सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

‘चीन जहिले पनि राष्ट्रसंघका लागि सक्रिय सहयोगी राष्ट्र हो र राष्ट्रसंघको नियम तथा सिद्धान्तको स्थायी प्रतिरक्षक पनि हो,’ लीले भने । अन्तर्राष्ट्रिय मामिलादेखि विश्व शान्ति र विकासका लागि चीनले राष्ट्रसंघलाई भविष्यमा मुख्य पात्रको रूपमा सहयोग गर्ने उनले बताए ।

प्रधानमन्त्री लिले विश्व शान्ति र पछाडि पारिएका जनतालाई फाइदा हुने विकासका लागि राष्ट्रसंघले जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । लीसँगको भेटमा महासचिव मुनले अन्तर्राष्ट्रिय मामिलामा चीनको भूमिकाका बारेमा बोल्दै जलवायु परिवर्तन, दिगो विकास, दक्षिण दक्षिण सहकार्य र अन्तर्राष्ट्रिय शान्ति स्थापनमा महत्वपूर्ण सहयोगको अपेक्षा गरिएको बताए ।

उनले चीनसँग लोककल्याण, विश्व शान्ति र विकासका साझा मुद्दामा नजिक रहेर काम गर्न राष्ट्रसंघ तयार रहेको पनि स्पष्ट पारे । प्रधानमन्त्री ली राष्ट्रसंघको ७१औँ महासभामा सहभागी हुन आइतबार न्यूयोर्क आइपुगेका हुन् । सन् २०१३ मा प्रधानमन्त्री भएपछि ली पहिलोपटक राष्ट्रसंघ महासभामा सहभागी हुन लागेका हुन् ।

प्रतिक्रिया