बजेटको सूचना चुहाएको भन्दै कांग्रेसद्वारा संसद् अवरोध

Joj:yflksf ;+;bsf] ;f]daf/sf] j}7sdf p7]/ lj/f]w hgfpFb} k|d'v k|ltkIfL bn g]kfnL sfFu|];sf ;f+;bx? . tl:j/ /Tg >]i7

काठमाडौं, १७ जेठ । प्रतिपक्षीदल कांग्रेसको अवरोधका कारण संसद्को सोमबारको बैठक अवरुद्ध भयोे ।

संसद्को सोमबारको बैठकको सुरुमै प्रमुख प्रतिपक्षी कांग्रेसका सांसदले बजेट चुहिएको भन्दै आपत्ती जनाएपछि बैठक अवरुद्ध बनेको हो । एकै दिन पटकपटक गरी ४ पटकसम्म बैठक बसे पनि कांग्रेसको अवरोध जारी रहेपछि सोमबारको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन । संसदीय मूल्य मान्यता विपरीत सदनमा पेस गर्नु अगाडि नै सरकारले पेस गरेको वार्षिक बजेटको सूचना बाहिर चुहाएको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद् बैठक अवरोध गरेको हो ।

सदनमा आउनु अगाडि नै पत्रपत्रिकामा बजेटको सम्पूर्ण विवरण आउनुले संसद्को मर्यादामाथि प्रश्न चिन्ह खडा भएको भन्दै कांग्रेसले स्पष्ट छानबिनको माग गरेको छ । पूर्वअर्थमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सांसद रामशरण महतले अर्थमन्त्रीले सदनमा पेस गर्नुपहिले नै बजेट बाहिर ल्याएर सरकारले संसद्को विशेषाधिकारमाथि मानहानी गरेको भन्दै स्पष्ट छानबिनको माग गरे । बजेट सार्वजनिक बारे छानबिन र त्यसमा संलग्नलाई कारबाही नभएसम्म बैठकको कारवाही अघि नबढाउन प्रतिपक्षीले माग गरेपछि सभामुख ओनसरी घर्तीले पहिलो बैठक आधा घन्टाका लागि स्थगित गरेकी थिइन् । दोस्रोपटक बसेको बैठकमा कांग्रेसका सांसद रमेश लेखकले अघिल्ला वर्षमा पनि बजेट चुहिएको र त्यसपछि गठन गरिएको छानबिन समितिको प्रतिवेदनले निर्दिष्ट गरेका विषयको दृष्टान्त दिँदै छानबिनविना बैठक अघि बढ्न नसक्ने बताए ।

तेस्रोपटक बसेको बैठकमा पूर्वअर्थमन्त्रीसमेत रहेका कांग्रेसका सांसद महेश आचार्यले बजेट चुहिएको सत्यलाई स्वीकार्दै सरकारले छानबिन समिति गठन नगरेसम्म कारवाही अघि बढ्न नदिने बताए । एकै दिन चौथोपटक बसेको बैठकमा पनि कांग्रेसले आफ्नो अडान कायमै राख्यो । कांग्रेसकी सचेतक ईश्वरी न्यौपानेले माग पूरा नभएसम्म सदनको कारबाही अघि बढ्न नसक्ने बताइन् । एकै दिन चारपटकको प्रयासमा पनि बैठक सञ्चालन हुन नसकेपछि सभामुख ओनसरी घर्तीले मंगलबार बिहान ११ बजे सम्मका लागि बैठक स्थागित गरिन् ।

एमाले उपाध्यक्ष बामदेव गौतमले जनमुखी बजेट ल्याएकोले पूर्व अर्थमन्त्रीले पार्टीभित्रको दबाब सहन नसकेर सदनमा रडाको मच्चाएको आरोप लगाएका छन् ।

‘विभिन्न अनुमान, प्रि बजेटमाथिको छलफल आदिबाट यो कुरा लेखिएको हुनुपर्छ,’ गौतमले भने, ‘त्यही विषयलाई लिएर रडाको मच्चाउने काम गर्नुहुन्न ।’ एमालेले अहिलेसम्मकै जनमुखी र उत्कृष्ट बजेट ल्याएको दाबी गरे । ‘एमाले सरकारले अहिलेसम्मकै जनमुखी र उत्कृष्ट बजेट ल्याएको छ । पूर्वअर्थमन्त्रीले यस्ता विषय नसमेटिएकोमा पार्टीभित्र जवाफ दिनुपर्ने भएकाले सदनमा यस्तो रडाको मच्चाउनुभएको हो,’ गौतमले भने ।

सामना गर्ने सहमति

सत्ता साझेदार प्रमुख २ दल एमाले र माओवादी केन्द्रका अध्यक्षहरूबीच सरकारले ल्याएको नयाँ बजेटमा संसद्मा मिलेर विपक्षीको सामना गर्ने सहमति भएको छ ।

एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार प्रम निवास बालुवाटारमा भएको भेटवार्तामा नयाँ बजेटले जनतामा नयाँ उत्साह ल्याएको हुँदा बजेटको कार्यान्वयनमा कुराकानी भएको थियो । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालले दिएको जानकारीअनुसार शीर्ष नेताहरूबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा सघन रूपमा कुराकानी भएको थियो । ‘प्रतिपक्षीले सदनमा बजेटका विषयमा राख्ने विरोधलाई सत्ता साझेदार २ दल मिलेर संयुक्त रूपमा सामना गर्ने विषयमा उहाँहरूबीच कुराकानी भयो,’ उनले भने । बजेटमा समावेश विषय समग्रमा राम्रो भएको सत्ता साझेदार ती २ दलको आइतबार बसेको छुट्टाछुट्टै संसदीय दलको बैठकले निष्कर्षसमेत निकालेको थियो ।

प्रतिक्रिया