डुंगा दुर्घटनाका २७ मृतकको शव भेटियो

बैंकक, ५ असोज । थाइल्यान्डको चाओ प्राया नदीको पुलमा ठोक्किएर आइतबार भएको डुंगा दुर्घटनामा मृत्यु भएकामध्ये मंगलबारसम्ममा २७ जनाको शव भेटिएको छ । दुर्घटनामा परी हराइरहेका अरू २ जना अझै नभेटिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

स्थानीय थाई अधिकारीले भेटिएका शवमध्ये ६ ओटा ८ वर्षका बालकको रहेको जनाएका छन् । शव घटनास्थलदेखि ५ किलोमिटर टाढा भेटिएका हुन् । अझैसम्म १ पुरुष र १ महिला बेपत्ता छन् । भेटिएका शवमध्ये २० वटा पुरुषको र ७ वटा महिलाको रहेको अस्पतालले जनाएको छ ।

डुंगामा सवार १ सय ५० जनामध्ये ५० जनाभन्दा बढी घाइते भएका छन् भने १ जनाको अवस्था गम्भीर रहेको छ । हराइरहेकाहरूको अहिले पनि खोजीकार्य जारी रहेको सुरक्षा अधिकारीले जनाएका छन् । दुर्घटनापछि तत्काल नदीमा डोरी फालिएको र त्यही डोरीको सहयोगमा केही घाइते नदी बाहिर आएका थिए । पानीमा डुबी बेहोस भएका केही मानिसलाई समेत स्थानीय र प्रहरीले उद्धार गरेका थिए ।

विपरित दिशाबाट आएको अर्को डुंगासँग ठोक्किनबाट जोगाउने प्रयास गर्दा डुंगा पुलको पिलरमा ठक्कर खाएपछि भएको सो दुर्घटनामा मृत्युहुने सबै थाई नागरिक रहेका बताइएको छ ।

प्रतिक्रिया