मध्यमाञ्चल क्षेत्रीय छनोटका लागि खेलाडी बिदाइ

काठमाडौं । राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत आइतबारबाट वीरगञ्जमा सुरु हुने मध्यमाञ्चल क्षेत्रीय छनोट प्रतियोगितामा सहभागी हुन जाने काठमाडौं जिल्लाका खेलाडीको बिदाइ गरिएको छ ।

शनिबार काठमाडौं जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित कार्यक्रममा स्थानीय विकास अधिकृत (एलडीओ) गोपालप्रसाद अधिकारीले खेलाडी तथा पदाधिकारीको बिदाइ गरेका हुन् । एलडिओ अधिकारीले काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुवराज न्यौपानेलाई नेपाल र जिल्ला खेलकुद विकास समितिको झन्डा हस्तान्तरण गरी टोलीको बिदाइ गरेका थिए ।

त्यस अवसरमा एलडीओ अधिकारीले खेलाडीलाई सफलताका लागि शुभकामनासमेत दिएका थिए । दुईदिने छनोट प्रतियोगितामा काठमाडौं जिल्लाबाट विभिन्न ८ खेलमा गरी ८० खेलाडीले सहभागिता जनाउँदै छन् । काठमाडौं जिल्लाले क्षेत्रीय छनोट प्रतियोगिताअन्तर्गत कबड्डी, एथलेटिक्स, भलिबल, तेक्वान्दो, उशु, कराते, फुटबल र क्रिकेटमा सहभागिता जनाउने छ । (सौस)

प्रतिक्रिया