युरोपमा सतर्क रहन आफ्ना नागरिकलाई अमेरिकाको आग्रह

वासिंगटन, १९ जेठ । अमेरिकी विदेश मन्त्रालयले अमेरिकी नागरिकका नाममा यात्रा अनुमतिसम्बन्धी सूचना जारी गरी युरोपमा सतर्क रहन आग्रह गरेको छ । अमेरिकी विदेशमन्त्रालयले यसवर्षको ग्रिष्मकालीन अवधिमा युरोपमा आतंककारी आक्रमणको खतरा रहेको भन्दै युरोपमा बसोबास गरिरहेका आफ्ना नागरिकलाई सतर्क रहन भनेको हो ।

हामीले हाम्रा नागरिकलाई युरोपका विभिन्न क्षेत्रमा सतर्क अवस्थामा रहन आग्रह गरेका छौँ सो यात्रा अनुमतिपत्रमा भनिएको छ । उक्त पत्रमा युरोपका विभिन्न क्षेत्रहरूजस्तै पर्यटकीय क्षेत्र, रेष्टुरेन्ट, आर्थिक केन्द्रहरू, सार्वजनिक यातायातका रुटहरूका साथै प्रमुख कार्यक्रमहरूमा पनि आतंकवादीहरूले आक्रमण गर्नसक्ने सम्भावना रहेको सूचना प्राप्त भएको बताइएको छ ।

ग्रिष्म मौसममा ठूलो संख्याका विदेशी पर्याटकले युरोप भ्रमण गर्ने गरेकाले यसै समयलाई आतंककारीले पनि तारो बनाउने आशंका अमेरिकाले गरेको छ । युरोपका कुनै पनि क्षेत्रहरूमा आयोजना गरिने ठूला कार्यक्रम एवं घटनामा सतर्कतासाथ सहभागी हुन पनि अमेरिकी विदेशमन्त्रालयको सो सूचनामार्फत निर्देश गरिएको छ ।

केही समययतादेखि आतंककारी संगठनले युरोपलाई आक्रमणको तारो बनाउने गरेका छन् । जसका कारण कयौँ नागरिकको ज्यान पनि गएको छ । २ वर्षयता फ्रान्सको राजधानी पेरिसमा २ पटकसम्म आक्रमण भएको छ भने बेल्जियममा पनि आइएसले गरेको आक्रमणबाट ठूलो त्रास फैलिएको छ । आतंककारीहरूले यसरी युरोपलाई तारो बनाउन थालेपछि अमेरिकाले आफ्ना नागरिकलाई युरोप यात्रा गर्ने क्रममा सतर्कता अपनाउन आग्रह गरेको हो ।

प्रतिक्रिया