जग्गा धितो राखेर गाउँमा सडक

sadakबागलुङ, ५ असोज । ऋण काढेर जिल्लाको रायडाँडावासीले गाउँमा सडक पु¥याएका छन् । गाउँलेले ७५ लाख रुपैयाँ ऋण खोजेर भकुन्डे– राम्तोला कृषि सडकलाई पूर्णता दिएका हुन् । रायडाँडाका पूर्वगाविस अध्यक्ष दीपेन्द्रबहादुर थापाले जग्गा धितो राखेर २० लाख रुपैयाँ ऋण लिएको बताए । ९० लाख रुपैयाँ खर्च भएको सडकमा १४ लाख ७५ हजार रुपैयाँ जिल्ला विकास समितिले उपलब्ध गराएको उपभोक्ता समितिका अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए ।

उक्त सडकको बीचमा पर्ने मान्द्रेको पहरामा ‘मार्ग’ खोल्न ठूलो रकम खर्च भएको समितिले जनाएको छ । समितिले उक्त खण्डमा पर्ने ५ किलोमिटर सडक निर्माणको जिम्मा नेपाली सेनाको कालीगण्डकी करिडोर निर्माण कार्यदललाई दिएको थियो । मार्ग खोलिएसँगै बागलुङ सदरमुकाम–रायडाँडा–बरेङ हुँदै गुल्मीको शान्तिपुरलाई सडकले जोडेको छ ।

‘मार्ग खोल्न सहज होस् भनेर सेनालाई जिम्मा दिएका हौँ,’ अध्यक्ष केसीले भने । सेनाले बम विस्फोटलगायतका आधुनिक प्रविधिबाट कडा चट्टानलाई फोरेर सडक निर्माण गरेको हो । चर्को ब्याजमा ऋण खोजेर गाउँमा सडक पु¥याउनु रायडाँडावासीको बाध्यता भएको केसीको भनाइ छ ।

सडक निर्माणका क्रममा खर्च भएको ऋण रकम विकासे अड्डाको सहयोग लिएर र गाउँमा चन्दा उठाएर चुक्ता गर्ने योजना समितिले बनाएको छ । भिरको बाटो हुँदै सडक पुगेपछि पैदल हिँड्नुपर्ने २ घन्टाको बाटो छोटिएको छ । सडकको पहुँचले गाउँमा उत्पादित कृषि उपजले बजार पाएको छ ।

प्रतिक्रिया